काठमाडौं। पोखरा सडक महोत्सवको सहसंयोजकमा वैभव पौडेल चयन भएका छन्। पौडेललाई रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति सदस्य र सल्लाहकारहरूको बैठकले २५ औं पोखरा सडक महोत्सवको सहसंयोजकमा चयन गरेको हो।
अघिल्लो बैठकबाट भने सडक महोत्सवको संयोजकमा विश्वराज पौडेल चयन भएका थिए। रेवान पोखरा व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनको उद्देश्यले स्थापना भएको संस्था हो। सुन्दर नगरी पोखराको फेवातालको किनारामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवामा समर्पित ९० वटा रेस्टरेन्ट सदस्य रहेको रेवान पोखरा आफ्नो त्यस उद्देश्यमा मात्रै केन्द्रित नभई सामाजिक उत्तरदायित्वमा पनि निकै सक्रिय छ।
पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी र विदेशी पाहुना पोखरा भित्र्याउन रेवान हरदम सक्रिय रहेको बताइएको छ। मुलुकभित्र हुने मेला महोत्सवहरूमा सबैभन्दा धेरै पाहुना सहभागी हुने महोत्सव यही हो भन्ने रेवानको दाबी छ। त्यसको सबैभन्दा ज्वलन्त उदाहरण रेवान पोखराले २४ वर्षदेखि गर्दै आएको पोखरा सडक महोत्सव हो।
पोखराको पर्यटन प्रवर्द्धनमा एउटा बेग्लै पहिचान बनाउन सफल यस महोत्सवले विगतका वर्षमा राजनैतिक अस्थिरता, भुकम्प, नाकाबन्दी र कोरोना महामारी लगायत थुप्रै आरोह अवरोहको सामना गरेर पनि महोत्सवलाई निरन्तरता दिँदै आएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा छुट्टै पहिचान बोकेको छ।
यो पटक पोखरा सडक महोत्सवको २५औं संस्करण रजत जयन्तीका रूपमा भव्य मनाउने तयारी रहेको बताइएको छ। पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म) २५ औं ‘पोखरा सडक महोत्सव’ ५ दिनसम्म फिस्टेल गेटदेखि खहरे चोक हुदै जरेवर लेकसाइडसम्म हुनेछ।
गण्डकी प्रदेशका ११ वटा जिल्ला सेरोफेरोका संस्कृतिहरू पोखरा सडक महोत्सवका यसको प्रमुख आकर्षण हुनेछन्। यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको डकुमेन्टी प्रदर्शन हुनेछन्।