काठमाडौं। सरकारले चारवटा ‘सिग्नेचर ब्रिज’ र एउटा ‘फ्लाई ओभर’ निर्माणलाई प्राथमिकता दिने भएको छ।
पूर्व–पश्चिम राजमार्गको नारायणी नदीमा निर्माणाधीन सिग्नेचर प्रकृतिको पुलसहित चारवटा सिग्नेचर ब्रिज निर्माणलाई पहिलो प्राथमिकता दिने योजना पुल महाशाखाले बनाएको छ।
तर, चार सिग्नेचर ब्रिजलाई आवश्यक बजेटबारे भने महाशाखाले प्रष्ट पारेको छैन। ती ब्रिजलाई प्राथमिकता दिएर अन्य पुललाई नियमित कार्यक्रममा राखिने महाशाखाले जनाएको छ।
चितवन नरायणी नदीमा दुई लेनको सिग्नेचर पुल निर्माण गर्न गत वैशाखमा तुँदी कन्स्ट्रक्सनसँग सडक विभागअन्तर्गत पुल महाशाखाले सम्झौता गरेको छ। नेपालमा निर्माण भएका पुलभन्दा फरक र सिग्नेचर प्रकृतिकै पुल भए पनि सिग्नेचर ब्रिज भन्न नमिल्ने इन्जिनियरहरू बताउँछन्।
ठेक्का सम्झौता गरेको मितिबाट निर्माण कम्पनीले पुल डिजाइन तीन महिनाभित्र महाशाखामा पेस गर्नुपर्ने हुन्छ। उक्त डिजाइनलाई महाशाखाले अध्ययन गरेर सम्झौताको मितिले एक वर्षभित्र स्वीकृत गराइसक्नुपर्छ। अर्थात, महाशाखालाई तुँदीले डिजाइन बुझाएको नौ महिनासम्म अध्ययन गर्ने समय रहन्छ।
यसरी हेर्दा २०८१ जेठसम्म नारायणी नदीमा बन्ने पुलको डिजाइन तयार भएर निर्माण सुरु हुनेछ। नेपालमा निर्माण भएका अन्य पुलभन्दा नारायणीमा बन्न लागेको पुलको लागत पनि बढी छ। ४ सय २० मिटर लामो उक्त पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
नेपालमा हालसम्म निर्माण हुँदै आएका मोटरेबल पुलभन्दा सिग्नेचर ब्रिज बनाउन दोब्बर बढी खर्च हुने प्राविधिक बताउँछन्। वैशाखमा ठेक्का सम्झौता भएको पुल दुई लेनमात्रै निर्माण हुने भएपछि नारायणीमा थप चार लेनको सिग्नेचर ब्रिज निर्माण गर्ने योजना महाशाखाको छ। फेरि, नारायणीमा चार लेनको पुल बनाउन महाशाखाले अध्ययन गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ मा नरायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण सुरु गर्ने घोषणा गरेका थिए। त्यहाँ चार लेनको सिग्नेचर ब्रिज निर्माण तयारी रहेको महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) कृष्णराज अधिकारी बताउँछन्। त्यसबाहेक महाशाखाले ललितपुर ज्वागल र कास्की विजयपुरमा सिग्नेचर ब्रिज निर्माणलाई प्राथमिकता दिँदैछ।
त्यसैगरी फ्लाई ओभर निर्माण गर्न पनि महाशाखाले अध्ययन गर्दैछ। निर्माणाधीन ग्वार्को फ्लाई ओभरबाहेक आवश्यकता हेरेर काठमाडौं उपत्यकाभित्र वा बाहिर फ्लाइ ओभर निर्माण अध्ययन गर्ने योजना बनाइएको सिडिई अधिकारीको भनाइ छ।
‘ट्राफिक जाम, आवश्यकता, सम्भावना सबै कुरा हेर्नुपर्छ। यस विषयमा विभागमा पनि छलफल हुन्छ उपत्यका बाहिर पनि जान सक्छ,’ उनले भने।
तिनाउ नदीमा बनाउन लागिएको सिग्नेचर ब्रिजको ‘कन्सेप्चुअल डिजाइन’ तयार भएर छलफल पनि भइरहेको छ। तर, डिजाइन भने बनिसकेको छैन।
सरकारले सन् २०१७ मा देशभरि १० वटा सिग्नेचर ब्रिज निर्माण गर्ने लक्ष्य राखेको थियो। तीमध्ये नारायणीमा सिग्नेचरजस्तै दुई लेनको पुल निर्माण ठेक्का सम्झौता भए पनि अन्य स्थानमा तयारी पूरा भएको छैन।
अधिकांश सिग्नेचर ब्रिज पूर्व–पश्चिम राजमार्गमा बनाउने तयारी देखिन्छ। तर, ती पुल कहिलेसम्म निर्माण गरिसक्ने भन्ने विषयमा सरकारले लक्ष्य तय गरेको छैन।
कुन–कुन ठाउँमा बन्छन् सिग्नेचर ब्रिज?
