काठमाडौं। कर्जा दुरुपयोग रोक्न ल्याइएको चालू पुँजी कर्जा मार्गदर्शन खारेज वा संशोधन नहुने गभर्नर महाप्रसाद अधिकारीले दोहोर्याएका छन्।
निजी क्षेत्रका प्रतिनिधि, बैंकरसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि छलफल गर्न केन्द्रीय बैंकले बोलाएको कार्यक्रममा गभर्नर अधिकारीले सम्भावित वित्तीय जोखिम रोक्न ल्याएको व्यवस्थाबाट पछि नहट्ने बताएका हुन्।
छलफलमा उपस्थित ९० प्रतिशत व्यवसायीले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न गभर्नर अधिकारीसहित राष्ट्र बैंकको टिमलाई आग्रह गरेका थिए।
‘मैले बारम्बार भन्ने गरेको चालू पुँजी कर्जा मार्गदर्शन रिफर्मको अजेन्डा हो। हाम्रो बैंकिङ सिस्टमभित्र रहेको ठूलो विकृति हटाउँदै छ। ऋणीहरू ठूलो जोखिममा पर्ने खतरा टरेको छ,’ जवाफमा गभर्नर अधिकारीले भने।
आगामी दिनमा ऋणीलाई फाइदा हुने भएकाले चालू पुँजी कर्जाको धेरै विरोध नगर्न व्यवसायीलाई सुझाएका हुन्।
‘बैंकबाट ऋण लिएको छ। ब्याज तिर्ने बेला फेरि अर्को ऋण लिएर पुरानो ऋणको ब्याज तिरेको छ,’ गभर्नर अधिकारीले भने, ‘ऋण तिर्न ऋण लियो, यस्तो विकृति सुधार हुन जरुरी थियो।’
चालू पुँजी कर्जा मार्गदर्शन सुधारको एजेन्ट भएको अधिकारीले बताए। ‘सुधार भइराख्दा अलिकति सकस पर्छ। दुखाइ हुन्छ। असजिलो महसुस हुनसक्छ,’ अधिकारीले भने, ‘राम्राका लागि हामी धेरै दुखाइ सहन्छौं, एउटा आमाले बच्चा जन्माउँदा कति दुख सहन्छिन्, जन्मपछि सेलेब्रेट हुन्छ। कल्पना गर्न सक्छौं। यसैगरी चालू पुँजी कर्जा मार्गदर्शन पनि बुझ्नुस्।’
उनका अनुसार कुनै पनि व्यवसायीलाई आफ्नो नियमित व्यवसाय गर्न चालू पुँजी कर्जाले असर पर्छ भने त्यो व्यवसायीसँग छलफल गरेर गाँठो फुकाउन केन्द्रीय बैंक तयार छ। तर, त्यही बहानामा फेरि पनि कर्जा दुरुपयोग गर्न पाऊँ भन्ने कुरा नल्याउन गभर्नर अधिकारीले व्यवसायीलाई सुझाए।
गभर्नर अधिकारी निजी क्षेत्रबाट महत्वपूर्ण सुझाव पाएको र त्यसलाई विश्लेषण गरेर मौद्रिक नीति बताउने प्रतिबद्धता जनाए।
नेपाल अझै पनि अप्ठेरो अवस्थामै रहेको उनको भनाइ छ। ‘हामी यसो गर्दा के हुन्छ? त्यसो गर्दा के होला भनेर हेरिरहेका छौं,’ उनले भने।