नमस्कार!
म सदिच्छा श्रेष्ठ, यहाँहरू सम्पूर्णलाई कार्यक्रममा स्वागत छ!
सानादेखि ठूला कार्यक्रममा गुञ्जिने आवाज हो यो।
पूर्वमिस नेपाल सदिच्छा श्रेष्ठलाई बोल्नु र विधि पुर्याएर बोल्नु फरक कुरा हुन् भन्ने लाग्छ। सदिच्छा सानैदेखि निर्धक्कसँग बोल्न सक्ने प्रखर वक्ता हुन्। ‘म बोल्न सक्नुलाई एउटा अद्भूत कला मान्छु,’ उनी भन्छिन्, ‘मलाई बोल्न यति धेरै मनपर्ने कि जन्मदिनको उपहारस्वरूप पनि माइक पाएकी थिएँ।’
काठमाडौं नयाँबानेश्वर जन्मिएकी सदिच्छाको स्कुल यात्रा भने मीनभवनमा रहेको एन के सिंह मेमोरियल प्रिपेटरी सेकेन्डरी स्कुलबाट भएको होे। उनले त्यहाँ नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गरिन्।
स्कुल सुरु गरेपछि उनलाई बोल्ने अवसर त झन कति आए कति। स्कुलमा विभिन्न दिवस पारेर कार्यक्रम सञ्चालन भइरहेका हुन्थे। उनलाई सबैभन्दा बढी मनपर्ने कार्यक्रम भनेको वादविवाद प्रतियोगिता हो।
‘१० वर्षको उमेरदेखि नै म डिबेट गर्दै आएकी हुँ,’ उनी भन्छिन्, ‘स्कुलमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने अवसर प्राप्त भयो। मलाई लाग्छ, स्कुल–कलेज आफ्नो क्षमता विकास गर्नका लागि निकै राम्रो प्लेटफर्म हो।’
सानैबाट आफूमा रहेको क्षमता पहिचान गरेर त्यसमा निखारता ल्याउँदै जानु भविष्यमा आफ्ना लागि ‘प्लसप्वाइन्ट’ हुने उनको तर्क छ। ‘आमाबुबाले रगतपसिना एक गरेर कमाएको पैसा तपाईंमाथि खर्चिनुहुन्छ, त्यो कुरालाई ध्यानमा राखेर तपाईंले आफ्नो कलाअनुसारको क्षेत्रमा आफूलाई ढाल्न सक्नुभयो भने त्योभन्दा गर्वको विषय उहाँहरूका लागि केही हुन सक्दैन,’ उनी भन्छिन्।
बोल्न सिपालु सदिच्छालाई कहिल्यै रुचि नलाग्ने क्षेत्र भनेको खेलकुद हो। उनलाई उफ्रिन–कुद्न भनेपछि एकदमै दिक्क लाग्ने। खेलमा भाग लिन नपरोस् भनेर उनी त्यहाँ पनि साथीहरूको नाम लिएर को पहिला भाग लिने भनेर उद्घोष गरिहाल्थिन्। उनी कक्षा १० मा पढ्दा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) मा एकदमै धेरै चिनियाँ कार्यक्रमहरू हुन्थे। ती सरकारी तवरबाटै हुने धेरै ठूलो आयोजना थिए।
कार्यक्रम चार–पाँच दिनसम्म पनि चल्थ्यो, त्यस्ता कार्यक्रममा पनि सदिच्छा नै उद्घोषका लागि अघि सर्थिन्। स्कुलमै हुने साना कार्यक्रम सञ्चालन गरे पनि ४–५ दिसम्म चलेको चिनियाँ कार्यक्रम भने उनका लागि ठूलो र भव्य थियो। किनभने, त्यहाँ हजारौं दर्शक उपस्थित थिए। उनले त्यही कार्यक्रममा ‘मास्टर अफ सेरेमोनी’(‘एमसी) गरेवापत १० हजार रुपैयाँ पारिश्रमिक पनि पाएकी थिइन्।
