काठमाडौं। बुढापाकाको भनाइ छ– मौकामा हिरा फोर्नू! यो उक्ति सबै व्यक्ति, समाज, तह, तप्का र उस्तै परे सरकारसम्मलाई बराबरी मिल्छ। असार १२ गते बिहान एक्कासि उत्तरी छिमेकी चीनका अर्बपति व्यापारी ज्याक मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए।
ज्याक नेपाल आएको खबर आगोसरी फैलियो। सारा अनलाइन मिडिया, टेलिभिजन, रेडियो, पत्रपत्रिकाभरि बग्रेल्ती छापिए, पढिए, भनिए। अधिकांशका मुखमा ‘ज्याक मा नेपाल आएछन् नि!’ झुन्डिएको थियो।
काठमाडौं उत्रिएलगत्तै चीनका चौथो सर्वाधिक धनी तथा विश्वका ३९औं धनाढ्य ज्याक मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न चाहन्थे। किनकि, ज्याक नेपालमा लगानी गर्ने ‘उद्देश्य’ साथ छोटो समयका लागि आएका थिए।
सन् २०२३ को फोर्ब्स सूचीअनुसार ३४ अर्ब ५० करोड अमेरिकी डलर (४५ खर्ब १९ अर्ब ५० करोड रुपैयाँबराबर) सम्पत्ति भएका ज्याकले प्रधानमन्त्री दाहाललाई भेट्न समय मागे तर दाहालले उनलाई एक मिनेट पनि समय ‘दिएनन्’।
संसारका ठूलामध्ये पर्ने अनलाइन सपिङ प्लेटफर्म ‘अलिबाबा’ का संस्थापक ज्याकलाई भेट्ने समय नदिएर प्रधानमन्त्री दाहाल याने वर्तमान सरकारले ‘सुवर्ण मौका’ गुमाएको छ।
हाम्रा वर्तमान हुन् कि विगतका, सबै सरकार कुर्लिन्छन् र कुर्लिएका थिए– वैदेशिक लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिन्छ, संरक्षण गरिन्छ, त्यही भएर ढुक्कसाथ लगानी गर्नुस्!
ज्याक यता आएका बेला उनको गृहदेश चीन पुगेका हाम्रा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक औपचारिक कार्यक्रममा ‘नेपालको लगानी प्रणालीमा उल्लेख्य सुधार गरिएको र विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गर्ने नीति नेपाल सरकारले लिएको’ गुड्डी हाँकिदिए।
तर, त्यही चीनकै चौथो सर्वाधिक धनाढ्य तथा खर्बौंको व्यापार गरिरहेका ज्याक नेपाल आएर लगानी गर्न खोज्दा यहाँ सरकारका कुनै निकायले नदेखे झैं गरिदिए।
यदि प्रधानमन्त्री दाहालसँग अर्बपति ज्याकलाई भेट्ने समय थिएन भने, अर्थमन्त्री डा. प्रकाशशरण महतले मात्रै भेटेर ‘नेपालमा लगानी गर्नुस्, बाँकी जिम्मा हाम्रो भयो’ भन्नुपर्थ्यो। तर, यसमा प्रधानमन्त्री र अर्थमन्त्री दुवै चुके।
सायद, प्रधानमन्त्री दाहाललाई लाग्यो होला– चीनका अर्बपतिलाई नेपालमा लगानी गर्न भन्यो भने दक्षिणी छिमेकी भारत रिसाउँछ कि!
दाहाललाई त्यस्तो लाग्न पनि सक्छ। किनभने, हालै भारतले नेपालमा चिनियाँ लगानी र चिनियाँ निर्माण कम्पनीले बनाएका कुनै पनि जलविद्युत आयोजनाबाट उत्पादित बिजुली नकिन्ने घोषणा जो गरेको थियो।
तीलगायत भारतसँगको ‘डर’ का कारण प्रधानमन्त्री दाहालले चिनियाँ अर्बपति ज्याकलाई भेट्न समय नदिएका पनि हुनसक्छन्। यो आममान्छेको बुझाइ हो।
चिनियाँ अर्बपति ज्याकलाई उनकै देशको सरकारले पछिल्लोपटक ‘सन्धिग्द’ नजरले हेर्दै आएको छ। उनले वर्तमान राष्ट्रपति सि चिनफिङको सरकारको आलोचना गरेपछि सरकारको तारो बनिरहेका छन्। राष्ट्रपति चिनफिङ नै ज्याकसँग रुष्ट भएको खबर विश्वसञ्चारमाध्यममा आएका थिए।
हाम्रा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री महत वा अन्य सरकारका उच्च अधिकारी वा निकायलाई पनि चिनियाँ राष्ट्रपति र सरकारले दपेटेका व्यवसायी ज्याकलाई यता लगानी गर्न भन्यो भने समस्या जटिल हुनसक्छ भन्ने पनि लागेको हुनसक्छ।
प्रधानमन्त्री दाहाल वा अर्थमन्त्री महतले नभ्याएको भए कुनै मन्त्रालय (अर्थ, उद्योग, पर्यटनलगायत) का सचिवले मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर ज्याकलाई स्वागत गरेको भए कुरा अर्कै हुन्थ्यो। यो मामलामा सबै चुके भन्दा अतिशयोक्ति पक्कै नहोला।
खासमा ज्याकले भारतमा लगानी गर्न खोजे पनि दुई देशबीचको ‘तिक्त’ सम्बन्धका कारण नेपालमा लगानी गरी अलिबाबाको दक्षिण एसियाको बजार काठमाडौंबाट हेर्ने योजना बनाएर आएका थिए।
यो जत्तिको सुवर्ण मौका सरकारले गुमाउनै हुन्थेन। ज्याकले सञ्चालन गरिरहेको अलिबाबामा हाल २ लाख ५५ हजारजनाले ‘फुलटाइम’ रोजगारी पाइरहेका छन्। यदि ज्याकले नेपालमा लगानी गरे भने केही नभए पनि दुई/चार हजार नेपालीले पक्कै रोजगारी पाउनेछन्।
ज्याक बंगलादेश हुँदै चार्टर जहाज लिएर नेपाल आएका थिए। यहाँ दुई रात तीन दिन काठमाडौं बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसेका थिए। उनी सातजनाको टोली लिएर आएका थिए। उनीहरू द्वारिकाजको प्रतिरात ३ हजार अमेरिकी डलर पर्ने रोयल स्वीटका कोठामा बसेका थिए।
काठमाडौंबाट पाकिस्तानतर्फ लागेका ज्याकको लगानी बंगलादेश र पाकिस्तानमा पनि छ। ज्याकले जर्मनीमा मुख्यालय भएको तर पाकिस्तानी व्यवसायीले सञ्चालन गरेको अनलाइन सपिङ प्लेटफर्म ‘दराज’ केही वर्षअघि खरिद गरेका थिए।
सोही दराजको शाखा केही वर्षदेखि नेपालमा पनि सञ्चालनमा छ। दराजले काठमाडौंमा मुख्य कार्यालय राखेर अनलाइनमार्फत विभिन्न सामान बेच्दै आएको छ। हो त्यही दराजमा उनै चिनियाँ अर्बपति ज्याकको राम्रै लगानी छ।
चिनियाँ अर्बपति ज्याक नेपालमा लगानी गर्न उपयुक्त साझेदार खोज्न आएका थिए। अझै भन्नुपर्दा नेपालमा लगानी गर्दा के कस्ता प्रक्रिया र विधि छन्, लगानी गरेपछि सुरक्षा हुन्छ कि हुँदैन, नेपालमा कमाएको नाफा (लाभांश) लान कत्तिको झन्झट छ लगायत प्रश्न बोेकर ज्याक आएका थिए।
ती प्रश्नका जवाफ हाम्रा कुनै पनि सरकारी अधिकारी, मन्त्री, प्रधानमन्त्री वा निकायबाट ज्याकले पाउन सकेनन्।
तर, एउटा झिनो आशा के देखिन पुग्यो भने व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले ज्याकसँग भेटेर राम्रै भलाकुसारी गरे।
निर्वाणसँगको अनौपचारिक भेटमा ज्याकले नेपालमा विदेशी लगानी गर्दा के कस्ता विधि र प्रक्रिया छन्, अनि कति निकायमा धाउनुपर्छ भन्ने राम्रो जानकारी पाएको हुनुपर्छ।
निर्वाण सफल व्यवसायी भएका कारण ज्याकलाई मनाउन सके होलान् भन्ने अनुमान निजी क्षेत्रले गरेको छ।
ज्याकले सिजीसँगको साझेदारीमा नेपालमा लगानी विस्तार गर्ने विषयमा छलफल अगाडि बढाएको सम्बद्ध स्रोतको दाबी छ। ज्याक निर्वाणका मित्रसमेत भएकाले यो अनौपचारिक भेट लगानीसहित औपचारिक भेटमा परिण हुने आशा गर्न सकिन्छ।
एकपटक दक्षिणी छिमेकी भारततिर जाऔं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि अमेरिका भ्रमण गरेका थिए। त्यहाँ पुगेर मोदीले संसारका अर्का सर्वाधिक धनाढ्य इलन मस्कलाई भेटेर भारतमा लगानी गर्न आग्रह गरेका थिए।
भारतलमा लगानी गरे जस्तोसुकै सुविधा दिन भारत सरकार तयार रहेको मोदीले आश्वासन दिएका थिए।
आफ्नो देशमा हजारौं, लाखौं रोजगारी सिर्जना हुने, कर पनि पाइने, बजार र अर्थतन्त्र बढ्ने भएपछि विदेशी लगानी भित्र्याउन भारतीय प्रधानमन्त्री मोदीको ‘ट्याक्टिस’ बाट उनका समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि ज्याक मा आउँदासम्म केही ज्ञान लिएको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो। तर, सबै खेर गयो।