काठमाडौं। कर्मचारी सञ्चय कोषलाई ब्याजदर घटाउन दबाब परेको छ। सञ्चय कोषले गठन गरेको समितिले १.५ प्रतिशत ब्न्दिु ब्याजदर घटाउन सिफारिस गरेको छ।
सञ्चय कोष लगानी विभागका प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा गठन भएको अध्ययन समितिले सञ्चयकर्ताको निक्षेप र कर्जाको ब्याजदर १.५ प्रतिशत ब्न्दिुसम्म घटाउन सिफारिस गरेको हो।
सञ्चयकर्तालाई निक्षेप र कर्जा दुवैमा दिने ब्याजदर घटाउन समितिले सिफारिस गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताए।
सञ्चय कोष सञ्चालक समितिले अनुमोदन गरेपछि मात्र समितिले गरेको सिफारिस कार्यान्वयनमा आउने उनले जनाकारी दिए। सञ्चय कोषले आगामी नयाँ आर्थिक वर्ष साउन १ देखिमात्र नयाँ ब्याजदर लागू गर्ने छ।
बजार अवस्था हेरेर समितिले ब्याजदर घटाउन सिफारिस गरेको कोषका प्रशासक धितालको भनाइ छ। संस्थागत निक्षेपको ब्याजदर घटेका कारण सञ्चय कोषलाई अहिले दबाब छ।
नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले घटाएपछि यसको असर सञ्चय कोषलाई पर्दै आएको छ।
बैंकहरूमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएकाले ब्याजदर कम हुने अनुमान कोषको छ। बैंकिङ प्रणालीमा ३ खर्ब ६० अर्ब रुपैयाँ अधिक तरलता छ। यस्तै कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८३.९० प्रतिशत छ। यसको अर्थ बैंकहरूमा तरलता अधिक भन्ने हो। अन्तर बैंक ब्याजदर ३.१० प्रतिशत छ। बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै आएको छ।
२०७९ साउन १ बाट लागू हुने गरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएको थियो।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएर ८ प्रतिशत पुर्याएको थियो। सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ।
सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ।
यस्तै जग्गा खरिद र सरल चक्र कर्जामा १०.२५ प्रतिशत कायम भएको छ। कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत छ। सञ्चय कोषमा ६ लाख सञ्चयकर्ता आबद्ध छन्।