काठमाडौं। नियामकीय प्रावधानका कारण नयाँ कर्जा प्रवाहमा कठिनाइ भएसँगै नाफामा गम्भीर धक्का लाग्ने भएपछि पुरानो तथा बिग्रिने अवस्थामा पुगेका कर्जा असुलीमा बैंकले सम्पूर्ण शक्ति लगाउन थालेका छन्।
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन कडाईसाथ लागू गरेपछि बैंकले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। बैंकमा दैनिकरूपमा लगानीयोग्य रकम थुप्रिँदै जाने र कर्जा प्रवाह स्थिति ठप्प हुने हुँदा बैंकको नाफा नराम्ररी प्रभावित हुने खतरा बढेको थियो।
बैंकमा तरलता बढ्दा बैंकको खर्च बढ्छ। खर्च बढ्नेबित्तिकै नाफा प्रभावित हुने भएपछि बैंकहरूले आफ्नो शक्ति बिग्रिने अवस्थामा पुगेका कर्जा असुल्नतिर लगाएका छन्।
नेपाल बैंकर्स संघका अनुसार औसत बैंकको निष्क्रिय कर्जा ३ प्रतिशतमाथि छ। कर्जा नियमित नहुनेबित्तिकै बैंकले आफ्नो नाफाबाट ‘प्रोभिजन’ गर्नुपर्छ। एकातिर कर्जा नउठ्ने र अर्कातिर नाफाको रकम प्रोभिजनमा राख्नुपर्ने दोहोरो नोक्सान बैंकहरूलाई भइरहेको थियो।
अहिले बैंकले कर्जा दिन नसकिरहेका बेला पुरानो कर्जा उठ्तीमा भित्रभित्रै ‘स्किम’ ल्याइरहेका छन्। खासगरी क्रोनिक भइसकेको ऋणसन्दर्भमा बैंकले ५० प्रतिशतसम्म ब्याज मिनाहा सुविधा ल्याएका छन्।
कोही ऋणीले ब्याजवापत ५० करोड रुपैयाँ तिर्नुपर्ने थियो भने बैंकले २५ करोड तिरे हुने गरी स्किम सार्वजनिक गरेको एक बैंकरले जानकारी दिए।
खराब कर्जा बैंकको टाउको दुखाइ बन्दै गइरहेको छ। व्यक्तिगत सम्बन्धका कारण बैंकका उच्च तहमा बस्ने कर्मचारीले ऋण दिने र पछि त्यही ऋण बिग्रिएको अवस्था केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले फेला पारेको थियो।
बैंकले ऋणीको ऋण तिर्न सक्ने अवस्था मूल्यांकन गरेर ऋण दिनुपर्नेमा नातागोता, साथीभाइ भनेर ऋण दिएको समेत फेला पारेको थियो। केन्द्रीय बैंकले पनि बैंकका उच्च तहमा बस्ने कर्मचारीको मिलेमतोमै धेरै कर्जा निष्क्रिय कर्जामा परिणत भएको फेला पारेको थियो।
केन्द्रीय बैंकले कर्जा गुणस्तर सुधार्न र कर्जा सही ठाँउमा प्रयोग होस् भनेर चालू पुँजी कर्जा मार्गदर्शन ल्याएको छ। त्यही भएर अन्धाधुन्ध कर्जा प्रवाह हुने बाटो बन्द भएको बैंकरहरू बताउँछन्।
तर, यही मौकामा बैंकहरूले पुरानो तथा बिग्रिएको कर्जा उठाउनतिर लागेका छन्। वाणिज्य बैंकले ४३ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकमा छ। त्यसको ३.०३ प्रतिशत कर्जा निष्क्रियमा परिणत भएको हो। त्यो भनेको १ खर्ब ३० अर्ब २९ करोड रुपैयाँ हुन आउँछ।
एक बैंकरका अनुसार ५० प्रतिशतसम्म ब्याज छुटबाट आधा रकममात्रै उठ्यो भने पनि ६५ अर्बहाराहारी असुली हुनसक्छ। त्यसबाट बैंकलाई दोहोरो फाइदा हुन्छ। पहिलो उक्त कर्जावापत राखेको प्रोभिजन नाफाका रूपमा गणना गरेर वितरण गर्न पाइयो। अर्को कर्जा असुली भयो र बैंकको खराब कर्जा प्रतिशत पनि घट्छ।