२०५० वैशाख पहिलो साता।
एक दम्पती विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरो चुम्न लालायित हुँदै ‘क्याम्प–२’ पुग्यो। सगरमाथा आरोही दम्पतीमध्ये श्रीमती एउटा ऐतिहासिक कीर्तिमान रच्ने लक्ष्यमा थिइन्।
श्रीमान–श्रीमती ६ हजार ४ सय मिटर उचाइको क्याम्प–२ पुगेर बास बसे।
भोलिपल्ट सखारै श्रीमतीले श्रीमानलाई भनिन्, ‘हिजो राति सपना राम्रो देखिनँ, तपाईं घर फर्किनू। हामी दुवैजना जाँदा कुनै अप्रिय घटना घटे बालबच्चाको बिचल्ली हुन्छ।’
श्रीमान कलिला लालाबालाको पीरले क्याम्प–२ बाट श्रीमतीलाई सफलताको शुभकामना दिएर बिदाइको हात हल्लाउँदै आधारशिविरतिर ओरालो झरे।
श्रीमती त्यहाँबाट लक्ष्य भेट्न उकालो लागिन्।
यता, श्रीमान कर्मथलो काठमाडौं आइपुगे। उता, श्रीमतीले वैशाख १० गते सर्वोच्च शिखर सगरमाथा चुचुरो चुम्न सफल भइन्।
र, एउटा ऐतिहासिक कीर्तिमान राखिन्– ‘विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला।’
सगरमाथाबाट खबर आयो– ‘पासाङल्हामु शेर्पाले सगरमाथा शिखरमा विजयी झण्डा फहराइन्।’
यता, घर आइपुगेका श्रीमान ल्हाक्पासोनाम शेर्पा खुसीले गदगद हुँदै श्रीमतीलाई अँगालो हालेर बधाइ दिन व्यग्र प्रतीक्षामा बसे।
तर, सोनामको प्रतीक्षा कहिल्यै विपनामा परिणत भएन। उनले श्रीमती पासाङल्हामुलाई कहिल्यै भौतिकरूपमा बधाइ दिन पनि पाएनन्।
जुन दिन सोनामले क्याम्प–२ बाट पासाङल्हामुलाई बिदाइको हात हल्लाएका थिए, त्यो नै श्रीमान–श्रीमतीको अन्तिम भेट हुन पुग्यो।
सगरमाथा शिखरमा नेपालको झण्डा फह¥याएर फर्कने क्रममा पासाङल्हामु एक्कासि हिउँमा हराइन्। र, कहिल्यै नफर्किने गरी एउटा ऐतिहासिक कीर्तिमान राखेर सदाका लागि विलिन् भइन्...
तीस वर्षपछि,
२०८० जेठ ३।
उनै पासाङल्हामुका श्रीमान ल्हाक्पासोनामले गएको जेठ ३ गते बुधबार बिहान ७ः३४ बजे सगरमाथा शिखरमा विजय हासिल गरे।
श्रीमतीको पदचाप पछ्याउँदै सगरमाथा हानिएका सोनामले तीन दशक पुरानो अधुरो प्यास मेटे। क्याम्प–२ पुगेर टक्क अडेका सोनामले ३० वर्षअघि पासाङल्हामुले घर फर्कन गरेको आग्रह झल्झली सम्झिए।
तर, सोनाम अहिले भने घर फर्किएनन्, सिधै शिखरतिर उक्लिए। जब शिखर पुगे, भक्कानिँदै श्रीमतीलाई सम्झिए, अनि मनमनै भने– ‘पासाङ मैले तिम्रो पनि सपना पूरा गरेँ!’
...
