काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अंकले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार ६ सय ८७ कित्ता सेयर पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ रुपैयाबराबरको कारोबार भएको छ। सोल्टी होटल २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी २२ करोड ३७ लाख ९९ हजार ७ सय १९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ करोड ४९ लाख ९६ हजार चार सय ६४ र नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ८६ लाख ३९ हजार तीन सय २६ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटलको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै, सिभिल लघुवित्त नौ दशमलव ९७ र माउण्टेन इनर्जी नेपालले शेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेको छ।
सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ६ दशमलव ९४, विन नेपाल लघुवित्तको ६ दशमलव २५, मोलुङ हाइड्रोपावरको ५ दशमलव १९, कालिञ्चोक दर्शन चार दशमलव ३९ र ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य ४ दशमलव १० प्रतिशतले घटेको छ।