काठमाडौं। उद्योगको औसत क्षमता उपभोग गत वर्षको भन्द घटेको एक अध्ययनले देखाएको छ। गत आर्थिक वर्षको पुसमा उद्योगहरुाके औसत क्षमता उपभोग ४८.३ प्रतिशत रहेकोमा गत पुसमा घटेर ४३.०७ प्रतिशतमा झरेको हो।
आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनमा क्षमता उपभोग निरन्तर घटेको देखाएको हो।
अध्ययनले समेटेका उद्योगहरुमध्ये वनस्पती घ्यू, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, टयाब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्युड, साबुन, प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा टयूव, छालाको जुत्ता र कपडाको जुत्ताको क्षमता उपयोग बढेको छ भने प्रशोधित दुध, चिनी, चकलेट, प्रशोधित चिया, वियर, चुरोट, धागो, पश्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ईटा, स्टिलजन्य उत्पादन, जिआई तार, जिआई पाईप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ।
सर्वेक्षणमा समेटिएका उद्योगमध्ये बिजुलीको क्षमता उपयोग ९३.१९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५.५९ प्रतिशत र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत रहेको छ।
कर्णाली प्रदेशका उद्योगहरुको क्षमता उपयोग सबैभन्दा बढी (५१.९ प्रतिशत) रहेको छ भने मधेश प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम (३४.१ प्रतिशत) रहेको छ।
कोशी प्रदेशमा वनस्पति घ्यू तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, फलामको छड तथा पत्ति, सिमेन्ट, साबुन लगायतको उत्पादन प्रमुख रहेको छ भने मधेश प्रदेशमा वनस्पती घिउ तथा तेल, हल्का पेय पदार्थ, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी, फलामको छड तथा पत्ति, स्टिलजन्य उत्पादन, अन्य रासायनिक पदार्थ; बागमती प्रदेशमा प्रशोधित दूध, पशुदाना, चाउचाउ, चुरोट, पेय पदार्थ, रसायनिक पदार्थ, पश्मिना, तयारी पोशाक, औषधि, सिमेन्ट, जुत्ता उद्योग छन्।
गण्डकी प्रदेशमा विस्कुट, चाउचाउ, पेय पदार्थ, रसायनिक पदार्थ, सिमेन्ट उद्योग छन्। लुम्बिनी प्रदेशमा गहुँको पिठो, वियर, औषधि, सिमेन्ट, कंक्रिट, बिजुलीका तार र केबुल, फलामको छड तथा पत्ति, पशुदाना उत्पादन हुन्छ।
कर्णाली प्रदेशमा चिरेको काठ, प्रशोधित दुध र सुदूरपश्चिम प्रदेशमा गहुँको पिठो, साबुन, चिनी, रोजिन लगायतका वस्तुको उत्पादन हुने गरेको छ।