काठमाडौं। पूर्वी नेपालमा भीषण वर्षासँगै आएको बाढी र पहिरोले ३० जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि बिमा कम्पनीहरूले अर्बौं रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ।
असार १ र २ मा आएको बाढी र पहिरो आएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गरेको प्रारम्भिक अध्ययनले उक्त बाढीबाट अहिलेसम्म ४ सय ६३ मेगावाट क्षमताका ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखिएको छ।
यद्यपि, यो प्रारम्भिक तथ्यांकमात्र हो। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ। बाढीबाट उत्पादनमा रहेका १ सय ३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्ब रुपैयाँको क्षति भएको तथ्यांकमा उल्लेख छ।
बाढी र पहिरोबाट क्षति हुन पुगेका जलविद्युत आयोजना कम्पनीहरू दाबीका लागि बिमा कम्पनी पुग्न थालेका छन्। बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लाका दुई दर्जन बढी आयोजनामा क्षति पुगेपछि जलविद्युत कम्पनी बिमा दाबीका लागि निर्जीवन बिमा कम्पनी पुगेका हुन्।
बाढीले उत्पादनमा रहेका र निर्माणाधीन सबैखाले आयोजनामा क्षति पु¥याएको छ। जुन बिमा कम्पनीका लागि टाउको दुखाइको विषय बनेको छ।
नेपालको भौगोलिक अवस्था, वातावरणीय प्रभाव र आयोजना संरचनाले बाढीपहिरोका कारण जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याउँदै आएको छ। जसका कारण बिमा कम्पनीहरूले ठूलो रकम क्षतिको बिमा दाबी भुक्तानीमा खर्चिनुपरेको छ।
नेपाल बिमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री बिमा कम्पनीले क्षति पुगेको एउटा आयोजनालाई दिने रकम वर्षौंसम्म नउठ्ने बताउँछन्।
‘नेपालको भौगोलिक अवस्था र वातावरणीय प्रभावले जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याउने गरेको छ। भिरालो जमिन, जम्मा भएर तथा बाँध बनेर बसेको बाढीले आयोजनामा असर पु¥याउँछ,’ अध्यक्ष क्षेत्रीले क्यापिटल नेपालसँग भने, ‘जलविद्युत कम्पनीहरूले बिमा गराउने रकम महँगो भयो भनेर गुनासो गर्नुहुन्छ। तर, एउटा आयोजनामा पुगेको क्षतिको दाबी भुक्तानी गर्दा त्योबराबरको पैसा २०/२५ वर्षसम्म पनि उठ्दैन।’
उनका अनुसार नेपालको सन्भर्दमा जलविद्युत विकासको प्रमुख आधार हो। तर, कुन आयोजनामा कसरी र कहिले क्षति पुग्छ भन्ने थाहा हुँदैन। त्यसैले बिमा कम्पनीहरूलाई भने यो क्षेत्रको बिमामा कठिन अवस्था छ।
बाहिरी देशमा नेपालजस्तो एकैपटक सबै संरचना ध्वस्त हुने गरी क्षति नहुने तर नेपालमा भने एकैपटक केही नरहने गरी क्षति हुने गरेको अध्यक्ष क्षेत्रीको भनाइ छ।
क्षेत्रीले इलाममका उत्पादन भइरहेका र निर्माणाधस्न केही आयोजना बिमा दाबीका लागि आइसकेको पनि जानकारी दिए।
इप्पानका अनुसार विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी–१ मा ५० करोड रुपैयाँबराबर क्षति पुगेको छ। उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा छ।
तल्लो हेवामा १ अर्ब रुपैयाँबराबर क्षति भएको इप्पानले जानकारी दिएको छ। भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत आयोजनामा ९० करोड रुपैयाँबराबर क्षति भएको छ।
जसमा उक्त आयोजनामा हेडवक्र्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायत भौतिक संरचना पूर्णरूपमा क्षति भएर आयोजना पुनर्निर्माण गर्न दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ। त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँको क्षति भएको छ।
यस्तै पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको इप्पानले जानकारी दिएको छ।
निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँबराबर भएको छ। उक्त आयोजना निर्माणमा खटिएका १८ मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। त्यसमध्ये अहिलेसम्म चारजनाको मात्र शव भेटिएको छ।
९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पु¥याउँदा आयोजना पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने देखिएको छ।
त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ क्षति भएको छ। यस्तै ९.७ मेगावाटको इङ्वा खोलामा पनि ५० करोड रुपैयाँबराबर क्षति भएको इप्पानले जनाएको छ।