काठमाडौं। अहिले निजी लगानीमा देशभरि केबुलकार निर्माणले गति लिएको छ। धार्मिक एवंम प्राकृतिक स्थलमा पर्यटक आकर्षित गर्न रिसोर्टसहितको केबुलकार निर्माणले तीव्रता पाएको हो।
हालसम्म पहिचान भएका १४ मध्ये आधा दर्जन केबुलकार सञ्चालनमा आइसकेका छन्। एउटा परीक्षण क्रममा छ। एउटा केबुलकार निर्माणाधीन अवस्थामा छ। बाँकी आधा दर्जन केबुलकार लगानी जुटाएर निर्माण तयारीमा छन्।
सञ्चालनमा आइसकेका समेत गरी १४ केबुलकारमा मात्र हालसम्म ९५ अर्ब ३ करोड रुपैयाँ लगानी हुने भएको छ। जसमध्ये आइएमई ग्रुपले मात्रै तीन केबुलकार सञ्चालनमा ल्याएको छ।
आइएमईले काठमाडौं चन्द्रागिरिमा रिसोर्टसहितको केबुलकार सञ्चालन गरिरहेको छ। चन्द्रागिरि केबुलकारमा ३ अर्ब रुपैयाँ लगानी भएको छ। यस्तै भर्खरै आइएमईकै लगानीमा गैंडाकोटको मौलाकाली मन्दिरसम्म र बुटवलबाट पाल्पा वसन्तपुर कामाख्या देवी मन्दिरसम्म पुग्न लुम्बिनी केबुलकार सञ्चालनमा आइसकेको छ।
मौलाकालीमा २ अर्ब र बुटवल–पाल्पा वसन्तपुर पुग्ने लुम्बिनी केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी भएको छ। आइएमईले ताप्लेजुङ पाथीभरामा पनि केबुलकार बनाउने तयारी गरेको छ। आइएमईले पाथीभरा केबुलकारको स्वमित्व खरिद गरिसकेको छ।
सञ्चालनमा आइसकेकामध्ये मुलुककै पहिलो केबुलकार मनकामना केबुलकारमा १ अर्ब ५८ करोड रुपैयाँ लगानी भएको छ। मनकामना केबुलकार चितवन कोइ समूहले बनाएको हो।
परीक्षणकालमा रहेको बन्दीपुर केबुलकारमा ३ अर्ब र निर्माणाधीन सिद्धार्थ केबुलकारमा १ अर्ब रुपैयाँ लगानी हुने भएको छ।
योसँगै ६ वटा केबुलकार निर्माण तयारी भइरहेको छ। तीमध्ये आइएमईले बनाउन लागेको पाथीभरामा ३ अर्ब, जालपादेवीमा ५ अर्ब, सिकलेसमा ८ अर्ब, छिम्केश्वरीमा ५ अर्ब, चम्पादेवीमा ६ अर्ब र पोखरा–मुक्तिनाथमा ५० अर्ब लगानी हुने भएको छ।
मुक्तिनाथ केबुलकार ८० किलोमिटर लामो हुनेछ। मुक्तिनाथ विश्वकै सबैभन्दा लामो केबुलकार हुने भएको छ। पोखरा वीरेठाँटीदेखि मुक्तिनाथसम्म रिसोर्टसहित केबुलकार बनाउने तयारी छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालले ६ प्रदेशमा केबुलबार बनाउने घोषणा गरेका थिए। सोही घोषणाअनुसार उनले केबुलकार बनाउने तयारी गरिरहेका छन्।
केबुलकारबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि चलायमान गर्न मद्दत पुगिरहेको व्यवसायीको भनाइ छ।
केबुलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरको सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप टेवा पुगिरहेको छ।