काभ्रे। पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलन गर्ने भएको छ। कोरोना संक्रमणलगायत कारण सम्मेलन लगातार चार वर्ष हुन सकेको थिएन। नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ।
सम्मेलन अयोजना घोषणा गरेको नगरपालिकाले कोरोनाको तस्रो लहरसम्म गर्न सकेको थिएन। ‘चालू आर्थिक वर्ष पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौं,’ नगरप्रमुख महेश खरेलले भने।
२०७६/७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलन योजना योजनामै सीमित भएको थियो।
कोरोनाको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेकाले गत वर्ष पनि लगानी सम्मेलन गर्न नसकिएको खरेलले बताए।
उनका अनुसार सम्मेलनमा लगानीकर्ताबाट १५ अर्बको लक्ष्य लिइएको थियो। ‘यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौं। यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौं,’ नगरप्रमुख खरेलले भने।
यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट २०७६ असोजमा रुपन्देही तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो।
पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आर्थिक वर्ष लगानीकर्ता तथा रोजगारदाता सम्मेलन गर्न अघिल्ला दुवै वर्ष प्रारम्भिक बजेट छुट्ट्याइएको खरेलले जानकारी दिए।
‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौं,’ उनले भन, ‘सम्मेलनमा विशेषगरी कृषि र पशुपालनमा लगानीकर्ता आकर्षित बनाउने योजनामा छ।’
पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको तथा पु¥याउने काम अन्तिम चरणमा रहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षित हुनु स्वाभाविक रहेको उनको भनाइ छ।
कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापना गर्न सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ।
सम्मेलनमा पाँचखालका विभिन्न ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिने छ।
पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण अन्तिम चरणमा पुगेको, मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन भई हाल संसदबाट विधेयकसमेत पारित भइसकेको, बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको, राष्ट्रिय युवा परिषदद्वारा निर्माण हुने ‘नेसनल युथ इनोभेसन सेन्टर’, महिला उद्योग ग्रामको प्रक्रिया थालिएको, एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्ट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलनको योजना बनाएको हो।