काठमाडौं। मंगलबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो फेसबुक पेजमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण माग गरिएको विवरण सार्वजनिक गरे।
सामान्यतया मन्त्री किराँती आफूले गरेका नयाँ कामबारे तत्कालै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिहाल्छन्। सूचना दिने र लिनेको हिसाबमा मन्त्री किराँतीको फेसबुक अपडेटको काम निकै सह्रानीय हो।
तर, कुनै विषयको गाम्भिर्यता ध्यानमा नराखी चर्चाका लागि सामाजिक सञ्जालमा तत्कालै र हुबहु राखिएका विषयले उड्डयन सुरक्षालाई नै चुनौती दिइरहेको हुन्छ भन्ने ख्याल यसपालि मन्त्री किराँतीले राखेनन्।
आफ्नो मन्त्रालयमातहत कर्मचारीलाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे हटाउने अधिकार मन्त्रीको हुन्छ। तर, समग्र मुलुकको उड्डयन सुरक्षाप्रति नै अन्तर्राष्ट्रिय जगतमा प्रश्न उठ्ने गरी आपसी विवाद छताछुल्ल बनाउनु भनेको अपरिपक्वताको उदाहरण भएको भन्दै विरोध सुरु भएको छ।
खासगरी मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई सोधेका प्रश्नमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकनलगायत गर्नुपर्ने सम्पूर्ण पूर्वतयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको?, परीक्षण उडान गराइ त्यसको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा ‘एयरबस ३२०’ सिरिजको जहाज उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही के कति कारणले गरेको हो भन्ने विषय गम्भीर भएको लगायत छन्।
स्पष्टीकरण सोधिएका विषय राम्रा भए पनि गोपनियता ख्याल नराखी सोधिनु मन्त्री किराँतीको क्षमतामाथि नै प्रश्नचिह्न भएको आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नेपाल वायुसेवा निगमका एक पूर्वमहाप्रबन्धकले बताए।
‘मन्त्रीजस्तो व्यक्तिले सामाजिक सञ्जालमार्फत नै यस्ता विषय छताछुल्ल पार्दा विदेशी एयरलाइन्स र कुटनीतिक नियोगहरूले समेत नेपालको उड्डयन सुरक्षाका विषयमा गम्भीररूपमा हेर्ने भएकाले मन्त्री किराँतीको यो कदम पूरै केटाकेटीपना हो,’ ती पूर्वमहाप्रबन्धकले क्यापिटल नेपालसँग भने।
प्राधिकरणकै एक पूर्वमहानिर्देशकले उड्डयन सुरक्षाजस्तो गम्भीर विषयलाई मन्त्री किराँतीले फेसबुकमा सार्वजनिक गर्नु गम्भीर गल्ती भएको बताए।
कुनै समस्या भएको भए मन्त्रालयमा गोप्यरूपमा छलफल गर्नुपर्नेमा क्षणिक चर्चाका लागि सामाजिक सञ्जाल प्रयोग गर्दा नियामक निकायको विश्वसनियतामा प्रश्न उठेको ती महानिर्देशकको भनाइ छ।
यता प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई सुरक्षामा आँच आउने खालका कुनै पनि गतिविधि आफूले नगरेको बताए।
‘मन्त्री किराँतीले आफ्नो पदीय हैसियत नै बिर्सिएर प्रचार गर्नुभयो,’ महानिर्देशक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘उड्डयन सुरक्षाजस्तो अतिसंवेदनशील विषयमा मन्त्री किराँतीले गलत प्रचार गरेर अन्तर्राष्ट्रिय जगतमै प्रश्न उठाउने किसिमका प्रचार गरेकाले स्पष्टीकरण दिन आवश्यक छैन। अर्को कुरा, मलाई मन्त्रिपरिषदको निर्णयबाट नियुक्त गरिएकाले मन्त्रीस्तरीय निर्णय मान्न जरुरी पनि छैन।’
यता मन्त्रालयका प्रवक्ता एवं सहसचिव राजेन्द्रकुमार केसीले भने मन्त्री किराँतीको बचाउ गर्दै स्पष्टीकरणपत्र सार्वजनिक गर्नु गलत नभएको बताए।
‘मन्त्रालयले केही विषय बुझ्न र स्पष्ट हुन चाहेकाले महानिर्देशकलाई स्पष्टीकरण सोधिएको हो,’ सहसचिव केसीले क्यापिटल नेपालसँग भने, ‘सार्वजनिक गरिएको पत्रले उड्डयन सुरक्षामा असर पर्छ भन्ने विश्लेषण गर्नु गलत हो।’
मन्त्री किराँतीले नै गरेका थिए पहिलो उडानको स्वागत
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुआन एयरलाइन्सको जहाजलाई पर्यटनमन्त्री किराँती आफैंले स्वागत गरेका थिए।
६ दिनअघि मन्त्री किराँती आफैले सिचुआनको जहाजई सोही विमानस्थलमा स्वागत गरेका थिए। उनले चाहेको भए त्यही बेला क्यालिब्रेसन फ्लाइटको रिपोर्ट नै नआई चीनको जहाजलाई चार्टर उडानका लागि किन अनुमति दिएको भनेर रोक्न सक्थे।
‘तर, अहिले आएर रिपोर्ट नआएको ठाउँमा उडान अनुमति दिएको भन्ने प्रश्न उठाउनु आफैंमा हास्यास्पद विषय हो,’ मन्त्रालयकै एक उच्च अधिकारीले भने, ‘मन्त्रीज्यूको भनाइ र गराइ मेल खाएन। मन्त्रीजस्तो व्यक्ति अलि गम्भीर हुनुपर्याे।’