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन नारायणी नदी, बुटवल तिनाउ, बारा बकैया, रौतहट बागमती, झापा रतुवा र मोरङ गछिया नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना सरकारको छ।
त्यस्तै पृथ्वीराजमार्गमा कास्की विजयपुर खोला, काठमाडौं शंखमुलस्थित बागमती, परासी–भुमही सडकअन्तर्गत रुपन्देही रोहिनी खोला र धरान–धनकुटा सडकस्थित तमोर नदीमा पनि सिग्नेचर ब्रिज बनाउने योजना छ।
चितवन गैंडाकोट र भरतपुर जोड्न हाल सञ्चालनमा रहेको दुई लेन र निर्माणका लागि ठेक्का सम्झौता गरिएको दुई लेन गरी चार लेनको पुलले मात्रै सवारीसाधन चाप थेग्न सक्ने अवस्था नभएको प्रविधिक बताउँछन्। जसका कारण थप चार लेन बनाउन लागिएको छ।
उक्त चार लेनको सिग्नेचर ब्रिजको डिजाइन विभागभित्रै गर्ने तयारी छ। ‘डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल’ गठन गरेर विभागले विदेशी पुल विज्ञ ल्याएर नेपाली प्रविधिकसहितको टिमले सिग्नेचर ब्रिजको डिजाइन तयार गर्ने छ।
सिग्नेचर ब्रिज आधुनिक प्रकारको हो। लागतका हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ। भारतको बाजिरबाद र पूर्वीदल्ली जोड्ने यमुना नदीको पुल भारतको पहिलो सिग्नेचर ब्रिज हो।
त्यसबाहेक इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लन्डनको मिलेनियम ब्रिज, अलिमलिया ब्रिजलगायत सिग्नेचर ब्रिज परिचित छन्। चीनले पनि धेरै सिग्नेचर ब्रिज बनाइसकेको छ।
सिग्नेचर ब्रिज ‘सिमेट्रिकल’ आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय ‘एसिमेट्रिकल आकार’ मा पनि सिग्नेचर ब्रिज निर्माण गर्ने चलन छ। सिग्नेचर ब्रिज डिजाइन निकै जटिल हुने गर्छ। इन्जिनियरका अनुसार ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धान्ने गर्छ।
विदेशतिर बन्ने सिग्नेचर ब्रिज निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माण क्रममा स्टिलसँगै उच्चस्तरको कंक्रिट सामग्री प्रयोग गरिन्छ।
सिग्नेचर ब्रिजमा पाइलन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर ब्रिज सफल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थानलगायत अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर ब्रिज निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ।
हेर्दा आकर्षक र कलात्मक हुने हुँदा सिग्नेचर ब्रिज अन्यभन्दा फरक खालको हुन्छ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलमात्र बनिरहेको अवस्थामा अब बन्ने सिग्नेचर पुलले पर्यटक आकर्षित गर्ने विभागको भनाइ छ।