सगरमाथा शिखर चुमेर फर्किने क्रममा ज्यान गुमाएकी उनै पासाङल्हामु जसलाई सरकारले मरणोपरान्त राष्ट्रिय विभूति घोषित ग¥यो, गएको वैशाख ३ गते शिखर चुमेका सोनाम उनै पासाङल्हामुका श्रीमान। सोनामको यो आरोहणले तीस वर्षअघिको त्यो घटनालाई पुनः ताजा बनाइदियो।
आरोहण क्रममा पासाङल्हामुले टेकेका पाइला भलै सोनामले भेट्न सकेनन्। मात्र, उनले पासाङल्हामुलाई अन्तिमपटक बिदाइ गरेको क्याम्प–२ नियाल्दै उकालो चढे।
तीस वर्षअघि काठमाडौंबाट सगरमाथा लाग्दा पासाङल्हामु र सोनामको यात्रा क्याम्प–२ मा पुगेर वियोगान्त होला भन्ने कल्पना दुवैले गरेका थिएनन्।
‘क्याम्प–२ मा बास बस्ने क्रममा पासाङल्हामुले सोनामलाई ‘सपना राम्रो देखिनँ तपाईं घर फर्किनू,’ पासाङल्हामुकी छोरी दावाफुटी शेर्पाले बुबा सोनामको भनाइ उदृत गर्दै क्यापिटल नेपालसँग भनिन्, ‘सपना राम्रो देखिनँ, तपाईं फर्किनू, हामी दुवैजना जाँदा कुनै अप्रिय घटना घटे बालबच्चाको बिचल्ली हुन्छ’।
पासाङल्हामुको आग्रह सुनेपछि सोनाम अक्क न बक्क भए। हुन पनि हिमाल आरोहणमा जाँदा सबैजना सकुशल फर्किन्छन् भन्ने ‘ग्यारेन्टी’ हुँदैन। घरमा तीन साना बच्चा थिए। त्यो बेला जेठी छोरी दावाफुटी नै १२ वर्षकी मात्र थिइन्। पासाङल्हामूले सगरमाथा आरोहण गर्दा पहिलो नेपाली महिला भएर विश्वमा नाम कहलिने भन्दै सोनामलाई घर फर्किन जिद्दी गरिन्। र, अन्ततः सोनामले पासाङल्हामुको त्यो आग्रह स्वीकार गर्दै घर फर्किए।
‘ममीले हाम्रो बिचल्ली हुन्छ भनेर बुबालाई घर पठाएर सगरमाथा आरोहणमा जानुभयो, तर कहिल्यै फर्किनुभएन,’ छोरी दावाफुटी भावुक हुँदै भन्छिन्।
पासाङल्हामुले सगरमाथा चुचुरोमा पाइला राखेर देशको नाम उँचो राखे पनि आफू भने सकुशल फर्किन पाइनन्। र, सपनामा देखेजस्तै ठूलो घटना घट्यो। उनलाई सकुशल फर्काउन सोनाम असफल भए।
दावाफुटीका अनुसार आमाको निधनपछि भने बुबाले हिमाल आरोहणको रहर नै गुर्नभएन। बुबाले सगरमाथा जानुअघि नै धौलागिरी हिमालसहित साना हिमाल आरोहण गरिसके पनि पछि भने कहीँ जाने रहर नगरेको उनी बताउँछिन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि भने सोनामको ढाडमा केही समस्या देखियो। उनले जँचाउन अस्पताल जानुको सट्टा प्राकृतिक चिकित्सामार्फत निको हुने अपेक्षासहित हिमाल आरोणको तयारी गरे।
‘जब अफ्रिकाको माउन्ट किलिमन्जरोको सफल आरोहण गर्नुभयो, त्यसपछि भने बुबाले ढाड दुखाइ केही मात्रामा निको भएको महसुस गर्नुभयो,’ दावाफुटी भन्छिन्, ‘त्यसपछि उहाँले अन्टार्कटिकाको माउन्ट भिन्सन, ओसिनियाको माउन्ट पुनककरमाउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोन्कागुआ हिमाल आरोहण गर्नुभयो।’
