काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री डा. बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएका हुन्। ‘दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको र आगामी दिनमा पनि साथ रहने छ’ मन्त्री भुसालले भने। उनले डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अंक डेरी दर्पण विमोचनमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध विकास बोर्ड खारेजी प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। अध्यक्ष दाहालले दुग्ध क्षेत्र एक संवेदनशिल क्षेत्र रहेकाले यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्न माग गरेका हुन्। हालको अवस्थामा दुध बढी भएको र यसका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ। ।
कार्यक्रममा भेटनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले मन्तव्यका क्रममा डेरी व्यवसायमा नेपाल डेरी एसोसिएसनको भूमिका ठूलो रहेको बताए। नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष राधाकष्ण सापकोटाले दुग्ध क्षेत्रको समसामयिक विषयमा केन्द्रित रही कार्यपत्र पेस गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए।
नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले कार्यक्रममा नेपाल डेरी एसोसिएसनले सधैं जस्तो प्रकाशन गर्ने डेरी दर्पण यस वर्ष पनि निकालेकोमा गर्व गर्दै एसोसिएसनका अध्यक्षको विशेष भूमिका रहेको भन्दै एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई धन्यवाद दिए। आगामी दिनमा पनि यस्तै किसिमका कार्य गर्न अनुरोध गर्दै आफ्नो सदा सहयोग रहने कुरा व्यक्त गरे।
उद्योग वाणिज्य महासंघ वस्तुगतका उपाध्यक्ष हेमराज ढकालले चौथो अंक डेरी दर्पण विमोचनको शुभकामना दिंदै दुग्ध क्षेत्रमा आएका समस्याका लागि वस्तुगत संघ सधैं साथ रहने प्रतिबद्धता गरे। साथै दुग्ध क्षेत्र हेर्ने निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी तुरुन्त रोक्नका लागि मन्त्रीलाई आग्रह गरे।
पशु सेवा विभाग महानिर्देशक सम्झनाकुमारी काफ्लेले मन्तव्यको क्रममा हाल नेपालमा दूध उत्पादन वृद्धि भइरहेको भन्दै डेरी दर्पण विमोचनको शुभकामना दिइन्।