काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
संसदले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो। एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो,’ प्रधानमन्त्री दाहालले भने, ‘यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन, आम नागरिकसम्म पुगेको थियो। टीभी र मोबाइलका स्क्रिनहरूमा छाइरहेको श्रीलंकाको तस्बिरले देशलाई आशंकित र त्रसित बनाएको थियो। श्रीलंकाको दुःश्वप्नबाट जागिसकेको छ। यसबीचमा अर्थतन्त्र केही जागेको छ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्ध रहेको बताए। अर्थतन्त्रका सबै सूचक सकारात्मकतातर्फ अगाडि बढेको उनले बताए। ‘अहिले सबैजसो आर्थिक सूचक सकारात्मकतर्फ अगाडि बढ्दै छन्। पछिल्लो ६ महिनायता कूल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ। अब हामी ९.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौं। यसैगरी कूल वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको छ। विप्रेषण उल्लेख्य रूपमा वृद्धि भएको छ,’ उनले भने।
गतवर्षको यसै अवधिका तुलनामा पर्यटक संख्या दोब्बर बढेको पनि उनले बताए। ‘बैंकदर र ब्याजदर क्रमशः घट्दै गएको छ। वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको छ,’ उनले भने, ‘चुहावटलाई कडाइका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको छ।’
नेपाल विद्युत् प्राधिकारण र नेपाल आयल निगम नाफामा गएको प्रधानमन्त्रीले बताएका छन्। उनले नेपाल वायु सेवा निगमको अवस्था पनि सुधारोन्मुख रहेको जानकारी दिए।