काठमाडौं। संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ प्लोटफर्म ‘अलिबाबा’ का संस्थापक तथा चीनका पाँचौं सर्वाधिक धनी ज्याक मा नेपालमा लगानी गर्न उपयुक्त साझेदार (बिजनेस पार्टनर) खोजीका लागि आएको खुलेको छ।
तीन दिने अनौपचारिक भ्रमणमा आएका ज्याक र उनको सात सदस्यीय टोलीले काठमाडौंका विभिन्न ठाउँ घुमेका थिए। बौद्ध स्तुपा, कालिमाटी तरकारी बजार र भक्तपुर दबार स्क्वायर घुमेको थियो।
खासमा ज्याकले भारतमा लगानी गर्न खोजे पनि दुई देशबीचको ‘तिक्त’ सम्बन्धका कारण नेपालमा लगानी गरी अलिबाबाको दक्षिण एसियाको बजार काठमाडौंबाट हेर्ने योजना बनाएर आएको सम्बद्ध स्रोतले जानकारी दियो।
काठमाडौं ओर्लिनासाथ ज्याकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्न खोजेका थिए। प्रधानमन्त्री दाहाल पनि ज्याकलाई भेट्न इच्छुक हुँदाहुँदै विविध कारण समय नमिलेपछि दुवैको भेट हुन सकेन।
‘चिनियाँ अर्बपति ज्याक मा नेपालमा लगानी गर्न उपयुक्त साझेदार खोज्नका लागि आएका थिए,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी ज्याक माको मित्र भएकाले उनीहरू दुवैले यसबारे राम्रो छलफल गरेका छन्।’
निर्वाण चौधरीसँग व्यावसायिक भेट
यसैगरी व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग पनि ज्याक मा ले अनौपचारिक भेट गरेका छन्।
उनले सिजीसँगको साझेदारीमा नेपालमा लगानी विस्तार गर्ने विषयमा समेत छलफल अगाडि बढाएको सम्बद्ध स्रोतको दाबी छ। हुन त ज्याकले निर्वाणसँगै चितवन मेघौलीस्थित मेघौली सेराइ रिसोर्ट गएर एक रात बस्ने योजनासमेत बनाएका थिए। रिसोर्टमा सात कोठा बुक गरिएको भए पनि अन्तिममा समय अभावका कारण ज्याक काठमाडौंमै दुई रात बिताएर बिहीबार दिउँसो फर्किएका छन्। उनी काठमाडौंबाट पाकिस्तानतर्फ लागेका छन्।
व्यवसायी निर्वाणसँगको भेटमा ज्याकले नेपालको लगानी नीति र वैदेशिक लगानीका विषयमा छलफल गरेका थिए। तर, निर्वाणले पनि ज्याकसँगको भेटबारे औपचारिक जानकारी दिएका छैनन्। ज्याक र निर्वाणले सँगै भक्तपुर दरबार स्क्वायर घुमेका थिए।
ज्याकले घुमे बौद्ध, भक्तपुर दरबार स्क्वायर र कालिमाटी तरकारी बजार
काठमाडौं बसाइ क्रममा अर्बपति ज्याक मा ले काठमाडौं बौद्ध स्तुपा, भक्तपुर दरबार स्क्वायर र कालिमाटी तरकारी बजार घुमे।
बौद्धमा उनले ‘सिङ्गिङ बौल’ किनेका थिए। भक्तपुर दरबार स्क्वायरमा भने केही व्यक्तिसँग फोटोसमेत खिचेका थिए। अन्य ठाउँमा भने मास्क लगाएर हिँडेका थिए। कालिमाटी तरकारी बजारमा १३ मिनेट बिताएका थिए।
दुई रात तीन दिन काठमाडौं रहँदा ज्याक र उनको सात सदस्यीय टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसेको थियो। उनको टोलीले बुक गरेको ‘रोयल स्विट’ का कोठा प्रतिरात ३ हजार अमेरिकी डलर पर्ने थिए। ज्याकले द्वारिकाजको प्रख्यात खाना ‘कृष्णार्पण’ खाएका थिए।
ज्याक र उनको टोली असार १२ गते बंगलादेशको ढाका हुँदै चार्टर जहाज लिएर काठमाडौं आएको थियो।
ज्याक माको सम्पत्ति २० अर्ब ६० करोड अमेरिकी डलर
नेपाल भ्रमणमा आएका चिनियाँ प्रविधि कम्पनीका मालिक ज्याक माको सम्पत्ति २० अर्ब ६० करोड अमेरिकी डलरबराबर छ। उनी चीनका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन्।
चीनको पाँचौं धनी व्यक्ति ई–कमर्स प्लेटफर्म अलिबाबाको नेतृत्वबाट राजीनामा गरेपछि ज्याक तीन वर्षपछि विशाल फिनटेक कम्पनी एन्ट ग्रुप अलिबाबाको नेतृत्वमा छन्। उनी ५८ वर्षका भइसकेका छन्।
अंग्रेजी विषयका शिक्षकसमेत ज्याक माले सन् १९९९ मा अलिबाबा स्थापना गरेका थिए। जुन कम्पनी अहिले विश्वको सबैभन्दा ठूलो ई–कमर्स व्यवसायमध्ये एक हो।
ज्याकले २०१९ मा अलिबाबाको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। विदेशमा लगभग एक वर्ष बिताएपछि २०२३ मार्चमा चीन फर्केका हुन्। चीन छाडेर उनी जापान, थाइल्यान्ड र युरोप यात्रामा निस्किएका थिए।