काठमाडौं। हेलिकोप्टर उडान गर्न पर्याप्त स्वदेशी पाइलट नहुँदा वर्षेनि विदेशी पाइलट ल्याउनुपर्ने बाध्यता कम्पनीहरूमा छ। जहाज उडाउन पर्याप्त पाइलट रहे पनि हेलिकोप्टरमा भने अभाव झेल्दै आउनुपरेको छ।
पछिल्लो समय हेलिकोप्टर कम्पनी खुल्ने क्रम तीव्र भएसँगै त्यसका लागि आवश्यक पाइलट अभाव हुन थालेको हो। त्यतिमात्र होइन, हेलिकोप्टरमा कोपाइलटसमेत न्यून संख्यामा छन्। जसका कारण पाइलट बन्न समय लाग्ने भएकाले अभाव भइरहेको अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले जानकारी दिए।
’अहिलेकै अवस्थामा मलाई दुईजना पाइलट चाहिएका छन्,‘ प्रबन्ध निर्देशक शेर्पाले क्यापिटल नेपालसँग भने, ‘नेपाली पाइलट पर्याप्त नभएकैले विदेशी लिनुपर्ने बाध्यता हुन्छ।’
अहिले १२ वटा हेलिकोप्टर कम्पनीसँग करिब २५ पाइलट छन्। तर, हेलिकोप्टरको संख्या भने ३१ थान छ। पाइलटको यो संख्या हेलिकोप्टरको तुलनामा न्यून हो।
सामान्यता दुईवटा हेलिकोप्टरका लागि चारजना, तीनवटालाई पाँचजना र चारवटाका लागि ६ देखि सात पाइलट राख्नुपर्ने हुन्छ। तर, पर्याप्त पाइलट नहुँदा कम्पनीहरूले वर्षेनि विदेशी पाइलटलाई ल्याउनुपर्ने बाध्यता बेहोर्दै आएका छन्। अहिलेको अवस्थामा ५० देखि ६० जना पाइलट कम्पनीलाई आवश्यकता पर्छ।
एउटै पाइलटले दैनिक सात घन्टा र साताको ६ दिनमात्र उडान गर्न पाउँछन्। त्यसअनुसार बिहान ६ देखि १ बजेसम्म र २ बजेदेखि अर्को पाइलटले अनिवार्य हेलिकोप्टर उडान गर्नुपर्छ। त्यसका लागि पनि एउटा हेलिकोप्टरका लागि दुई पाइलटको आवश्यकता पर्छ। तर, कतिपय कम्पनीले एकमात्र पाइलट राखेर जहाज उडान गर्दै आएका छन्। जुन हवाई सुरक्षाविपरीत हो।
अधिकांश हेलिकोप्टर कम्पनीसँग पर्याप्त पाइलट नहुँदा सिजनमा विदेशी पाइलट ल्याउने गरेका छन्। विदेशी पाइलट पनि नेपालमा सेवा सुविधाभन्दा यहाँको प्रकृतिसँग रमाउँदै उडानका लागि खुसी हुने भएकाले सहजै आउने गरेका छन्।
हिमाली भेगमा हेलिकोप्टर उडाउन विदेशी पाइलट लालायित हुने भएकाले पनि महँगो पारिश्रमिक लिँदैनन्। नेपाली पाइलटसरह नै सेवासुविधा लिने र ६ महिनामात्र तलब दिँदा हुने भएकाले कतिपय कम्पनीको रोजाइमा विदेशी पर्ने गरेका छन्।
अहिले वर्षेनि १० देखि १२ विदेशी पाइलटले नेपाल आएर उडान गर्दै आएका छन्। अहिले हेली एभरेस्ट, अल्टिच्युड एयर, कैलाश हेलिकोप्टर, एयर डाइनेस्टी, सिम्रिक एयरलगायत कम्पनीले विदेशी पाइलट राख्दै आएका छन्।
नौ कोपाइलट
हाल विभिन्न हेलिकोप्टर कम्पनीमा नौजना मात्र कोपाइलट आबद्ध छन्। जहाजमा जसरी हेलिकोप्टर कम्पनीमा कोपाइलट उत्पादन न्यून भएको देखिन्छ। खासगरी एकजना पाइलटका भरमा हेलिकोप्टर उडान गर्ने भएकाले पनि पाइलट उत्पादनमा ढिलाइ भएको कम्पनीहरू बताउँछन्।
एउटा पाइलट तयार हुन ६ सय घन्टा उडान गर्नुपर्छ र प्रशिक्षक पाइलटसँग १ सय घन्टा उडान गरेको हुनुपर्छ।
यसरी समग्रमा ७ सय घन्टा हेलिकोप्टर उडान लागि ५ देखि ६ वर्षसम्म लाग्छ। त्यो बेलासम्म १० देखि १२ नेपाली पाइलट अवकास पाइसकेका हुन्छन्।
हेलिकोप्टर पाइलटको उमेर हद ५८ वर्ष तोकिएको छ। त्यसैले अहिले भएका नौ कोपाइलट तयार हुँदा पनि नेपाली पाइलटको अभाव कायमै रहने देखिएको एक वरिष्ठ पाइलटले बताए।