काठमाडौं। बिएमडब्ल्युको विद्युतीय कार ‘आइएक्स३’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले पहिलो पटक बीएमडब्ल्युको विद्युतीय कार आइएक्स३ नेपाली बजारमा भित्र्याउन लागेको हो।
आइएक्स३ मा २ सय १० किलोवाटको मोटर हुने बताइएको छ। यसमा ८० किलोवाट आवरको ब्याट्री रहनेछ भने यसले सिंगल चार्जमा ४ सय ६० किलोमिटर सम्मको रेन्ज दिनेछ।
यसलाई ११ किलोवाटको एसी र १ सय ५० किलोवाटको डिसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिने बताइएको छ। यो गाडीले २ सय ८६ एचपी पावर र ४ सय एनएम टर्क जेनेरेट गर्छ। १ सय ८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १ सय किलोमिटर प्रतिघण्टासम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ।
आइएक्स३ मा सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्रयास सेन्सर, ब्रेकिङ फङसनसहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सरलगायतका विभिन्न फिचर छन्। यसको मूल्यका बारेमा भने आधिकारीक जानकारी दिइएको छैन।