काठमाडौं। गैरकानुनी अनलाइन जुवा (वानएक्स बेट) प्रचारको आरोपमा हालसम्म ९ जना कलाकार तथा युट्युबर पक्राउ परेका छन्।
वानएक्स बेट खेलाउने गिरोहलाई सघाएको आरोपमा यसअघि ८ जना पक्राउ परेकामा शुक्रबार एक युट्युबर राजकुमार थापा भनिने राजकुमार तामाङ पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ९ पुगेको हो।
यसअघि वानएक्स बेटको प्रचार गरेको आरोपमा कलाकार तथा युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) पक्राउ परेका थिए।
यी ८ जनालाई भने प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ। यसअघि ६ दिन म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेकोमा जिल्ला अदालत काठमाडौंले पुनः अर्काे म्याद प्रदान गरेको हो। पहिले जिल्ला अदालतले प्रहरीलाई ४ दिनको म्याद दिएको थियो।
वानएक्स बेटमार्फत ६४ करोड बढीको सट्टेबाजी गराउने ५ एजेन्टहरूलाई जेठ ३१ गते बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको हो। नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने व्यवस्था छ।
धारा १२५ को ९२० को उपदफा ९१० को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।