बोल्नमा त सिपालु नै उनी रूपमा पनि निकै राम्री। कक्षा ८ मा पढ्दा एउटा विज्ञापनमा काम गर्ने अवसर पाएकी थिइन् उनले। ‘एउटा एड एजेन्सी विज्ञापनको सुटिङका लागि मान्छे खोज्दै स्कुलमा आएको थियो,’ उनी सम्झिन्छिन्, ‘त्यतिबेला म सेलेक्ट भएँ। मायोज चाउचाउको विज्ञापन गर्नुपर्ने रहेछ। सुटिङका लागि भारत गएको थिएँ बाबासँग। त्यस समय पनि मैले १०–१५ हजार कमाएकी थिएँ।’
आफूलाई उद्घोषण कलामा निखार्दै लगेकी सदिच्छा पढाइमा पनि अब्बल थिइन्। कक्षा १० सम्मको पढाइ यात्रामा उनी कहिल्यै दोस्रो भइनन्, सधैं प्रथम भइन्। पढाइमा अब्बल भएकाले बुबाआमाको इच्छा छोरी डाक्टर बनोस् भन्ने थियो।
बुबाआमाको इच्छाअनुसार उनी सेन्ट जेभियर्स कलेजमा आइएससीमा भर्ना भइन्। आइएससी पढ्दा उनलाई डाक्टर बन्न नसकिने रहेछ, पढ्न त धेरै गाह्रो हुने रहेछ भन्ने नलागेको पनि होइन। ‘सिनियरहरूले मोटो–मोटो किताब बोकेर आएको देख्दा त मैले पढ्न सक्दिनँ जस्तै लाग्यो,’ उनी भन्छिन्, ‘डाक्टर बन्न सकिनँ भने के बन्ने? मसँग अर्को कला के छ भनेर पनि सोच्ने गर्थें।’
आइएससी परीक्षाको तयारी गरिरहेकै बेला सदिच्छाले मिस नेपालको आवेदन खुलेको थाहा पाइन्। पत्रिकाको ठूलो पेजमा विज्ञापन छापिएको थियो– ‘तपाईं मिस नेपाल बन्न चाहनुहुन्छ?’ परीक्षाको तयारीमा जुटेकी उनी विज्ञापन देखेपछि मिस नेपालमा भाग लिउँ कि भनेर आमाबुबालाई सोध्न गइन्। ‘म यसमा भाग लिउँ भनेर आमाबुबालाई सोधेँ,’ उनले भनिन्, ‘आमाबुबाले पहिला परीक्षा सक्काउ, भाग लिए पनि पछि लिनू भन्ने जवाफ दिनुभयो।’
त्यसको दुई सातापछि फेरि पत्रिकामा विज्ञापन आयो– ‘यसपालिको मिस नेपालले गाडी उपहार पाउने।’ श्रेष्ठले फेरि घरमा सोधिन्, तपाईंहरूलाई गाडी उपहार चाहिन्छ कि चाहिँदैन?’ छोरीको रहर देखेपछि आमाबुबाले पनि छोरीलाई एक अवसर त दिनुपर्छ भनेर सहमति जनाए। ‘मेरो परीक्षाको अन्तिम दिन नै घरमा मिस नेपालको फर्म आइसकेको थियो। मैले मात्र सिग्नेचर गरेँ,’ उनले सुनाइन्।
त्यसपछि मिस नेपालमा भाग लिनका लागि उनले सिक्नुपर्ने सबै कुरा सिकिन्। सदिच्छाले सन् २०१० सेप्टेम्बर १ मा मिस नेपालको ताज पहिरिइन्। त्यतिबेला उनी १९ वर्षकीमात्र थिइन्।
यो ताजले सदिच्छालाई निकै व्यस्त बनायो। आयोजक ‘हिडन ट्रेजर’ को नियममा बाँधिइन् उनी। प्रायोजकहरूका कार्यक्रममा जानैपर्ने दबाब पर्याे। साथीहरूले पनि तेरो पढाइमा एक वर्ष ग्याप हुने भयो भनेर भन्न थाले। त्यसैबीचमा पनि सेप्टेम्बरमा मिस नेपाल बनेकी उनी अक्टोबरमै मिस वल्र्डमा सहभागी हुन चीन पुगिन्।
ग्ल्यामर दुनियाँमा पाएको सफलताले सदिच्छाको पढाइप्रतिको लगाव भने अलिकति पनि कम भएन। त्यसपछि उनले अझ पढाइलाई निरन्तरता दिने र सफल हुँदै जाने चुनौती नै लिइन्। परिवारमा पनि आमाबुबादेखि हजुरआमासम्म सबै पढाइमै जोड दिन्थे।
