काठमाडौं। नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट नमस्ते पेबीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ।
बुधबार फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यो सम्झौतासँगै सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरिका १२ लाखभन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलोरूपमा क्यूआर भुक्तानी गर्न सक्ने बताएको छ।
सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘फोन पेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिकरूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। अब नमस्ते पे प्रयोगकर्ताहरूले फोन पे क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्छन्। हामी विश्वस्त छौं नमस्ते पेसँगको
सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ।’
उनले प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको बताए। नमस्ते पेसँगको साझेदारीले ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिल्ने र समावेशी वित्तीय इकोसिस्टममा थप बढावा हुने उनको भनाइ छ।
त्यस्तै सम्झौतामा खुसी व्यक्त गर्दै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोन पे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ। हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ। यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्वाध सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ।’
फोन पे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तरबैंक व्यक्तिदेखि व्यक्ति (पर्सन टु पर्सनः पिटु पि) र व्यक्तिदेखि व्यवसायी (पर्सन टु मर्चेन्टः पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्ममार्फत सुविधा दिन्छ।
फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पि एस ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हाल पनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ।
त्यस्तै नमस्ते पे २०७७ मा स्थापित भएको थियो। यो नेपाल राष्ट्र बैंक द्वारा अधिकृत र नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको भुक्तानी सेवा प्रदायक हो। त्रिपुरेश्वर, काठमाडौँमा प्रधान कार्यालय रहेको नमस्तेपेले आधुनिक डिजिटल वित्तीय सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ।
नमस्ते पे, वित्तीय समावेशीकरण र वित्तीय सेवाहरूमा पहुँच सुधार गर्न मद्दत गर्ने उद्देश्यका साथ, बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीता ल्याउन आधुनिक सेवाहरू प्रदान गरेर ‘क्यासलेस समाज निर्माण गर्न समर्पित छ।