काठमाडौं। यातायात व्यवस्था विभागले ‘राइड सेयर’ गर्ने व्यक्तिले ‘साइडकार’ भएका मोटरसाइकलमा सेवा दिन सक्ने निर्देशिका बनाउन लागेको छ।
विभागले बनाएको ‘सार्वजनिक यातायातमा प्रयोग हुने दुईपांग्रे सवारीको नियमनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८०,’ को खाकामा साइडकार जडान गरिएको दुईपांग्रे सवारीसाधन पनि सेवादाता सवारीसाधनका रूपमा परिभाषित गरेको छ।
यो निर्देशिका स्विकृत भएको खण्डमा राइडरले साइडकार जडान गरेर त्यसको पनि लाभ लिन सक्नेछन्। साइडकार भनेकाे माेटरसाइकलकाे दायाँपट्टि यात्रु बाेक्न जडान गरिएकाे सिटसहितकाे खण्ड हाे।
निर्देशिका लागू भएपछि राइड सेयर दिने सवारीसाधन यातायात सेवा दिने सवारी सम्बन्धित कार्यालयमा सार्वजनिक सवारीका रूपमा दर्ता भएको हुनुपर्ने छ।
यस्तो हुनेछ सवारीसाधनको मापदण्ड
पेट्रोलबाट चल्ने सवारीका हकमा इन्जिनको न्यूनतम विस्थापन आयतन १ सय सिसी हुनुपर्ने छ। त्यस्तै विद्युतीय शक्तिबाट चल्ने सवारीका हकमा जडित मोटरको रेटेड पावर न्यूनतम १.५ किलोवाट हुनुपर्ने छ।
त्यसैगरी सवारीसाधनमा दुरीमापक यन्त्र (ओडोमिटर) जडान भएको हुनुपर्ने छ भने यात्रीका लागि पछाडिपट्टि वा दायाँ वा बायाँतर्फ स्थायी ह्यान्ड ग्रिप जडान भएको हुनुपर्ने छ।
त्यस्तै मोटरसाइकलका हकमा यात्रीका कपडा चक्कामा अल्झिनबाट जोगाउन पछाडिको चक्काको बायाँपट्टि कम्तीमा ५० प्रतिशत भाग ढाकिने गरी सुरक्षा छेकबार जडान भएको हुनुपर्ने र २०८१ साउन १ पछि दर्ता सवारीका हकमा अनिवार्य ‘एन्टिलक ब्रेकिङ’ वा ‘कम्बिनेसन ब्रेकिङ’ प्रणाली जडान भएको हुनुपर्ने निर्देशिकाको खाकामा उल्लेख छ।
सेवा पञ्जिकृत भई अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने
निर्देशिकाको खाकाअनुसार यातायात सेवा प्रदान गर्न चाहने सेवा प्रदायकले सम्बन्धित कार्यालयमा पञ्जिकृत भई यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने छ।
त्यस्तै कसैले (संग्रहक) आफ्नै सवारी राखी यातायात सेवा सञ्चालन गर्न चाहे सेवा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गर्न सक्ने निर्देशिकामा उल्लेख छ।
संग्रहकका रूपमा काम गर्न चाहने कम्पनी, फर्म वा संस्थाले सम्बन्धित प्रदेश सरकारले तोकेको निकायबाट संग्रहक सेवा सञ्चालन गर्ने इजाजतपत्र प्राप्त गर्नुपर्ने छ।
आफ्नै अनुप्रयोग (प्रविधि) सञ्चालन गरी सेवा दिन चाहने सेवा प्रदायकले समेत उपदफा (१) बमोजिम निकायबाट अनुप्रयोग सञ्चालन इजाजतपत्र प्राप्त गर्नुपर्नेछ।
निर्देशिका लागू हुनुपूर्व नै संग्रहक सेवा सञ्चालन गरिरहेका कम्पनी, फर्म वा संस्था वा आफ्नै अनुप्रयोगमार्फत यातायात सेवा सञ्चालन गरिरहेका सेवाप्रदायकले समेत यो निर्देशिका जारी भएको मितिबाट ६ महिनाभित्र इजाजतपत्र प्राप्त गरी सक्नुपर्ने छ।
