काठमाडौं। नेपाल वायुसेवा निगम(नेवानि)ले आफ्ना १ हजार ३ सय १४ जना कर्मचारीहरु आधारभूत नभई नहुने आवश्यक संख्या रहेको स्पष्ट पारेको छ।
संसदमा नेवानिमा अनावश्यक रुपमा कर्मचारी भर्ना गरी राज्यलाई आर्थिक भार बोकाएको भन्दै सांसदहरुले आवाज उठाएपछि त्यसको जवाफमा कर्मचारीहरु जहाज सञ्चालनका लागि आवश्यक संख्या मात्र रहेको बताएको हो।
नेवानिमा स्थायी ८ सय ४०, करार र ज्यालादारीमा ५ सय १ गरी कूल १ हजार ३ सय ४१ जना कर्मचारी कार्यरत छन्। कार्य प्रकृतिअनुसार तीन सिफ्टमा काम गर्ने गरी कर्मचारीहरुको बाँडफाँड गरिएको नेवानिले जनाएको छ।
नेवानिका रमेश पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा निगम ऐन, २०१९ मा व्यवस्था भए अनुसार निगमले हवाई उडान र ग्राउण्ड ह्याण्डलिङ्ग कार्य गर्दै आइरहेको बताएका छन।
विगतमा विश्वव्यापी कोरोना महामारीको कारण व्यवसायमा आएको मन्दीले अन्य व्यवसायिक संस्थाहरुमा कर्मचारी कटौती भएसँगै निगमले पनि करार र मासिक ज्यालादारीका कर्मचारीहरुलाई पछि आवश्यक परे लिन सकिने गरि कटौती गरेको थियो।
निगमले अहिले १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आइरहेको छ। महामारीमा कमी आई व्यवसाय क्रमशः सुधार भइरहेको अवस्थामा नियमित कार्य गर्न न्यूनतम आवश्यक पर्ने कर्मचारी व्यवस्थापन भएको जनाएको छ ।
कहाँ खटिएका छन् कर्मचारी
नेवानिको हवाई उडान सञ्चालनतर्फ स्थायी प्राविधिक ८८ र प्रशासनिक ३ सय १, करारमा प्राविधिक ३२ र प्रशासनिक २४ एवं मासिक ज्यालादारीमा प्राविधिक (सवारी चालक) ८९ र प्रशासनिक ६१ गरि जम्मा ५ सय ९५ कर्मचारी रहेका छन् । यसरी हेर्दा निगमको हप्ताको ६८ उडानको लागि प्रति उडान कर्मचारी भार करिब ९ जना हुन आउने उल्लेख छ।
ग्राउण्ड ह्याण्डलिङ्ग तर्फ स्थायी प्राविधिक १ सय र प्रशासनिक १ सय ६५, करारमा प्राविधिक ५५ र प्रशासनिक १ एवं मासिक ज्यालादारीमा प्राविधिक १३ र प्रशासनिक ६१ गरि जम्मा ३ सय ९५ कर्मचारी छन्।
नेवानिले दैनिक करिब ५१ वटा अन्तर्राष्ट्रिय उडानहरुको ग्राउण्ड ह्याण्डलिङ्ग कार्यअन्तर्गत चेक इन, लोडिङ्गलगायत कार्यहरु गर्दै आएकोले प्रति उडान कर्मचारी भार करिब ८ जना हुन आउने उल्लेख गरेको छ।तीन प्रकारका जहाजहरु भएकोले सोको सञ्चालनको लागि नियमानुसार अनुमति
प्राप्त ८१ जना ककपिट क्रु, १ सय ४२ जना क्याविन क्रु र ९९ जना इन्जिनियरहरु रहेका छन्।