रुपन्देही। आर्थिक वर्ष २०८०/८१ का लागि रुपन्देहीका प्रायः सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन्।
बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन्। भौगोलिकरूपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले आइतबार आगामी आवको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँ बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत गरेको बजेटमा चालू खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार रुपैयाँ अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पुँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ।
बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ। यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार पाँच सय २९ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिए।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताए। बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।
यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैंगिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
यस्तै सिद्धार्थनगर नगरपालिकाले आइतबार १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ।
उपप्रमुख उमा अधिकारीले पालिकाको १३औं नगरसभामा सार्वजनिक गरेको बजेट चालू आवभन्दा २१ करोड रुपैयाँले कम रहेको छ। चालू आवमा १ अर्ब ३४ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड रुपैयाँ मात्र आम्दानी भएकाले बजेटको आकार घटाउनुपरेको उपप्रमुख अधिकारीले बताए।
बजेटमा संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अनुदान ८० लाख , विशेष अनुदान ९० लाख र राजस्व बाँडफाँटमा १० करोड ४३ लाख ४६ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ८६ लाख ८० हजार ४ सय रुपैयाँ १३, समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ रहने नगरपालिकाले जनाएको छ।
नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम ५ करोड, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ गरी १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ हुने अनुमान गरिएको छ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आव २०८०/८१ का १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १३औं नगरसभामा उपप्रमुख विना राना मगरले आगामी आवका लागि बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको प्रवर्द्धन, सामाजिक विकास, पर्यटन प्रवर्द्धन र शिक्षा क्षेत्रको विकासमा प्राथमिकता दिएको बताए।
बजेटमा स्वास्थ्य क्षेत्रमा संघीय सरकारबाट शसर्तरूपमा स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा २ करोड ५६ लाख ८८ हजार र प्रदेश सरकारबाट स्वास्थ्यतर्फ विनियोजन गरेको जम्मा २० लाख रुपैयाँमा नगरपालिकाबाट ३ करोड ६ लाख ३९ हजार थप गरी जम्मा ६ करोड ८३ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि आइतबार एकैपटक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको ११औं नगरसभाले आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो।
बजेटमा समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजस्व बाँडफाँटतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँको अनुमान गरिएको छ।
यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ रहेको छ।
साथै, गत वर्षको बैंक मौज्दात ३ करोड, सडक बोर्डतर्फ ४० लाख गरी आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। आव २०७९÷०८० को असार १० गतेसम्म आइपुग्दा कूल बजेटको ४५ दशमलव १३ प्रतिशत पुँजीगत खर्च र ७६ दशमलव ७८ प्रतिशत चालूतर्फ खर्च भएको जनाइएको छ।
नगरपालिकाको ११ औं नगरसभाले आगामी वर्ष २०८०/८१ लागि प्रस्तुत नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ।
यस्तै जिल्लाको ओमसतिया गाउँपालिकाको १३औं गाउँसभाले आव २०८०/८१ का लागि ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले राजस्वबाट १४ करोड आठ लाख ७५ हजार १ सय ७, आन्तरिक स्रोतबाट ३ करोड ५० लाख, जिससबाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७, संघीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौज्दात २ करोड गरी ४७ करोड बढीको बजेट पेस गरिएको थियो।
रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आव २०८०/८१ का लागि ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० रुपैयाँ बजेट पेस गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट ४ करोड, राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्व बाँडफाँटबाट ६ करोड ७५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ४० लाख ५३ हजार ६ सय ३० र संघीय राजस्व बाँडफाँटबाट ९ करोड ४७ लाख ८३ हजार २ सय, संघीय सरकार वित्तीय हस्तान्तरणबाट ३८ करोड ३ लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट २ करोड ८३ लाख ९५ हजार रुपैयाँ आउने अनुमान गरिएको छ।
आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट २ करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रममा ३ करोड ४४ लाख ८० हजार गरी जम्मा ५ करोड ६० लाख १९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताए।