काठमाडौं। आयकर ऐन २०५८ मै नभएको व्यवस्था आर्थिक ऐनमा राखेर सरकारले एकापसमा गाभिने (मर्ज) तथा प्राप्ति (एक्विजिसन) मा कर लगाउन खोजेको छ।
कम्पनी मर्ज तथा प्राप्तिमा कर लाग्ने व्यवस्था आयकर ऐनमा नभएको कानुन व्यवसायी अञ्जन न्यौपाने बताउँछन्।
‘आयकर ऐनको कुनै पनि दफा तथा उपदफामा मर्ज तथा एक्विजिसनमा कर लाग्ने व्यवस्था छैन,’ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘प्रिमियमा प्राथमिक सेयर (आइपिओ) तथा थप निष्कासन (एफपिओ) का सवालमा कानुनी अस्पष्ट छ, तर मर्ज तथा एक्विजिसनमा त कर लाग्ने व्यवस्था नै छैन। तर, सरकारले कानुनविपरीत जबर्जस्ती आर्थिक ऐनमा राखेको छ।’
उनका अनुसार सरकारले आर्थिक ऐनमार्फत एफपिओ, प्रिमियममा सेयर बिक्री र मर्ज तथा एक्विजिसनमा कर लगाउने उल्लेख गरेको छ। आयकर ऐनमा एफपिओ र आइपिओमा कर लगाउने व्यवस्था नगरेको उनको तर्क छ।
‘एफपिओ र आइपिओ विशुद्ध लगानी हो। आय होइन। कम्पनीले वस्तु तथा सेवा बिक्री गरेर प्राप्त गरेको आम्दानी होइन। त्यो रकम क्यापिटल एकाउन्टमा आएर बस्छ। त्यो अवस्थासम्म कर नलाग्ने अन्तर्राष्ट्रिय प्रावधान हो,’ उनले भने, ‘अहिले पनि सरकारले त्यसमा कर लाग्छ भनेजस्तो लाग्दैन। तर, त्यो रकम वितरण भयो कि भएन भन्ने विषय मुख्य कुरा हो। आयकर ऐनको दफा ५६ का उपदफा ३ ले कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशका रूपमा नाफाबाहेक लाभांश वितरण गरे लाभांश रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नुपरेको छ भन्ने व्यवस्था छ।’
एफपिओ र आइपिओ कम्पनीको नाफा होइन। नगदमा लाभांश वितरण नगरी बोनस सेयर दिएका कारण यसमा कर नलाग्ने उनको भनाइ छ। यद्यपि, आयकर ऐनमा बोनस सेयर वितरण गर्दा लाभांशलाई रकम भन्ने कि नभन्ने भन्ने प्रश्न छ। 'आयकर ऐनले रकम भनिरहेको छ। बोनस सेयर रकम होइन,’ उनले भने, 'तर, त्यसमा अदालतले व्याख्या गर्ने ठाउँ छ।'
बोनस सेयर बाँड्दा ५ प्रतिशत कर तिरिसकेको हुन्छ। लाभांश रकम भनेर तोकेको अवस्थामा बोनस सेयरमा कर लाग्दैन भन्ने देखिन्छ। बोनस सेयर बेच्ने बेलामा कर लाग्छ। बोनस सेयर पाउँदा पनि ५ प्रतिशत कर तिरेको हुन्छ भने त्यो सेयर बेच्दा पनि ५ प्रतिशत नै कर लाग्छ।
त्यही भएर पहिल्यै कर लगाउनुपर्ने भनेर आयकर ऐनले बोलेको छैन। यद्यपि, आयकर ऐनमा व्याख्या भने गर्नुपर्ने देखिएको उनको भनाइ छ।
‘मर्ज र एक्विजिसन सवालमा त कुनै हालतमा कर लगाउन मिल्दैन,’ उनले भने, ‘एकाउन्टिङ पोलिसीबाट कर उठाउने भन्ने संसारभरि अभ्यास हुँदैन। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले जारी गरेको एकाउन्टिङ गाइडलाइन्सअनुसार कर उठाउन मिल्दैन।’
उनका अनुसार मर्ज तथा एक्विजिसनमा कर लगाउने आयकरमा कुनै प्रावधान छैन। मर्ज तथा एक्विजिसनमा त छँदै छैन। आयकर ऐनमा नभएको व्यवस्था आर्थिक ऐनमा राखिएको छ।