संग्रहक सेवाको इजाजतपत्र र अनुप्रयोग सञ्चालन इजाजतपत्र जारी, नवीकरण, निलम्बन, खारेजी र इजाजतपत्रका लागि लाग्ने दस्तुरलगायत व्यवस्था प्रदेश सरकारको सम्बन्धित निकायबाट तोकिए बमोजिम हुने निर्देशिकामा उल्लेख छ।
सेवादाताले अफलाइनमा सेवा दिन भने पाउने छैनन्। सेवादाताले आफ्नै वा संग्रहकको अनुप्रयोगमार्फत यातायात सेवा सञ्चालन गर्नुपर्ने छ।
तर, विशेष अवस्थामा कुनै यात्रीले अनुप्रयोग प्रयोग गर्न नसक्ने अवस्था भई त्यस्तो यात्रीलाई सेवा दिनुपरेमा सम्बन्धित चालकले त्यस्तो यात्रीको आवश्यक विवरण अनुप्रयोगमा प्रविष्टि गरेरमात्र सेवा दिनुपर्ने निर्देशिकामा उल्लेख छ।
त्यस्तै यात्रीको नाम, चालकको नाम तथा सम्पर्क नम्बर, सेवा प्रदायकको नाम, सवारी दर्ता नम्बर, यात्रा दुरी र लाग्ने भाडासम्बन्धी विवरण उल्लेख गरिएको सम्बन्धित चालकद्वारा हस्ताक्षर गरिएको पर्ची यात्रीलाई दिनुपर्ने छ।
यस्तो हुनुपर्ने छ एपको विशेषता
निर्देशिकाअनुसार यातायात सेवा सञ्चालनका लागि सेवा प्रदायक वा संग्रहकले प्रयोग गर्ने अनुप्रयोग र त्यससँग सम्बन्धित सूचना प्रविधि प्रणाली स्वीकृति प्राप्त साइबर सेक्युरिटी फर्म वा कम्पनीबाट अनुप्रयोगको सुरक्षा पक्षसम्बन्धमा जारी भएको प्रमाणपत्र हुनुपर्ने छ।
त्यस्तै नेपाली र अंग्रेजी भाषामा बुझ्न र प्रयोग गर्न सकिने यात्री इन्टरफेस तथा सेवा सञ्चालनका क्रममा सिर्जित तथ्यांक तथा विवरणको भण्डारण गर्ने गरी नेपालमै सञ्चालन भएको सर्भर हुनुपर्ने छ।
सेवा प्रदायक कम्पनीले यात्री आफूले यात्रा सुरु गर्न चाहेको प्रस्थान बिन्दु तथा गन्तव्यसम्बन्धी विवरण प्रविष्टि गरेपछि उपलब्ध हुनसक्ने सवारी तथा चालक, यात्रा दुरी र लाग्ने भाडासम्बन्धी विवरण पारदर्शीरूपमा अनुप्रयोगमा देखिने व्यवस्था हुनुपर्ने छ।
निर्देशिकाअनुसार यात्राका लागि यात्रीले स्वीकार गरेको सवारी तथा त्यसको चालकसम्बन्धी फोटोसहितको विवरण यात्रीले सजिलै हेर्न सक्ने गरी एपमा देखिने व्यवस्था हुनुका साथै सेवा प्रदायक वा संग्रहकसँग वा स्वीकृत सवारीको चालकसँग यात्रीले सोझै सम्पर्क गर्नसक्ने सुविधा हुनुपर्ने छ।
यात्रुले आफ्नो स्थिति तथा यात्रा गरिरहेको बाटा (रियल टाइम) वास्तविक समयमा आधारित रही आफ्नो दूरसञ्चार उपकरणमार्फत अरू कसैसँग साझेदारी गर्न मिल्ने सुविधा कम्पनीले व्यवस्था गर्नुपर्ने छ।
एकपटकमा १५ किलोमिटर, दिनमा १२ घन्टा
निर्देशिकाअनुसार कुनै यात्रीलाई सेवा दिँदा सवारीले बाटो इजाजत पाएको सञ्चालन क्षेत्रभित्र एकपटकमा प्रस्थान बिन्दुदेखि गन्तव्य बिन्दुसम्म बढीमा १५ किलोमिटरको दुरीसम्म सेवा दिन पाउने छ।
त्यस्तै यातायात सेवामा सञ्चालन हुने कुनै सवारी चालकले एक दिनको अवधिमा पटक–पटक वा एकैपटक गरी १२ घन्टाभन्दा बढी समय काम गर्न नपाउने निर्देशिकाको खाकामा उल्लेख छ।
