काठमाडौं। नेपाल र भारतबीच एक साताभित्र १० हजार मेगावाट विद्युत निर्यातको सम्झौता हुने भएको छ। विद्युत व्यापार सम्झौताका लागि दुई देशबीच आन्तरिक तयारी भइरहेको छ।
आन्तरिक तयारी पूरा भएपछि दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्न व्यापार सम्झौता हुने ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताए। ‘आउँदो एक साताभित्र १० हजार मेगावाट विद्युत व्यापार हुने गरी काम अघि बढाएका छौं, दुवै देशको मन्त्रिपरिषदबाट पास भएपछि सचिवस्तरीय सम्झौता हुनेछ’ उनले भने।
नेपालका ऊर्जा सचिव र भारतको ऊर्जासचिवले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। ‘मिति र स्थान निश्चित भएको छैन। तर, एक साताभित्र सम्झौता गर्ने तयारीमा छौं’ ऊर्जा सचिव घिमिरेले क्यापिटल नेपालसँग भने ‘सम्झौता काठमाडौं वा नयाँदिल्ली जहाँ पनि हुन सक्नेछ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १८ गते भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रारम्भिक सहमतिमात्र भएको थियो। यसलाई मूर्तरूप दिन अन्तिम सम्झौता हुन लागेको उनले जानकारी दिए।
अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन सम्झौतामार्फत हुने भएको छ। यसबाट ऊर्जा उद्यमीलाई पनि राहत मिल्ने छ।
त्यसबेला प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदी दुवैले बिजुली व्यापारसम्बन्धी दीर्घकालीन विषयमा सहमति भएको जानकारी गराएका थिए।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोेदीले संयुक्तरूपमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा फूकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजना अगाडि बढाउने सहमतिले नेपालको बिजुली अन्तरराष्ट्रिय बजार खोजीका लागि मार्गप्रशस्त भएको छ।
‘पछिल्ला वर्ष हामीले ऊर्जा क्षेत्रमा सहयोगका लागि एक ‘ल्यान्डमार्क भिजन’ दस्तावेज बनाएका छौं। यसलाई अगाडि बढाएर नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौता (लङट्रम पावर ट्रेड एग्रिमेन्ट) सम्पन्न भएको छ’, भारतीय समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए।
यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत आयात गर्ने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले घोषणा गरेका थिए। फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत परियोजना निर्माण सम्झौताबाट विद्युत क्षेत्रमा सहयोगका लागि बल मिलेको उनको भनाइ थियो।
दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमतिले नेपालको ऊर्जा व्यापारमा भारतीय लगानी विस्तार हुने विश्वास लिइएको छ। केही रणनीतिक महत्वका आयोजना अगाडि बढेको खण्डमा व्यापार घाटा कम गर्न, रोजगारीको अभिवृद्धि गर्न तथा विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
अहिले नेपाल विद्युत प्राधिकरणले वर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी खुल्ला बजारमा विद्युत निर्यात गर्दै आएको छ। इन्डियन एक्सचेन्ज मार्केट (आइएक्स) मा एक दिनअघि बिजुली कारोबार हुँदै आएको छ।
यसअघि गत वर्षामा विद्युत प्राधिकरणले खुला बजारमा ४ सय मेगावाटसम्म बिजुली भारतमा बिक्री गरेको थियो। प्राधिकरणले ११ अर्ब रुपैयाँको बिजुली भारतमा निर्यात गरेको थियो। यो बर्खामा पनि विभिन्न १० आयोजनाको ४ सय ५२ मेगावाटसम्म विद्युत निर्यात गरेको थियो।
यसवर्ष १ हजार २ सय मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य भए पनि भारतले प्रस्तावित आयोजनाको स्वीकृति दिन ढिलाइ गर्दा अनिश्चितता देखिएको छ। दीर्घकालीन सम्झौताले नेपालको ऊर्जा बजारको खोजी तथा निजी उद्यमी व्यवसायीलाई पनि थप सहज बनाइदिएको छ।