मिस नेपालको ताजसहित सदिच्छा सेन्ट जेभियर्स कलेज भर्ना भइन्। उनले बिजनेस स्टडिजमा स्नातक पढाइ सुरु गर्दा मिस नेपालको ताज पहिरिएको तीन महिनामात्र भएको थियो।
पढाइलाई निरन्तरता दिन नसके पछाडि परिन्छ भन्ने लागिरहने उनले जति व्यस्त भए पनि पढाइलाई पहिलो प्राथमिकतामा राखिन्। अरू कुराले पढाइप्रति ध्यान हट्ला भन्ने कुरामा उनी सधैं सतर्क हुन्थिन्।
सेन्ट जेभियर्समा मिहिनेत गरेर स्नातक सकिन्, त्यत्तिकै मिहिनेत एआइटी थाइल्यान्डमा पनि देखाइन्। उनले एआइटीको ‘स्कुल अफ म्यानेजमेन्ट’ नै टप गरिन्। र, ‘विलियम हिल प्राइज’ समेत जितिन्।
००००००
अहिलेको समयमा भने सदिच्छा एमसी पेसामा आबद्ध छिन्। उनलाई यो पेसा छाडेर अरू अँगाल्न प¥यो भने पनि विकल्प (अप्सनल) मा अँगाल्न मन छ। मिस नेपाल हुनुभन्दा पहिला पनि उनलाई चलचित्र क्षेत्रबाट कामका लागि अफर आएका थिए। मिस नेपाल भइसकेपछि उनका अगाडि कयौं अवसरका चाङ लागे।
‘म नेवार परिवारमा जन्मेहुर्केको मान्छे, परिवारको संकुचित सोचाइ पनि भन्दिनँ म,’ उनी भन्छिन्, ‘आमाबुबाको सोच पनि छोरीलाई फिल्म खेल्न नै त कसरी पठाउने÷नपठाउने भन्ने भयो। मलाई पनि खासै फिल्ममा काम गर्ने मन भएन।’
उनलाई चलचित्र क्षेत्रमा काम गर्ने अफर मिस नेपाल हुनुभन्दा पहिलेदेखि नै आएको थियो। त्यतिबेला अवसर पाउँदा यो क्षेत्र मेरै लागि बनेको हो भन्ने महसुस उनले गरिनन्। ‘अवसर आइहाल्यो भन्दैमा तपाईं त्यसका लागि बन्नुभएको हो कि होइन भन्ने थाहा हुनुपर्छ। मैले हरेक समय सोच्दा यो अभिनय मेरो लागि होइन भनेर सोच्थेँ। कहिलेकाहीँ विज्ञापनमा काम गर्दा त दाँतबाट पसिना आएको जस्तो महसुस हुन्थ्यो। महिनौं लगाएर फिल्ममा काम झन् म गर्नै सक्दिन भन्ने लाग्यो,’ उनी भन्छिन्।
एमसीबाहेक सदिच्छा अहिले आइडिया स्टुडियो नेपालसँग ‘चिफ अफ स्ट्राटेजी एन्ड कम्युनिकेसन’ भनेर जोडिएकी छिन्। आइडिया स्टुडियो भनेको देशैभरिका मानिसको आइडिया संकलन गरेर ‘सोचदेखि उद्योगसम्म’ भन्ने नारासाथ अगाडि बढेको संस्था हो।
‘कसैको व्यापार गर्ने सोच छ भने त्यो सोचलाई उद्यमसम्म कसरी पुर्याउने भनेर यस संस्थाले काम गरिरहेको छ। यसमा म भर्खरै जोडिएकी छु,’ उनी भन्छिन्, ‘योभन्दा पहिले एउटा राष्ट्रिय टेलिभिजन शोमा पनि आबद्ध थिएँ, अबदेखि यता छु।’
सदिच्छाले अँगालेको एमसी पेसा सजिलो भने होइन। यस क्षेत्रमा टिकिरहनका लागि अभ्यास र अध्ययन दुवै हुनुपर्ने उनको अनुभव छ। ‘तपाईंलाई आफूले गर्ने कामको एकदमै जानकारी हुन जरुरी छ,’ उनी भन्छिन्, ‘आफ्नो कलालाई एकदमै सम्मान गर्दै लैजाने र निखारता ल्याउने हो भने अभ्यास र अध्ययन गर्नैपर्छ। मैले कस्तो कार्यक्रम चलाउन गइरहेको छु, त्यसमा को अतिथि छन्, कुन ओहोदाको मान्छे छन् भन्ने कुरामा सामान्य जानकारी हुनुर्याे अनि दर्शक–स्रोतालाई उद्घोषक केन्द्रित कसरी गर्ने भन्ने त उद्घोषककै कला हो।’
उनलाई पहिलोपटक सबैभन्दा ठूलो कार्यक्रममा एमसी गरेको सम्झना ताजै छ। स्कुलमा आयोजना भएको चिनियाँ महोत्सवमा हजारौं मानिसका अगाडि उभिएर बोल्नु उनका लागि चुनौती पनि थियो। ‘त्यो बेला मेरो लागि ठूलो चुनौती पनि भयो, तर पनि मैले त्यसलाई राम्रोसँग सम्पन्न गर्न सकेँ,’ उनी भन्छिन्, ‘त्यहाँ चिनियाँ भाषामै कुरा हुन्थ्यो। मैले अंग्रेजी र नेपालीमा अनुवाद गरेर भन्थेँ। स्क्रिप्ट त हुन्थ्यो नै। साथीले चिनियाँमा भनेपछि त्यही लाइन मैले अनुवाद गरेर भनेको अझै याद छ।’
त्यसपछि त उनलाई अध्ययन र अभ्यासले पोख्त नै बनायो। मिस नेपाल भइसकेपछि उनले गरेको सबैभन्दा ठूलो कार्यक्रम होस्ट भनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कार्यक्रम हो।
‘सार्क सिसिआई भन्ने एउटा संस्था छ, त्यसमा बिजनेस कम्युनिटीको कन्फ्रेन्सजस्तै हुन्छ। यो चाहिँ हरेक दुई–दुई वर्षमा सार्क देशले होस्ट गर्छ, त्यो बेला मैले अवसर पाएकी थिएँ,’ उनी भन्छिन्।
देश–विदेशमासमेत एमसी गरेकी सदिच्छाको त्यस्तो धेरै फरक अनुभव भने छैन। ‘अहिलेको अवस्थामा इभेन्ट म्यानेजमेन्ट कम्पनी धेरै नै प्रोफेसनल भइसकेका छन्,’ उनी थप्छिन्, ‘त्यो हिसाबले सिमिलर नै छ भन्छु म। तर, मेरो लागि सजिलो भनेको देशमा नै हो।’
विदेशकै अनुभव भन्नुपर्दा उनले त्यस्तो धेरै कार्यक्रम भने चलाएकी छैनन्। ‘४–५ पटक होस्ट भएर गएकी छु। त्यहाँका लागि कोअर्डिनेसन धेरै पहिलादेखि नै हुन्छ। दुई–तीन दिनअघि नै त्यहाँ पुगिसकिन्छ। त्यसले गर्दा पनि धेरै समस्या चाहिँ भएन,’ उनी भन्छिन्।
सदिच्छासँग एमसी गर्दाका रमाइला अनुभव पनि छन्। देशका मात्र नभई विदेशका एकदमै राम्रा व्यक्तित्वहरूको अगाडि बोल्न पाउनु नै उनका लागि आफैंमा रमाइलो विषय हो। ‘सबैको ध्यान उद्घोषकमा नै केन्द्रित भइरहेको हुन्छ। त्यो बेला अरू एंकरले पनि तपाईं धेरै राम्रो गरिराख्नुभएको छ भनेर प्रशंशा गर्दा एकदमै स्पेसल फिल हुन्छ,’ उनी भन्छिन्, ‘मैले राम्रो काम गर्दा नेपालबारे पनि राम्रो प्रभाव पर्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमा सेन्टर उद्घाटन गर्ने बेलादेखि लिएर मलेसियाका प्रधानमन्त्री आउँदा होस्ट गरेका धेरै रमाइला अनुभव छन्।’
