काठमाडौं। सन् २०२३ मे २६ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले हेली एभरेस्टको ‘९एन–एकेपी’ दर्ता नम्बरको हेलिकोप्टर र तिनका विदेशी क्याप्टेन सिमोन मोरोलाई ‘ग्राउन्डेड’ ग¥यो।
त्यसको तीन दिनपछि मे २९ मा कैलाश हेलिकोप्टरको ‘९एन–एएमएल’ दर्ता नम्बरको हेलिकोप्टर र त्यसका क्याप्टेनलाई ग्राउण्डेड गरेको जानकारी दिएको छ।
प्राधिकरणले गरेको टुइटरमा कार्वाहीमा परेका पाइलटको नाम सार्वजनिक भने गरिएको छ। तर, कैलासकै क्याप्टेन माउरिजियो फोलिनीले आफ्नो ‘इन्स्टाग्राम’ मा क्याम्प–३ मा उडान गरेको भन्दै लाइभ भिडियो नै पोस्ट गरेका छन्।
त्यसैगरी प्राधिकरणले जुन ४ मा अल्टिच्युड एयरको एक पाइलटलाई ग्राउन्डेड ग¥यो।
तीनवटै हेलिकोप्टरलाई प्राधिकरणले कारबाही गर्नुको मुख्य कारण भनेको सगरमाथाको क्याम्प–३ अर्थात २३ हजार फिट ‘क्रस’ (पार) ग¥यो भन्ने नै हो। र, उक्त उचाइ पार गरेको सूचना दिने तिनै हेलिकोप्टरका पाइलटहरू थिए।
एक कम्पनीका पाइलटले अर्को कम्पनीले गरेको कमिकमजोरी बाहिर ल्याउन प्राधिकरणमा बेनामे उजुरी दिने गरेका छन्। खासगरी नेपाली पाइलटले विदेशी पाइलटलाई देखिसहँदैनन्।
नेपाली पाइलटले विदेशी पाइलटलाई दुःख दिन साना–साना गल्तीलाई पच्छ्याउँदै उजुरी दिनेको संख्या बढेको हेलिकोप्टर व्यवसायीहरूको भनाइ छ।
प्राधिकरणअन्तर्गत उड्डयन सुरक्षा विभागका एक उच्च अधिकारीले पाइलटबीच नै एकले अर्कालाई आरोप लगाउँदै बेनामे उजुरी दिने गरेको बताए।
‘उड्डयन नियम उल्लंघनका सूचना आउनु राम्रो भए पनि पाइलटबीच भने अस्वस्थ प्रतिस्पर्धा देखिएको छ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने।
विदेशी पाइलटलाई सकेसम्म नेपालमा उडान गर्न नदिन नेपाली पाइलटले विभिन्न उजुरी हाल्ने गरेको एक नेपाली हेलिकोप्टर पाइलटले बताए।
हुन त सबै नेपाली पाइलटले विदेशी पाइलटको खेदो खन्दैनन्। केही पाइलटले भने आफ्नो भाग नै खोस्न खोजेको जसरी विदेशीलाई लखेट्न अनेकौं उपाय लगाउने गरेको ती पाइलटले बताए।
नेपाली पाइलटको तुलनामा विदेशीले धेरै काम गर्ने गरेका छन्। उनीहरू निश्चित अवधिका लागि आउने र तोकिएको समयसम्म काम गरेर फर्किने गरेकाले पनि व्यवसायीको रोजाइमा विदेशी पाइलट नै पर्ने गरेका छन्।
केही नेपाली पाइलटलाई सेवा सुविधा धेरै चाहिने र काम भने गर्न आनाकानी गर्ने भएकाले पनि विदेशी नै बढी रोजाइमा पर्ने गरेको एक हेलिकोप्टर कम्पनीका सञ्चालकको भनाइ छ।
केही नेपाली पाइलट भने हेलिकोप्टर उडाउनेभन्दा ग्राहक खोज्नमा बढी ध्यान दिने र बार्गेनिङ गरेर उडान गर्ने गरेको आरोप व्यवसायीले लगाउँदै आएका छन्।
त्यतिमात्र होइन, ती पाइलट अन्य कम्पनीमा गएर पर्यटकसँग बार्गेनिङ गरेर यात्रुलाई अर्को हेलिकोप्टरमा लैजाने गरेको समेत ती व्यवसायीको भनाइ छ।
पाइलटको काम नितान्त उडान गर्नेमात्र हो तर उडानका बेला विभिन्न हिसाबकिताब र व्यापारबारे सोच्दा दुर्घटनाको उच्च जोखिम हुन्छ।
त्यतिमात्र होइन, नेपाली पाइलटले निर्वाध ‘हाइअल्टिच्युड ह्युमन लङलाइन स्लिङ’ उडान गर्ने गरेका छन्। जुन सुरक्षाका हिसाब जोखिमपूर्ण उडान हो। हाल केही नेपाली पाइलट र विदेशी पाइलटले यस्ता उडान गर्दै आएका छन्।
उनीहरू सबैले स्वीजरल्यान्डको एयर जर्मटबाट तालिम लिएर आएका हुन्छन्। त्यहाँबाट तालिम लिएर आएकाबीच नै एकापसमा आरोप–प्रत्यारोप गर्ने गरेका छन्। ह्युमन लङलाइन स्लिङमा उडानका लागि आफूहरुले मात्र गर्न खोज्ने र अरूलाई रोक्ने प्रयास गरिरहेका हुन्छन्। र, सुरक्षा विभागमा उजुरीसमेत उनीहरू एकअर्काबीच नै दिने गरेको छ।
यो खालको उडान गर्दा एक उडानमा नेपाली पाइलटले २ देखि ३ हजार डलरसम्म लिने गरेका छन्। यो उडानमा राम्रो आम्दानी हुने भएकाले यस्ता खालका उडान गर्न विदेशी पाइलट सकेसम्म नआए हुन्थ्यो भन्ने चाहना नेपाली पाइलटले राख्दै आएका छन्। यता विदेशी पाइलटले यो खालको उडान गर्दा तलबबाहेक अन्य रकम नलिने गरेको व्यवसायीको भनाइ छ।
हाल १२ हेलिकोप्टर कम्पनीसँग २५ पाइलट आबद्ध छन्। तीमध्ये १० देखि १२ विदेशी पाइलटले नेपाल आएर उडान गर्दै आएका छन्।
सिजनअनुसार काम गरेर फर्किन्छन् विदेशी पाइलट
विदेशी पाइलट नेपालमा सिजनअनुसार काम गरेर फर्किने गरेका छन्। जसका कारण नेपाली हेलिकोप्टर कम्पनीलाई समेत नेपालीभन्दा विदेशी पाइलट नै रोजाइमा पर्दै आएका छन्।
खासगरी नेपालमा ६ महिना पर्यटकीय सिजनका रूपमा लिँदै आएको छ। उक्त अवधिमा विदेशी पाइलट नेपाल आएर उडान गरेर आफ्नो मुलुकमा फर्किने गरेका छन्। नेपाली पाइलटलाई १३ महिनाको तलब दिएर राखेका हुन्छन् भने विदेशीलाई ६ महिनाको मात्र दिए पुग्छ।
सेवा सुविधासमेत नेपाली सरह नै हुने र विदेशीले राम्रोसँग काम गर्ने भएकाले पनि धेरैको रोजाइ विदेशी नै हुने गरेको बताइन्छ। जसले गर्दा नेपाली पाइलट विदेशी पाइलटलाई धेरै रुचाउँदैनन्।