तर, सवारी चालक अनुमतिपत्र प्राप्त गरी कम्तीमा एक वर्ष परीक्षणकाल पूरा नगरेको व्यक्ति यातायात सेवामा सवारी चालकका रूपमा काम भने पाउने छैनन।
त्यसैगरी सेवा प्रदायकले आफ्ना प्रत्येक सवारी चालकका लागि सेवा प्रदायकको नाम तथा ठेगाना, चालकको पूरा नाम थर, ठेगाना, सम्पर्क फोन नम्बर, नागरिकता प्रमाणपत्र नम्बर तथा जारी भएको जिल्ला, रक्त समूह र परिचयपत्र बहाल रहने अवधि उल्लेख गरिएको फोटोसहितको परिचयपत्रको व्यवस्था गर्नुपर्ने छ।
त्यस्तै सेवा प्रदायकको नाम वा लोगो रात्रि समयमा समेत प्रकाश परावर्तनका माध्यमबाट प्रष्ट बुझिने गरी अगाडि र पछाडिसमेत अंकित भएको मौसमअनुसार टिसर्ट, सर्ट वा ज्याकेट सेवा प्रदायकले चालकलाई पोसाक उपलब्ध गराउनुपर्ने छ र चालकले यातायात सेवा दिँदा उक्त पोसाक अनिवार्य लगाउनुपर्ने छ।
त्यसैगरी सेवा प्रदायकले सेवामा प्रयोग हुने प्रत्येक सवारीका हकमा ऐनमा व्यवस्था भएअनुसार सवारी बिमा, चालक बिमा, यात्री बिमा, यात्री गुन्टा बिमा र तेस्रो पक्ष बिमा गराएको हुनुपर्ने छ निर्देशिकामा उल्लेख छ।
निर्देशिकाअनुसार १० वर्ष उमेर नपुगेका बालकबालिकालाई सवारीमा यात्रीका रूपमा चढाइ सेवा दिन नहुने र चालक तथा सवारीमा सवार यात्री दुवैले अनिवार्य हेल्मेट लगाउनुपर्ने छ।
आधिकारिक निकायले नै भाडा तोक्ने
निर्देशिकाको खाकाअनुसार यातायात सेवाको आधार भाडादर सम्बन्धित प्रदेश सरकार वा स्थानीय सरकारको आधिकारिक निकायले तोकेबमोजिम हुनेछ। निर्धारित यात्रा सुरु हुनुअघिको सम्भावित निष्क्रिय दुरी वा प्रतीक्षा समयसमेत परिपूर्ति गर्न जतिसुकै कम दुरीको यात्रा भए पनि तीन किलोमिटर दुरीबराबर न्यूनतम आधार भाडा आकर्षित हुनेछ।
यात्रीले यात्रा गर्न चाहेको बाटोको दुरी र उक्त बाटोमा यातायात सेवाको माग तथा आपूर्तिको अवस्थाका आधारमा पूर्वनिर्धारित अल्गोरिदमअनुसार आधार भाडादरको ५० प्रतिशत देखि १ सय ५० प्रतिशतसम्म हुन आउने दरले हिसाब गरी प्रणालीबाट गतिशीलरूपमा यात्राको भाडा निर्धारण हुनसक्ने छ।
सेवा प्रदायकले जम्मा भाडाको न्यूनतम ८० प्रतिशत रकम प्राप्त गर्ने छ र सम्बन्धित संग्रहकले बाँकी २० प्रतिशतसम्म रकम प्राप्त गर्ने छ तर सेवा प्रदायकले आफ्नै अनुप्रयोग सञ्चालन गरी यातायात सेवा दिएको वा संग्रहकर्ताले आफ्नै सवारी सञ्चालन गरी यातायात सेवा दिएको खण्डमा सम्बन्धित सेवा प्रदायक वा संग्रहकर्ताले भाडावापत सम्पूर्ण रकम प्राप्त गर्ने छ।
यो निर्देशिकामा प्रदेश सरकारले थप व्यवस्था गर्नसक्ने छ। प्रदेश सरकारले तोकेको निकायले निर्देशिकाका प्रावधानविपरीत नहुने गरी थप कार्यविधि वा निर्देशिका बनाइ लागू गर्नसक्ने निर्देशिकामा उल्लेख छ।