विराटनगर। लिक परीक्षणको ४२ महिनापछि कार्गो रेलमार्फत ढुवानी सुरु भएको छ। विराटनगरको बुधनगरस्थित आइसिपीसम्म कार्गो रेल परीक्षण २०७६ कार्तिकमा भएको थियो। उक्त लिकबाट बुधबारबाट ढुवानी सुरु भएको हो।
व्यवसायीका अनुसार समयमै रेलबाट सामान ढुवानी नगर्दा ७६ अर्ब २० करोड रुपैयाँ नोक्सान भएको व्यवसायीले बताएका छन्। विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक मालवस्तु भित्रन्छ। जसमध्ये ८० प्रतिशत भारतबाट र २० प्रतिशत तेस्रो मुलुकबाट वस्तु आयात हुन्छ।
कोलकाताबाट विराटनगरसम्म सडक मार्गबाट ढुवानी गर्दा प्रतिकेजी ३ रुपैयाँ भारु पर्दछ। मालवहाक सवारीमा १५ टन सामान आयात गर्दा ४५ हजार रुपैयाँ लाग्छ। बथनाहा–आइसिपीसम्म कार्गो रेल आउँदा तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहा आएको सबै सामान र भारतबाट आयात हुने ६० प्रतिशत मालवस्तु कार्गाे रेलबाट आउनेछ।
दैनिक ३ सय ट्रकमध्ये २ सय ४० ट्रक मालवस्तु सिधै आइसिपीमा आउँदा ढुवानी खर्च १ रुपैयाँ ९५ पैसा प्रतिकेजी पर्छ। सडक मार्गबाट आयात हुँदा प्रतिकेजी ३ रुपैयाँ तिर्नुपर्ने भएकोले रेलमार्गमा प्रतिकेजी १ रुपैयाँ ५ पैसा बचत हुने दाबी छ।
यसरी दैनिक २ सय ४० ट्रक मालवस्तु रेलबाट आयात हुने अवसर सिर्जना भए ६० लाख ४८ हजार रुपैयाँ बचत हुनेछ। उद्योगीको प्रति १५ टन ढुवानीमा भारतीय रुपैयाँ १५ हजार ७ सय ५० बचत हुने अनुमान छ।
सन् २००५ मा नेपाल–भारतबीचको सम्झौताअनुसार १८.६ किलोमिटर दुरीमा कार्गाेरेल ल्याउने उल्लेख थियो। सम्झौताअनुसार नेपालले विस्तार क्षेत्रका लागि १ सय २९ बिघा जग्गा उपलब्ध गराउनुपर्ने र भारतले निर्माण गर्ने शर्त थियो।
१८ वषअघि १८ किलोमिटर दुरीको रेल–वे विस्तारको काम अझैसम्म टुङ्गिएको छैन। यद्यपि, विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डसम्म बुधबार कार्गोरेलले औद्योगिक कच्चा ल्याउन थालेको छ।
भारतको बथनाहादेखि मोरङको कटहरीसम्म कार्गाेरेल विस्तार गर्ने योजना अगाडि बढेको १८ वर्षपछि बुधबार कार्गो रेल आयो।
सम्झौताअनुसार २०६८ बाट काम सुरु गरेर २०७३ मा सम्पन्न हुनुपर्ने आयोजना अहिले पनि बुधनगरसम्म मात्रै सम्पन्न भएर सञ्चालनमा आएको छ। यद्यपि, यो कटहरीसम्म आउँदा अझै लाभ लिन सकिन्छ।