बलेवा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन्।
जैमिनी नगरपालिका-३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरूपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए। उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनतमात्रै खेर गएको बताए।
स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए। उनीहरूले केही बारीमा आलु लगाएका थिए भने धेरै बारी बाँझो बन्न थालेको थियो। गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरूको भनाइ थियो।
'दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो। केही वर्षअघि परीक्षणका रूपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो,' प्रेमबहादुरले भने, 'मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ। व्यावसायिकरूपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ।' उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन्।
यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन्। एक हजार दुई सय बिरुवा रोप्नका लागि १७ लाख रूपैयाँ खर्च भएको परियोजनाले जनाएको छ। खर्चमध्ये परियोजनाले १० लाख रूपैयाँ अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए। उनका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले सात लाख रूपैयाँ खर्च गरेका छन्।
परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ। 'परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ,' उनले भने, 'सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ।' थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए।
जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ। ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले बताए। 'कलमी बिरुवा भएकाले यो वर्ष पनि एकरदुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ,' उनले भने, 'तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ।' छन्त्याल समूहमा आबद्ध धेरै किसान छन्।
उनीहरूमध्ये तीन जनाले ओखर खेती सुरु गरेको शर्माले जानकारी दिए। 'अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्,' उनले भने। उनका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो।
आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ।
हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एकरदुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताए। नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ। रासस