काठमाडौं। पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा १ सय ६४ मेगावाटबराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ।
निजी क्षेत्रको ऊर्जा उत्पादक संगठन स्वतन्त्र ऊर्जा उत्पादन संस्था नेपाल (इपान) ले बाढीपहिरोका कारण कूल ४ सय ६३ मेगावाट क्षमताका ३० आयोजनामा आठ अर्ब ५० करोड रुपैयाँबराबरको प्रारम्भिक क्षति भएको जानकारी दिएको छ।
हाल प्राधिकरणको प्रणालीमा विभिन्न १० आयोजनाका बिजुली उपलब्ध हुन सकेको छैन। त्यसबाट प्राधिकरणलाई बिजुली व्यवस्थापनमा समेत समस्या हुने गरेको छ।
प्राधिकरणका अनुसार काबेली करिडोरका काबेली ‘बी’ एक २५ मेगावाट, काबेली ‘बी’ एक क्यासकेड नौ दशमलव ९४ मेगावाट, इवा खोला नौ दशमलव नौ मेगावाट, हेवा खोला १४ दशमलव नौ मेगावाट र तल्लो हेवा २२ मेगावाट बराबरको बिजुली प्रणालीमा आउन सकेको छैन। ती आयोजनाको कूल क्षमता ८१ दशमलव ७४ मेगावाट छ।
त्यस्तै, एउटा युनिटमा समस्या आएका कारण ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला आयोजनाबाट तीन दशमलव ७५ मेगावाटमात्रै बिजुली प्रणालीमा जोडिएको छ। ‘सिङ्क्रोनाइजिङ ब्रेकर’मा समस्या आएका कारण सोलु दूधकोशी जलविद्युत आयोजनाले पनि पूर्णक्षमतामा बिजुली उत्पादन गर्न सकेको छैन।
सो आयोजनाको कूल क्षमता ८६ मेगावाट भए पनि हाल २८.६ मेगावाटमात्रै प्रणालीमा उपलब्ध रहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ। दोर्दी करिडोरको सुपर दोर्दीले पनि कूल क्षमताको पचास प्रतिशतमात्रै बिजुली उत्पादन गरेको छ। सो आयोजनाको कूल क्षमता ५४ मेगावाट भए पनि हाल २७ मेगावाटमात्रै बिजुली उत्पादन गरिरहेको छ।
दोर्दी आयोजनाले १८ मेगावाटमात्रै बिजुली प्रणाली पठाइरहेको छ। सो आयोजनाको क्षमता २७ मेगावाट हो। पाँच मेगावाट क्षमताको घलेम्दीको ‘पेनस्टक पाइप’मा समस्या आएकाले हाल प्रणाली बाहिर छ।
प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले पूर्वी नेपालका परियोजना बन्द हुँदा त्यसको व्यवस्थापनका लागि माथिल्लो तामाकोशी र सोलु करिडोरका अन्य आयोजनाको बिजुली पूर्वी नेपालतर्फ पठाइएको जानकारी दिए।
बाढीपहिरोका कारण आयोजना पूर्णरुपमा बन्द हुँदा त्यसको व्यवस्थापनका लागि प्राधिकरणलाई केही समस्या भए पनि वर्षाका कारण अन्य आयोजनामा उलेख्य मात्रामा बिजुली उत्पादन भएकाले समस्या नभएको उनको दाबी छ। विद्युत खरिद सम्झौताअनुसार नै केही आयोजनालाई कम भारमा आयोजना चलाउन भनिएको प्रवक्ता भट्टराईको भनाइ छ।
‘निजी उद्यमीले भने जस्तो होइन, केही आयोजनालाई विद्युत खरिद सम्झौता अनुसार नै भनिएको हो,’ प्रवक्ता भट्टराईले भने, ‘आवश्यक पर्दा पूर्ण क्षमतामा नै चलाउन भनिएको छ। यो बारेमा पनि उहाँहरूले भनिदिनुपर्छ।’
इपानका अध्यक्ष गणेश कार्कीले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५ सय मेगावाटबराबरको विद्युत खेर गएको आरोप लगाए। प्रवर्द्धनहरूले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ।
हाल देशभित्रको कूल माग १ हजार ८ सय ८१ मेगावाट छ। यस्तै वर्षालगायतका कारणले ४ सय मेगावाट घन्टा ऊर्जा भने उपलब्ध हुनसकेको छैन। हाल निजी उद्यमीका आयोजनाबाट २२ हजार ७ सय ५० मेगावाट घन्टाबराबरको बिजुली उपलब्ध छ।