काठमाडौं। सन् २०१८ मा इन्जिनियर आकर्षण पोखरेलले अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किने निधो गरेको मिल्ने साथीहरूलाई सुनाए। केही साथीले हौसला दिए भने केहीले नफर्कन सुझाव दिए। उनी जापान अध्ययन सकाएर २०१५ मा अमेरिका गएका थिए।
आकर्षणको नेपाल बसाइको एउटै सपना थियो– एडभेन्चर टुरिज्ममा केही नयाँ काम गर्ने। उनले त्यस्तो काम गर्ने अठोट गरिसकेका थिए। अध्ययन र रोजगारीका सिलसिलामा युरोप, अमेरिका, क्यानडा र जापानलगायत मुलुक पुग्दा उनले शिशामा हिँडेको र त्यहाँको यात्रा निकै रोमाञ्चक भएको अनुभव गरे। जुन अनुभव आफुले मात्र होइन, नेपालीलाई पनि गराउने भूत उनको मनमा जाग्यो। र, यही खालको संरचना नेपालमा बनाउने अठोटसमेत उनले गरे।
नेपालमा पछिल्लो समय बिस्तारै एडभेन्चर टुरिज्म (साहसिक पर्यटन) मा रमाउनेको संख्या बढिरहेको जानकारी उनले पाइरहेका थिए। त्यही भएर नेपालमा ‘स्काई वाक भ्यु टावर’ निर्माण गर्दा आफ्नो परियोजनाले सार्थकता लिन्छ भन्ने दृढ उनलाई थियो।
र, अमेरिकामै रहेका आफ्ना मिल्ने दुई साथी लोकेन्द्र अधिकारी र विष्णु काप्रीलाई योजनाबारे सुनाए। जुन योजना अधिकारी र काप्रीले साथ दिने प्रतिबद्धता गरेपछि एक किसिमको ‘फ्रेमवर्क’ गरेर नेपाल फर्किए।
अमेरिकामै रहँदा पोखरेलले नेपालमा रहेका अन्य दुई साथी तेजबहादुर सिंह र खेमराज न्यौपानेलाई सहमत गराइसकेका थिए। काठमाडौं आउनेबित्तिकै उनले सिंह र न्यौपानेलाई भेटेर आफ्नो परियोजना अगाडि बढाउने निधो गरे।
अब एकजनाले देखेको सपना पाँचजनाको भयो। र, आफूहरूले देखेको सपना पूरा गर्नतिर लागे। ‘पाँच वर्षअघि देखेको सपना अहिले पूरा भएको छ,’ स्काई वाक भ्यु टावरका औपचारिक सुरुवातको दिन शुक्रबार खुसी साट्दै सञ्चालक पोखरेलले क्यापिटल नेपालसँग भने, ’हाम्रो सपनाले मूर्तरूप लिएको छ।
अहिलेको यो सफलतामा खुसीको सीमा नै नरहेको उनको भनाइ छ। ‘जुन सपना देखेर दिनरात लागेका थियौं, अहिले सम्पन्न भएर सञ्चालनमा आउँदा निकै आनन्द लागेको छ,’ उनले भने, ‘पहिलाको परिकल्पनाभन्दा धेरै राम्रो बनाएका छौं।’
सुरुमा कंक्रिटको बनाउने योजना बनाइए पनि भौगोलिक अवस्थाका कारण फलामको बनाइएको उनले बताए।
सिसामा हिँड्नेलाई प्राथमिकता दिएर नेपाल आएको आकर्षणको टिमले कमलादीमा मात्र नभई, उपत्यका बाहिर पनि त्यो खालको संरचना बनाइसकेका छन्। अहिले सोही टिमले धनकुटा भेडेटार भीरमा स्काई वाक भ्यु टावर बनाइरहेको छ भने इलाम कन्याममा सञ्चालन गरिसकेको छ।
आकर्षण इन्जिनियर हुन् भने अरू अन्य काममा व्यस्त छन्। पोखरेल ३५ वर्ष पुगेका छन् भने साथीहरू ५० वर्षभन्दा कम उमेरका छन्। त्यही भएर पनि नयाँ परियोजनामा सबैको साथ र सहयोगमा काम अगाडि बढेको उनले बताए। टावरमा लगानीकर्ताहरु अहिले ११ जना रहेका छन्।
उनीहरूले यो परियोजना निर्माणका लागि सुरुमा लगानी गर्न बैंक तथा वित्तीय संस्था धाउने भन्दा पनि जग निर्माणमा लागेका थिए। पहिला संरचना तयार गरेपछि उनीहरूले बैंकमा लगानीका लागि प्रस्ताव गरेका थिए।
२३ वर्षका लागि जग्गाभाडामा लिएका छन्। जग्गा पनि लगानीकर्तामध्येकै तेजविक्रम सिंहको परिवारको हो। त्यही भएर उनीहरूलाई सुरुमा जग्गा खोज्न कुनै समस्या भएन। तथापि, त्यो जग्गा भने बैंकमा धितोका रूपमा राखेका छैनन्।
नयाँ आइडिया भएकाले पनि बैंकहरूले लगानीका लागि कुनै आनाकानी नगरेका हुन्।
२ अर्ब लगानी
१३.२ रोपनी जग्गामा निर्माण भएको टावरमा २ अर्ब लगानी भएको छ। २८ तल्लाबराबर उचाइ रहेकोे टावर ७८ मिटर अग्लो रहेको छ।
टावरमा मनोरञ्जनका लागि नाइट क्लब पनि सञ्चालन हुनेछ। त्योसँगै १० कोठा, मिटिङ हल हुने गरी तयारी भइरहेको छ। त्यसको माथि १ सयजना अट्ने रेस्टुरेन्ट हुनेछ भने सबैभन्दा माथि स्काई वाक छ। रेस्टुरेन्ट भने सञ्चालने तयारीमा छ।
टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सिधै ६८ मिटरमाथि पुगेर रोकिने छ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको छ। आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडाउनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।
टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्न सकिने छ। यो टावरमा प्रवेश गर्दा १ हजार रुपैयाँ शुल्क लाग्छ भने ३० मिनेटमात्र माथि बस्न पाइन्छ।
टावरमा अन्डरग्राउन्डसहित १ सय ५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने छ। टावरमा दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सकिने क्षमता छ।
कोभिडले लक्ष्यमा ब्रेक
२०७६ सालमा शिल्यान्यास गरि निर्माणको काम अगाडी बढाउदा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेका थिए। तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको कारण २ वर्षभन्दा बढी समय काम प्रभावित भयो।र,त्यसको असर स्काई वाक निर्माणमा समेत पर्यो। जसले गर्दा निर्माण समयसँगै लागत समेत बढायो।
पर्यटनमा नयाँ प्रडक्ट
काठमाडौं भित्र पर्यटनका लागि नयाँ पर्यटकीय प्रडक्टको रुपममा स्काई वाक भ्यू टावर थपिएको छ। यसले आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाई समेत घुम्ने गन्तव्य भित्रको अर्को गन्तव्यको रुपमा विस्तार हुने विश्वास पर्यटन व्यवसायीहरुले लिएका छन्।