काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालसम्म १४ कानुन मन्त्रालयमा तर्जुमाको सूचीमा रहेको जानकारी दिएको छ। मन्त्रालयले विचाराधिन र छलफलका क्रममा रहेका जम्मा १४ वटा कानुन आफ्नो मन्त्रालयमा तर्जुमाको सूचीमा रहेको जानकारी दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका अनुसार सञ्चार मन्त्रालयअन्तर्गतको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक’ तर्जुमाको तयारीमा रहेको छ। जुन संघीय संसदमा विचाराधिन अवस्थामा छ।
मन्त्रालयअन्तर्गतको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ पनि संघीय संसदमा विचाराधिन छ भने सोही मन्त्रालयअन्तर्गतको ‘सूचना प्रविधिसम्बन्धी विद्येयक’ संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा पेस भई फिर्ता भएर हाल सूचना प्रविधि विभागबाट सुझावसहित प्राप्त सञ्चार मन्त्रालयमा छलफलका क्रममा छ।
यसको साथै ‘आमसञ्चारसम्बन्धी विद्येयक, २०८०’ आमसञ्चार क्षेत्र सुधार समितिबाट प्रतिवेदन प्राप्त भई सञ्चार मन्त्रालयमा नै छलफलका क्रममा छ भने ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन गर्न र नियमन गर्न बनेको विद्येयक’ चलचित्र विकास बोर्डमा सुझावसहित प्राप्त भई सोही मन्त्रालयमा नै छलफलका क्रममा छ।
यसका साथमा हुलाक सेवा विद्येयक, दूरसञ्चार विद्येयक, दूरसञ्चार पूर्वाधारसम्बन्धी नियमावली–२०८०, साइबर सुरक्षण विधेयक पनि सञ्चार मन्त्रालयमा नै छ। साथै राष्ट्रिय प्रसारण (१२औं संशोधन) नियमावली–२०८०, हुलाक सेवा (पाँचौं संशोधन) नियमावली २०८०, विज्ञापन (नियमित गर्ने (पहिलो संशोधन) नियमावली–२०८०, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन (पहिलो संशोधन) नियमावली–२०८० सञ्चार मन्त्रालयमा रहेका छन्।