काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले सहुलियतपूर्ण ब्याजमा १ खर्ब रुपैयाँबराबर ऋण लिने तयारी गरेको छ।
हाल लिएको ऋणको ब्याज महँगो भएको भन्दै नेवानिले सस्तो ब्याजमा उक्त परिमाणबराबर ऋण लिने प्रक्रिया अगाडि बढाएको हो।
नेवानि सञ्चालक समितिका एक सदस्यका अनुसार सरकारको जमानीमा स्वदेशी एवं विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन लागिएको हो। उक्त ऋण लिएपछि अहिले भएका ऋण तिर्ने र बाँकी रकमले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जहाज थप्ने योजना अगाडि बढाइएको छ।
नेवानिले दुईथान ‘न्यारोबडी’ र दुईथान ‘वाइडबडी’ जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियतप्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ–ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ।
अहिले भएको ऋणको ब्याज १०.२५ र १०.५० प्रतिशत छ। पहिला यही ब्याज ११ प्रतिशत थियो। अर्बौं रुपैयाँको ब्याज महँगोमा तिर्दा आम्दानी बचाउन नसकेको निष्कर्ष निकाल्दै नेवानिले सहुलियत ब्याजमा ऋण लिने निष्कर्षमा पुगेको सम्बद्ध स्रोतले जानकारी दियो। तर, यो विषय नेवानि सञ्चालक समितिले अनुमोदन भने गरिसकेको छैन।
नेवानि सञ्चालक समिति बैठकले छिट्टै यो प्रस्ताव अनुमोदन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाउने तयारी गरेको स्रोतको भनाइ छ।
ऋण लिन सरकार जमानी बस्नुपर्ने हुन्छ। त्यसका लागि मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्ने हुन्छ। नेवानिले जहाज खरिद गर्न पछिल्लोपटक लिएको ऋणमा पनि सरकार जमानी बसेको छ।
अब लिन लागिएको १ खर्ब ऋणका लागि नेवानिले ‘ग्लोबल टेन्डर’ गर्ने तयारीसमेत गरेको छ। अहिलेको अवस्थामा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ब्याजदर घटाउन सक्ने स्थिति नरहेकाले वित्तीय संस्थाहरूलाई आह्वान गर्न लागिएको एक सञ्चालकले जानकारी दिए।
पर्यटनमन्त्री सुदन किराँतीले नेवानिले अहिले लिएको ऋणको ब्याज अत्यधिक महँगो भएकाले त्यसलाई ‘सफ्ट लोन’ मा ल्याउनुपर्ने बताउँदै आएका छन्। केही दिनअघि संघीय संसदमा मन्त्री किराँतीले चर्को ब्याज भएकै कारण नेवानिले गरेको आम्दानी जति ब्याज तिदै सकिने भएकाले यसलाई सल्टाउनुपर्ने बताएका थिए। सस्तो ब्याजमा ऋण लिएर अहिले भएका ऋण तिरेर नयाँ व्यावसायिक योजनामा लगाउने गरी काम भइरहेको उनको भनाइ छ।
एयरलाइन्ससँग भएको सम्पत्ति धितो राखेर लिने ऋणका लागि ग्लोबल टेन्डर आह्वान हुनेछ। जसले सबैभन्दा कम ब्याजमा ऋण दिन तयार हुन्छ, त्यो ऋण लिने योजना नेवानिको छ।
पछिल्लो समय नेवानिले ब्याज/किस्ता नतिरेको भन्दै सञ्चय कोष र नागरिक लगानी कोषले सरकारलाई ऋण तिरिदिन आग्रह गरिरहेको बेला सस्तो ब्याजमा ऋण खोजीमा नेवानि लागेको हो।
नेवानिले यो खालको ऋण लिए नेपालमै पहिलो हुनेछ। अहिलेसम्म वैदेशिक ऋण लगानीमा परियोजना निर्माण भइरहेका छन्। ती परियोजनामा दुई देशबीच आपसी सम्झदारीमा ब्याजदर निर्धारण भइरहेको छ। तर, नेवानिले लिन लागेको ऋण भने नितान्त व्यावसायिक हुनेछ।
यसरी सस्तो ब्याजमा ऋण आह्वान गरेर लिने चलन विदेशमा छ।