उनले एमसी नै गर्न थालेको १२ वर्ष भइसक्यो। यति धेरै कार्यक्रम होस्ट गरिसकिन् कि कति त उनलाई याद पनि छैन। प्रत्येक कार्यक्रमका फरक–फरक अनुभव छन् उनीसँग। ‘एमसी गर्दा रिजल्ट पनि तुरुन्तै आइहाल्छ। अब म बोलेको सुन्दा–देख्दा मान्छेको अनुहारमा कस्तो भाव उत्पन्न भइराखेको छ भन्ने कुराले पनि धेरै फरक पार्छ,’ उनी भन्छिन्।
बोलेरै आकर्षक जीवनयापन
बोल्नुलाई अद्भूत कला मान्ने सदिच्छालाई बोलेरै पनि राम्रोसँग जीवनयापन गर्न सकिन्छ भन्ने लाग्छ। ‘अहिले जुन हिसाबले मार्केट ग्रो भइरहेको छ, त्यसैअनुसार पारिश्रमिक लिने हो। आफ्नो जीविका चल्नेगरी पैसा कमाउन कुनै गाह्रो छैन,’ उनी भन्छिन्।
अहिले उनलाई कार्यक्रममा एमसी गर्न भ्याइनभ्याइ छ। संख्याका हिसाबले नै कुरा गर्ने हो भने हप्तामै दुइटा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। महिनामा ८–१० वटा कार्यक्रम सञ्चालन गर्ने उनलाई पारिश्रमिक पनि राम्रै आउँछ।
‘अन्तर्राष्ट्रियभन्दा पनि राष्ट्रिय स्तरमा यो कामको धेरै कदर हुन्छ जस्तो लाग्छ मलाई। मैले विदेशमा पनि एमसी गरेको छु, तर त्यस्तो अवसर एकदमै कम जुर्छ,’ उनी भन्छिन्, ‘कि त मसँग एकदमै स्पेसल स्किल हुनुपर्याे। मलाई कम्तीमा पनि चार–पाँच भाषा बोल्न आउनुप¥यो। त्यसो भएको भए त्यहीअनुसार काम हुन्थ्यो। त्यसमा पनि भारतमा धेरै राम्रो एंकरहरू छन्। आफ्नो मार्केट त आफैंले नै बनाउने हो।’
बोल्न जान्ने मान्छेले हरेक क्षेत्रमा राम्रो गर्न सक्छ भन्ने व्यक्तिगत अनुभव बटुलेकी उनले यही पेसाबाटै जीवनयापन गर्ने सोच बनाएकालाई अभ्यास नै गर्नुपर्ने सुझाव दिन्छिन्।
एमसी गरेर महिनाको लाखौं आम्दानी
१० हजार पारिश्रमिकबाट एमसी गर्न सुरु गरेकी सदिच्छाले अहिले भने एउटा कार्यक्रममा एमसी गरेको २० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गर्छिन्।
‘कार्यक्रम हेरेर हुन्छ। मैले एकदेखि डेढ घन्टा वा एक दिनको एमसी गरेको २० देखि ८० हजार रुपैयाँसम्म लिएकी छु,’ उनी भन्छिन्, ‘अहिले त मलाई तपाईंको समय के छ भनेर मेरो समय बुक हुन्छ। दुई महिनादेखि नै मेरो समय बुक भइसकेको हुन्छ। मलाई समयतालिकाअनुसार चल्नुपर्ने अवस्था छ। यही कारण म यो पेसामा एकदमै सन्तुष्ट छु। सुरुमा त रातभरि नसुतेर पनि स्क्रिप्टका लागि मिहिनेत गरेँ। अहिले तत्कालै प¥यो भने पनि स्क्रिप्टको फम्र्याट पनि बदल्न सक्छु।’
आगामी दिनमा पनि यही पेसालाई नै निरन्तरता दिने सदिच्छाको योजना छ। ‘अरु काम त अप्सनल हुन सक्छन्, तर म नबोली बस्नै सक्दिनँ। बोल्नु नै मेरो जीवन हो,’ उनी भन्छिन्।
पढाइमा ‘गोल्ड मेडल’ (स्वर्णपदक) जितेकी सदिच्छालाई अध्यापनमा पनि रुचि नभएको भने होइन। समय मिल्यो भने अध्यापन गर्ने योजना पनि छ उनको। ‘एमसीमा पनि तालिम दिन्छु। त्योभन्दा बाहेक मेरो मार्केटिङमा रुचि बढ्दै गएको छ,’ उनी भन्छिन्।