दावाफुटीका अनुसार बुबाको ढाडको समस्यासमेत हिमाल आरोहण गर्ने क्रममै निको भएको थाहा पाएपछि हिमाल आरोहणमा जान रोक्न छाडिएको थियो। बुबा जुन काम गर्दा खुसी हुनुहुन्छ, त्यहीअनुसार सधैं हौसला दिन थालियो। अन्तिम इच्छा सगरमाथा चढ्ने भनेपछि सपरिवारले खुसीसाथ बिदाइ गरिएको थियो।
’सायद, आमासँगको ३० वर्षको वाचा पूरा गर्ने अठोट बुबाले सम्झिएको हुनुपर्छ, ६३ वर्षको उमेर पुगिसक्दा पनि सगरमाथा आरोहण गर्ने प्यास नमेटिएको,‘ छोरी दावाफुटी भन्छिन्, ‘हामी दिदीभाइ र ममी (कान्छीआमा) सहित परिवारले पनि त्यही सम्झिएर सहर्ष बुबाको प्रस्ताव स्वीकार्दै हौसला दिएर पठाएका थियौं, जुन सपना सफल बनाउनुभयो।’
सात महादेशका सात उच्च शिखर चढ्ने पहिलो नेपाली आरोही बने सोनाम
सोनामले सगरमाथा पनि आरोहण गरेर आफ्नो सपनामात्र पूरा गरेनन्, उनले विश्वका सात महादेशका सात उच्च शिखरका मुख्य चुचुरो (रियल समिट) आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमानसमेत राखेका छन्।
सोनामले अर्जेन्टिनाको सबैभन्दा अग्लो हिमाल एकान्कागुआ (६,९६२ मिटर) र अफ्रिकाको अग्लो हिमाल माउन्ट किलिमन्जरो (५,८९५ मिटर), युरोपको अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर), अन्टार्कटिकाको सबैभन्दा अग्लो हिमाल विन्सन (४,८९२ मिटर), इन्डोनेसियाको अग्लो हिमाल कास्र्टेन पिरामिड (४,८८४ मिटर) चढिसकेका छन्।
हिमालमै सर्वश्व गुमाएका सोनामको हिमालमै लगानी
यती ग्रुपका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम शेर्पा ‘लो’ प्रोफाइलमा बसेर ‘हाइ लेभल’ को काम गर्ने व्यक्तिमा गनिन्छन्। हिमालको काख सोलुखुम्बुमा जन्मिएका सोनाम पर्यटन क्षेत्रमा लागेको ४० वर्ष भइसक्यो। नेपालमा खर्चालु पर्यटक ल्याएर डलर भित्र्याउन प्रत्यक्षरूपमा सरकारको सारथी बनिरहेका सोनामले हिमाली क्षेत्रमै आफ्नो लगानी विस्तार गरिरहेका छन्। उनले हिमालमै आफ्नो सर्वश्व नै गुमाइसकेका छन्। तथापि, उनको हिमालप्रतिको प्रेम र लगाव भने अझै टुटेको छैन।
हिमाल आरोहण क्रममै श्रीमती पासाङल्हामु गुमाएका सोनामले त्यसअघि मनास्लु हिमाल आरोहण गरेर फर्किंदा जेठा दाइ फुर्वाग्याल्जे शेर्पालाई गुमाइसकेका थिए। श्रीमती र दाइ हिमालमै गुमाएको जस्तो वियोगान्त घटना सायद अरूको जीवनमा कमै होला। श्रीमती र दाइ गुमाएको पीडा यथावत हुँदै दुई भाइलाई समेत हेलिकोप्टर दुर्घटनामा हिमालमै गुमाए।
पछिल्लोपटक २०७५ फागुन १५ गते ताप्लेजुङबाट हेलिकप्टरमा फर्किने क्रममा दुर्घटनामा परी साहिँलो भाइ आङछिरिङलाई गुमाएका थिए। आङछिरिङ त्यो बेला यती ग्रुपका प्रबन्ध निर्देशक थिए। कान्छो भाइ टेन्डीलाई पनि अलि अगाडि हेलिकोप्टर दुर्घटनामै गुमाएका थिए।
आफ्नो परिवारै हिमालमा विलिन भए पनि उनले सबै लगानी त्यसै क्षेत्रमा खन्याएका छन्। यती ग्रुपमार्फत थामसेर्कु ट्रेकिङ, यती एयरलाइन्स, तारा एयर र हिमाली जिल्लामा माउन्टेन लज अफ नेपालमार्फत चेन होटल समेत विस्तार गरिरहेका छन्।
सोनामले हस्पिटालिटीमार्फत हिमाली जिल्लामा घुम्न जाने पर्यटकलाई स्तरीय र सुविधासम्पन्न सेवा दिने उद्देश्यले विभिन्न नाममा हिमाली क्षेत्रमा १७ होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका छन्।
यतीको सबैभन्दा बढी सोलुखुम्बु सगरमाथा क्षेत्रमा होटल सञ्चालनमा छन्। साथै, मनाङ, अन्नपूर्ण, पोखरा माथिल्लो भेगमा पनि सञ्चालन होटल सञ्चालन गरिरहेक छन् भने मुस्ताङमा नयाँ होटलको तयारी गरिरहेका छन्।
हाल ग्रुपले अन्तर्राष्ट्रिय उडानका लागि हिमालय एयरलाइन्स, काठमाडौंमा गोकर्ण फरेस्ट रिसोर्ट, जोमसोममा मोक्ष मुस्ताङ एन्ड यती माउन्टेन होम, चितवनमा कसरा चितवन रिसोर्ट, लुम्बिनीमा होक्के रिसोर्ट सञ्चालन गरिरहेको छ। ग्रुपका होटल तथा रिसोर्टसँगै वान दरबार मल, जलविद्युतसहित दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन ।
हिमालप्रतिको लगाव किन धेरै?
हिमाल र हिमाली क्षेत्रमै सर्वश्व गुमाएका सोनामको क्यापिटल म्यागजिनले २०७९ असारमा अन्तर्वार्ता प्रकाशित गरेको थियो। सम्भवतः त्यो अन्तर्वार्ता प्रिन्ट मिडियामै पहिलो हुनसक्छ। अन्तर्वार्ताका क्रममा उनले आफू हिमाली जिल्लाबाट आएको व्यक्ति भएकाले त्यस क्षेत्रका जनतालाई यातायातको सुविधा दिनकै लागि भए पनि तारा एयरको उडानलाई निरन्तरता दिँदै आएको बताएका थिए।
‘यहाँ हामीले जति कमाएका छौं, सबै हिमाली क्षेत्रलाई नै लक्षित गरेर लगानी गरेका छौं,’ शेर्पाले भनेका थिए, ‘नेपालका दुर्गम क्षेत्रमा विदेशी र अन्य एयरलाइन्स जाँदैनन्। उनीहरूलाई जबर्जस्ती जा भन्न पनि मिल्दैन। त्यसैले दुर्गम जनताको सेवाबाट माया मार्न नसकेरै हामीले उडानलाई निरन्तरता दिँदै आएका हौं।’
हिमाली भेगमा सरकारले समेत बेवास्ता गरिरहेको अवस्थामा यातायात साधनका रूपमा तारा एयरले उडान गर्दै आएको उनको भनाइ छ। ताराको निरन्तर उडानकै कारण अहिले लुक्ला, मुस्ताङ, हुम्ला र सिमिकोटलगायत दुर्गम क्षेत्रमा विदेशी घुम्न जाने स्थिति बनेको उनको भनाइ छ। आफूहरूले नाफाभन्दा सेवामा जोड दिएर काम गरिरहेको उनी बताउँछन्।
तारा एयरले यात्रुमात्र होइन, खाद्यान्न ढुवानीसमेत गर्दै आएको छ। जसका कारण दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुनबाट जोगाएको दाबी सोनामको छ। दुर्गम क्षेत्रमा तारा एयर र तराईसहित पहाडी क्षेत्रमा यती एयरलाइन्समार्फत उडान हुँदै आएको छ।