काठमाडौं। वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि सरकारबाट बजेट नपाएपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थमन्त्री डा. प्रकाशरण महतसँग भेटघाट गरेका छन्।
कारखाना सञ्चालनका लागि सम्झौताअनुसार सरकारले रकम उपलब्ध नगराएको भन्दै उनले अर्थमन्त्रीसँग भेटवार्ता गरेका हुन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पनि भेट गरेका उनले शिक्षामन्त्री अशोककुमार राईसँग केही दिनअघि भेट गरेका थिए।
भेटका क्रममा वीरगञ्ज कृषि औजार कारखानाका लागि अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भारमा गरेको खर्चका बारेमा कुरा गरेका थिए। सो पश्चा्त सो कारखानामा ५०० केभिएको विद्युत ट्रान्सफर्मर राख्न १ करोड रुपैयाँ पाउने भएको उनले जानकारी दिएका छन्। तर, त्यति कामका लागि अरुले कम्तीमा ५ करोड रुपैयाँ लिने तर आफूलाई त्यतिमात्रै दिएको उल्लेख गरेका छन्। पुनले भेटघाटका क्रममा कृषि औजार कारखानालाई आधुनिकरण गर्ने कुरामा छलफल भएको पनि जानकारी दिएका छन्।
भेटघाटका क्रममा धर्ना आन्दोलनमा भएको सम्झौताअनुसार अनुसन्धान कोषमा पुँजीगत खर्चको १ प्रतिशत छुट्याउने भन्ने सम्झौताअनुसार ३ अर्ब रुपैयाँ छुट्याउनु पर्नेमा कम छुट्याइएको पनि सुनाएका थिए। तर, बजेटमा १ अर्ब रुपैयाँ मात्र छुट्याइएको कुरामा अर्थमन्त्रीले बाँकी २ अर्ब रुपैयाँ अन्य अनुसन्धानका काममा पनि छुट्याइएको कुरा उल्लेख गरेको पुनले बताएका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री र शिक्षामन्त्रीसँग कुरा गर्दा अनुसन्धान र नवप्रवर्तनको कामलाई दीर्घकालीन र उपलब्धिमूलकरूपमा सञ्चालन गर्नका लागि छुट्टै र सहज कानुनको मस्यौदा तयार भएको जानकारी दिएको पुनले बताए। सो मस्यौदालाई काँटछाँट गरी अन्तिम रूप दिन विज्ञ सांसद, अनुसन्धान र नवप्रवर्तन क्षेत्रका विज्ञ र राष्ट्रिय आविष्कार केन्द्रको टोली मिलेर काम गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन्। पुनले आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै नेपालको अस्तित्व बचाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि अनुसन्धान र नवप्रवर्तन गर्नुपर्ने बताएका छन्।
महावीर पुनको नेतृत्वमा हाल कृषि औजार कारखाना पुनः सञ्चालन भइरहेको छ । पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउन धर्ना बसेर सरकारसँग सम्झौता गरेका थिए।