काठमाडौं। आगामी आर्थिक वर्षका लागि ६ वटा महानगरपालिकाहरुले कूल ५२ अर्ब रुपैयाँ बजेट सार्वजनिक गरेका छन्। सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाको छ। काठमाडौं महानगरले २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सबैभन्दा कम बजेट वीरगञ्ज महानगरको छ। वीरगञ्ज महानगरको बजेट ३ अर्ब २१ करोड रुपैयाँ मात्र छ।
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ।
कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोड रुपैयाँ बढी हो।
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा १ अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ प्राप्त भएको छ।
कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापनका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि १ करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ।
महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ।
ललितपुर महानगरको बजेट साढे ६ अर्ब
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। महानगरले ६ अर्ब ५० करोड ५ लाख लाख रुपैयाँ बजेट ल्याएको छ।
महागरपालिकाकी उपमेयर मञ्जिला शाक्यले बजेट प्रस्तुत गरेकी हुन्। पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख शाक्यले जानकारी दिइन्।
ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड
पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आज १३औँ नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
महानगरले पूर्वाधारतर्फ २ अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ १० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा १४ करोड, सङ्घीय ससर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ।
स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख खर्च ब्यहोरिने उपप्रमुख गुरुङले जानकारी दिइन्। सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ।
यस्तै, सङ्घीय सरकार सहरी विकास आयोजनाबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने जनाइएको छ।
वीरगञ्ज महानगरपालिकाको बजेट ३ अर्ब २१ करोड
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
महानगरपालिकाको १३औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि अनुगमन गरिएको खर्च ब्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार एवं प्रदेश राजस्व बाँडफाँटबाट२ करोड ८७ लाख रुपैयाँ ब्यहोरिने जनाएको छ।
चालु आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४४ करोड ३४ लाख चार हजार रुपैयाँ विनियोजन रहेकामा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ। सोमध्ये चालु खर्च २ अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च १ अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको महानगरप्रमुख सिंहले बताए।
चालु आर्थिक वर्षमा समानीकरण अनुदान अन्तिम त्रैमासिकको ५० प्रतिशत कटौती, ससर्त अनुदान २० प्रतिशत कटौती, सङ्घीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, भूउपयोग ऐनबमोजिम भूमिको वर्गीकरण प्रक्रिया टुङ्गिन समय लागेकाले जमिनको कित्ताकाट रोकिएका कारण घरजग्गा रजिष्ट्रेसन आयस्रोतसमेत घटी समग्रमा राजस्व परिचालन कमजोर हुन पुगेकाले कूल राजस्व परिचालन ७० करोड संशोधित अनुमान गरिएको जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा वीरगञ्जस्थित बिन्दवासिनी मन्दिर, भिस्वा बौद्ध बिहार र नृसिंह मन्दिरको सौन्दर्यकरणका लागि बजेट छुट्याएको छ। वीरगञ्जको व्यापार व्यवसायलाई चलायमान बनाउन उद्योग वाणिज्य सङ्घ एवम् स्थानीय सङ्घसंस्थासँगको साझेदारीमा वीरगञ्जमा लाग्दै आएको रात्रि बजारलाई थप परिष्कृत गर्दै निरन्तरता दिइने महानगरपालिकाको नीति कार्यक्रममा उल्लेख छ।
भरतपुरको बजेट ६ अर्ब ३१ करोड
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ। महानगरको १३औँ नगरसभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन्।
भरतपुर महानगरको आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैैंक मौजाद १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिए।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट १ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ। यसरी कार्यान्वय हुने योजनाहरुका लागि प्रत्येक वडाका लागि २ करोड ७५ लाख रुपैयाँका दरले जम्मा ७९ करोड ७५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
महानगरपालिकाका ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माणका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन १० करोड, महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसन सहितको मेसजाली निर्माण, हरियाली सहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, परियोजना बैैंक निर्माण लगायतका सहरी सौन्र्दय र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्न एकमुष्ट १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०७९/८० मा स्रोत सुनिश्चितता गरी ठेक्का लगाइएका योजनाहरुका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको नगरसभामा जानकारी गराइएको छ।
चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाले ६ अर्ब २१ करोड १९ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसअघि प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब बढी
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। महानगरको १२औँ नगरसभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षातर्फ ६७ करो ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, वहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपीबाट निर्माण भएका पिच सडकहरु समेत गरी मर्मतसम्भार १० करोड, सडक बत्तीतर्फ १ करोड ५३ लाख ७५ हजार अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख र समपुर कोषका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, अन्य सङ्घसंस्थातर्फ ३ करोड र नगद मौज्दातबापत २ करोड रुपैयाँ आय हुने अनुमान बजेटमा गरिएको छ।
महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा प्रस्तुत बजेटको कार्यान्वयबाट विराटनगर महानगरपालिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने विश्वास गरिएको छ।