काठमाडौं। स्कुटर बिक्रीले ‘टु ह्विलर’ (दुई पांग्रे) विक्रेतालाई ठूलो राहत मिलेको छ। चार वर्षबीचमा स्टुकरको बजार हिस्सा ५० प्रतिशत पुगेसँगै दुई पांग्रे सवारीसाधन विक्रेताको प्रमुख आम्दानी स्रोत स्कुटर बनेको हो।
आधिकारिक विक्रेताहरूका अनुसार चार वर्षअघि स्कुटरको बजार हिस्सा २५ प्रतिशतमात्र थियो। अहिले ५० प्रतिशत नाघिसकेको छ। बहुउपयोगी, मोटरसाइकलको तुलनामा सस्तो, महिलाको रोजाइलगायत कारण स्कुटर बिक्रीमा उछाल आइरहेको छ।
स्कुटरको बजार बिस्तारै वृद्धि हुँदै जाँदा बजाजमाथि भने निरन्तर दबाब परिरहेको छ। मोटरसाइकलको बजार हिस्सामा अझै पनि बजाजलाई कसैले भेटेको छैन। स्कुटर बिक्रीले मोटरसाइकलको हिस्सा खोसिरहेका कारण बजाजले पनि स्कुटरतर्फ आफ्नो ध्यान लगाइरहेको छ।
अहिले नेपालमा टिभिएस, यामाहा, होन्डा, हिरोलगायत कम्पनीका स्कुटर तथा मोटरसाइकल छन्। यिनीहरूका मोटरसाइकल नबिकेपछि स्कुटरबाट हुने आम्दानीले कम्पनीलाई भरगेथ भइरहेको छ।
‘यसैगरी स्कुटरको बजार हिस्सा बढ्दै जाने हो भने कुनै दिन मोटरसाइकलभन्दा स्कुटर बिक्रीबाट हुने आम्दानी ठूलो हुन्छ,’ एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले क्यापिटल नेपालसँग भने, ‘चलाउन सजिलो, महिला–पुरुष दुवैले चलाउन मिल्ने, परिवारको सवारीसाधनका रूपमा स्कुटर विकास भइरहेको छ।’
कतिपय कम्पनीलाई मोटरसाइकल बिक्रीमा आएको गिरावटलाई स्कुटर बिक्रीबाट ‘कभर’ भइरहेको छ। तर, बजाजलाई त्यो विकल्प छैन। तर, बजाजले पनि नेपालमा स्कुटर सार्वजनिक गर्ने तयारी थालिरहेको छ।
नेपालको स्कुटर बजारमा पहिलो स्थानमा टिभिएस, दोस्रोमा यामाहा, तेस्रोमा होन्डा र चौथो स्थानमा हिरो छन्। यी कम्पनीबीच आफ्ना स्कुटर बिक्री बढाउन होड चल्ने गर्छ।
यस्तो छ स्कुटर बिक्री बढ्नुको रहस्य
मोटरसाइकल पुरुषको रोजाइमा पर्छ। सामान्यतया पुरुष स्कुटरभन्दा मोटरसाइकल चढन मन पराउँछन्। तर, मोटरसाइकल चढ्ने ठूलो समूह वैदेशिक रोजगारीमा छ।
वैदेशिक रोजगारीमा गएकाहरूका श्रीमती र बालबच्चा यतै छन्। उनीहरूका श्रीमती आफूलाई मोटरसाइकलभन्दा स्कुटर चलाउन बढी सहज ठान्छन्। त्यही भएर नेपालमा स्कुटर बजार हिस्सा ह्वात्तै वृद्धि भएको हो।
हरेक वर्ष श्रम बजारमा ५ लाख नेपाली आउँछन्। उनीहरूले नेपालमा रोजगारीका अवसर पाउँदैनन्। उनीहरूका लागि उपयुक्त गन्तव्य भनेकै वैदेशिक रोगजारी हो। वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेबित्तिकै घरपरिवारमा स्कुटर खरिद गरेर आफ्नो आवातजावत सहज बनाउन थालिएको हो।
सन् २०१८ मा नेपाली बजारमा होन्डा, टिभिएस, हिरो, यामाहा, सुजुकी, भेस्पालगायत कम्पनीले स्कुटर सार्वजनिक गरेका थिए। त्यो बेला दुई पांग्रे बजारको करिब २५ प्रतिशत स्कुटरले ओगटेको थियो।
स्टाइलिस र दमदार पावरका लागि परिचित छन् स्कुटर। स्टाइल र स्पोर्टी ‘लुक्स’ का कारण युवापुस्ताको रोजाइमा स्कुटर पर्न थालेको धेरै वर्ष भइसक्यो।
स्कुटरमै ब्लुटुथ इनेबल्ड हुन्छ। रेसिङ डेटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ।
अटोमेटिक एलइडी हेडलाइट, थ्री स्टेप ईको स्पिड इन्डिकेटर, उत्कृष्ट माइलेजले स्कुटरप्रति आकर्षण दिनहुँ बढिरहेको छ। स्कुटरमा अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत हुन्छन्।
स्कुटर सिटी राइडमात्र नभई लामो दूरीका लागि पनि उपयुक्त ठहरिइसकेका छन्। स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’ लगायत अत्याधुनिक सुविधा समावेश छन्।
स्कुटरमा सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान हुन थालेका छन्। एलइडी हेडलाइट र टेललाइट हुन्छन्।