काठमाडौं । अरू मन्त्रालयका तुलनामा ठूलो बजेट र विकास निर्माण हुने मन्त्रालयमा गनिन्छ, भौतिक पूर्वाधार मन्त्रालय । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पूर्वाधारमन्त्रीबाट रघुबीर महासेठलाई हटाएर बसन्तकुमार नेम्बाङलाई मन्त्रीको जिम्मेवारी सुम्पेको छ । प्रधानमन्त्री ओलीका विश्वासिला र निकटका पात्र महासेठ थिए ।
समग्रमा हेर्दा, उनको कार्यकाल त्यत्ति सरल रहेन । ठूला सडक निर्माण परियोजना निर्माणमा ठेकेदारसँग मिलेमतो गरी कमिसन लिने आरोप उनीमाथि रहँदै आएको थियो । झन्डै २० महिने कार्यकालमा सडक, पुल, सुरुङमार्ग, जलमार्ग तथा रेलमार्ग निर्माण खासै गति लिन सकेन् । काठमाडौंको महत्वपूर्ण सडक चाबहिल—जोरपाटी, कलंकी—नागढुंगा सडक निर्माण र विस्तार नहुँदा मन्त्रीनै आलोचित हुनुपर्यो । अहिले पनि चाबहिल—जोरपाटी सडकको बिजोक उस्तै छ भने कलंकी—नागढुंगा सडक विस्तार सम्पन्न नहुँदै उनी मन्त्रीबाटै हट्नु पर्यो ।
हुलाकी, मध्यपहाडी, पूर्व—पश्चिम राजमार्ग विस्तार लगायतका गौरवका परियोजनाले त्यत्ति गति लिन सकेन् । आफु निकट र मिल्दो व्यक्तिलाइ विभिन्न परियाेजना र ठेक्का दिने र मन नमिल्ने कर्मचारी सरूवा गरिहाल्ने उनकाे प्रवृत्ति घातक सावित भयाे । मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागको नेतृत्वमा महासेठकै हालीमुहाली थियो ।
उनको कार्यकालमै विभागमा दर्जनभन्दा बढि नेतृत्व परिवर्तन भए । सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेल्ने तत्कालीन विभागका महानिर्देशक रुपनारायण भट्टराइलाइ आफ्नो निर्णय नमानेको भन्दै कारबाही नै गरे । कामचोर ठेकेदारलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको उनको सर्वत्र आलोचन भयो ।
उनी मन्त्री भएपछि घोषणा गरिएअनुसार, काठमाडौं उपत्यकाभित्रका सडक विस्तार तथा खाल्डाखुल्डी अहिलेसम्म पनि पुरिन सकेका छैनन् । त्यस्तै, उनी आफैले ३०० विद्युत्तीय बस सञ्चालन गर्न साझालाइ रकम निकासा समेत गरे । तर, ६ महिनापछि प्रगति राम्रो नगरेको भन्दै खरिद प्रक्रिया रोक्ने पत्र पठाए । फलस्वरुप, साझा यातायात सहकारी लिमिटेडले बिजुली बस खरिद गर्ने प्रक्रिया अघि बढाउन नसक्ने बताइरहेको छ । अहिले बिजुली बस खरिद गर्ने प्रक्रिया अन्याेलमा छ ।
मन्त्रीमण्डल पुनर्गठन गर्ने हल्लासँगै मन्त्री महासेठले हट्ने मन्त्रीको पहिलो सुचीमा थिए । ‘एकवर्षभित्र तपाइले नयाँ काठमाडौं पाउनुहुनेछ । कलङ्की नागढुंगा सडक सम्पन्न गर्ने चरणमा छौं । चाबहिल—जोरपाटी सडक निर्माण सुरु गरिसक्यौं’ यसअघि क्यापिटल नेपालकाे कुराकानीमा मन्त्री महासेठले बताएका थिए ।
महासेठका अधुरा काम सम्पन्न गर्ने जिम्मेवारी नवनियुक्त पूर्वाधार मन्त्री बसन्तकुमार नेम्बाङका काँधमा अाएकाे छ । जयनगर–कुर्था रेल सञ्चालन, ३०० विद्युतीय बस सञ्चाल, जलमार्ग, सडक निर्माण तथा विस्तार, पुल, सुरूङमार्ग लगायतका अघि बढेका र अलपत्र सडक आयाेजना सम्पन्न गराउन सकेमा मन्त्री नेम्बाङकाे आगामी नेतृत्व सफल हुनेछ ।