काठमाडौं। काभ्रेमा निजी लगानीमा हेलिपोर्ट बनाउने सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको योजनामा ब्रेक लागेको छ।
बुधबार उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै सिम्रिक एयरका अध्यक्ष क्याप्टेन थापालाई हेलिपोर्ट बनाउने दिने निर्णय नमान्ने जानकारी गराएसँगै तत्कालिन अवस्थामा सपना तुहिएको हो।
राष्ट्रिय हवाई नीति २०६३ मा जनसहभागिता वा स्थानीय निकायको संयुक्त लगानीमा मात्र साना विमानस्थल–हेलिपोर्ट बनाउन सकिने व्यवस्था रहेको भन्दै प्राधिकरणले हवाई नीति विपरीत सिम्रिक एयरलाई एकल लगानीमा निर्माण र सञ्चालनको जिम्मा दिन नसकिने र यो निर्णय हवाई नीति विपरीत हुने प्राधिकरणले निष्कर्ष निकालेको छ।
ऐनले विमानस्थलको निर्माण, पुनर्निर्माण, विकास, किस्ता र मर्मतको जिम्मा प्राधिकरणको हुने गरी तोकेको भन्दै एकल लगानीमा नेपालमा हेलिपोर्ट निर्माण तथा सञ्चालनको कानूनी प्रावधान नरहेकोले निजी क्षेत्रलाई हेलिपोर्ट सञ्चालनको जिम्मेवारी दिन नमिल्ने ठहर गरेको छ।
मन्त्रालयलाई लेखेको पत्रमा हेलिपोर्ट बनाउने निर्णय मन्त्रिपरिषदबाट हुनुपर्ने, त्यसअगाडि गैरसैनिक हवाई उडान ऐनअनुसार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी चार किल्ला तोक्नुपर्ने नियम रहेको भन्दै प्राधिकरणले सो क्षेत्र हवाई क्षेत्र भनी मन्त्रिपरिषदबाट निर्णय नभएको समेत स्मरण गराएको छ।
पर्यटन मन्त्रालयबाट हेलिपोर्ट निर्माणका लागि सैद्धान्तिक सहमति दिन उठान गरेको टिप्पणीमा रक्षा मन्त्रालयलेसमेत निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्दा चुनौती बढ्न सक्ने टिप्पणी गरेको थियो। रक्षा मन्त्रालयले अनुमति दिनु अगाडी सुरक्षा विश्लेषणसमेत गर्न भनेको थियो।
पर्यटन मन्त्रालयले काभ्रेको बनेपा नगरपालिका वडा नं १४ राउत गाउँको माथिल्लो भाग इटापु डाडाँमा अन्तर्राष्ट्रिय स्तरको हेलिपोर्ट बनाउन निजी कम्पनी सिम्रिक एयरलाई सैद्धान्तिक सहमति दिएको थियो।