अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीमाथि १ करोड ४४ लाख ११ हजार भ्रष्टाचार गरेको भन्दै सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो।
सेवा प्रवेश गरेको मिति २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको मिति २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत निज र निजको परिवारको बैंक खातामा रहेको मौज्दात रकम अस्वाभाविक देखिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा छ।
ढकालको पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, सेयर बिकीबाट प्राप्त रकम र विभिन्न व्यक्तिहरूसँग लिएको व्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत ६ करोड ३९ लाख रुपैयाँ देखिएको अख्तियारले जनाएको छ। औषधि उपचारमा भएको खर्चसमेत गरी जम्मा ७ करोड ८४ लाख रुपैयाँ खर्च भएको देखिँदा वैधानिक श्रोत खुल्न नसकेको अख्तियारको दाबी छ।
सार्वजनिक पद धारण गरेका निज प्रदीप ढकालले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिनुका साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसा कमाएको दाबी गरिएको छ।