काठमाडौं। पोखरा महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा डिजिटल पोखराको अवधारणालाई साकार पारिने उल्लेख गरेको छ।
‘डिजिटल पोखराको अवधारणालाई साकार पार्न एकीकृत सूचना तथा सेवा प्रवाह प्रणाली पोखरा पोर्टल (बेवसाइट) को विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘डिजिटल पोखरा निर्माणका लागि थप अध्ययन गरी कार्यलय भित्र र बाहिर आवश्यक सुधार गरिनेछ। पोखराका मुख्य सार्वजनिक स्थलमा वाइफाईको व्यवस्था गरिनेछ।’
महानगरले ‘सचेत नागरिक सुसूचित महानगर, पहुँच अभिवृद्धि र मर्यादित सञ्चार’ को अवधारणालाई आत्मसात् गर्दै सुसूचित हुन पाउने आम पोखरेली नागरिकको अधिकार सुनिश्चिततासहित प्रत्याभूति दिलाइने पनि उल्लेख गरेको छ। सञ्चार क्षेत्रको भूमिकालाई स्थानीय सरकार र नगरवासीबिच समन्वयात्मक विचारको विनिमयका रूपमा थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रमले घोषणा गरेको छ।
‘नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य÷साझेदारी गरी पत्रकार कल्याणकारी कोषलाई क्रियाशील बनाइनेछ, श्रमजीवी पत्रकारहरूको क्षमता तथा लेखनवृति विकासको कार्यक्रमलाई निरन्तरता दिइनेछ,’ प्रस्तुत नीति तथा कार्यक्रममा छ, ‘महानगरपालिकाभित्र दर्ता भई सञ्चालनमा रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनसमेतका सञ्चार माध्यमहरूलाई अनिवार्यरूपमा महानगरमा सूचीकरणको व्यवस्था मिलाइनेछ।’ महानगरले यसका लागि कानुनी व्यवस्था गरी समानुपातिक विज्ञापन प्रणाली लागू गरिने पनि जनाएको छ।
महानगरको विद्युतीय पार्श्वचित्र तयार गरी सबै तथ्यांकहरू नियमितरूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइने र वैज्ञानिक प्रविधिमा आधारित सडक सञ्जाल तथा घर नम्बरिङ प्रणालीको विकास गरी नक्शांकन गरिने पनि महानगरले घोषणा गरेको छ।