पोखरा। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अर्थतन्त्र चलायमान बनाउने बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याएको उल्लेख गरे।
सरकारले अर्थतन्त्र चलायमान बनाउले लक्ष्यसाथ उद्योग–व्यवसाय बढाउने प्रस्ताव गरेको अर्थमन्त्री महतले बताए। उद्योग–व्यवसाय खोल्न निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पुँजी १ सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योग सुरुवात गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो।
त्यस्तै सूचना प्रविधि प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पुँजीको कुनै सिमाना नरहेको उनले उल्लेख गरे।
पुँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै अर्थमन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे।
खर्च प्रक्रिया सहज बनाउने र अनुशासन कायम गर्नेतर्फ सरकार लागेको जिकिर गर्दै उनले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषय अन्त्य गर्न मुख्यसचिवसहित मन्त्रालयका सचिव बोलाएर निर्देशन दिएको जानकारी दिए।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको पनि उनले बताए। नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले कांग्रेस जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ लागेको बताए।
आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई बनाउने र वितरण वाहक एवं जिम्मेवारी राज्यले लिनेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उनले उत्पादन वृद्धि गराउँदै उक्त वृद्धिको हिस्सा पछि परेका वर्ग र समूहमा सम्प्रेषित गर्ने नीति लिइएको बताए।
‘आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट प्रस्ताव भएको हो,’ अर्थमन्त्री महतले स्पष्ट पारे, ‘सरकारले कृषिमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएको छ।’