काठमाडौं। नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी आर्थिक वृद्धिको लक्ष्य भेटाउन मौद्रिक नीति खुकुलो बनाउन प्रस्ताव राखेका छन्।
नेपाल राष्ट्र बैंकले साउनमा ल्याउने मौद्रिक नीति खुकुलो बने सरकारले बजेटमार्फत राखेको ६ वर्षको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने र समस्याग्रस्त अर्थतन्त्रमा समेत सुधार हुने सुझाव दिएका हुन्।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरण बनाउन आग्रह गरे।
बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह गर्दै हाल एफपिओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ता हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए।
स्वदेशी उत्पादनको प्रवद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए। हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा बताए।
प्रधानमन्त्री दाहालले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्षरूपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भइरहेको बताए। मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जानकारीसमेत दिए।
प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारी छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी रहेका थिए।