काठमाडौं। नेपाल रिपब्लिक मिडियाको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको रिपब्लिक मिडियाको आइपिओ सोमबार एक कार्यक्रमबीच बाँडफाँट भएको हो।
कम्पनीले जेठ २६ देखि जेठ ३० सम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर निष्कासन गरेको थियो, जसमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको थियो।
कम्पनीका अनुसार आइपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको थियो। त्यसमध्ये ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएपछि १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन कायम भएको थियो।
मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको सेयर गोलाप्रथाबाट बाँडफाँट गरेको छ। जसमार्फत ३ लाख ६१ हजार ९ सय ८९ आवेदकले मात्र सेयर पाएका छन्। तीमध्ये भाग्यमानी १ जनाले ११ कित्ता सेयर पाएका छन्। बाँकी ९ बढीको हात भने खाली भएको छ।
कम्पनीले जारी पुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँबराबरको आइपिओ निष्कासन गरेको हो।
तीमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १ सय २० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो भने वैदेशिक रोजागारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता निष्कासन गरिएको थियो।
कम्पनीले कर्मचारीका लागि निष्कासन गरेको सेयरमा पूर्णआवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९ सय ६१ कित्ता सेयरसहित गरी कूल ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट गरिएको हो।
यसमा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ। यो नेपालको आइपिओ जारी गर्ने पहिलो मिडिया कम्पनी हो। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले नेपाल रिपब्लिक मिडियालाई ‘आइआरएन बी प्लस’ रेटिङ प्रदान गरेको छ।