काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असार ९ गते दमक झापास्थित कस्मिक पार्टी प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा वृहत अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ।
‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयसँग आबद्ध भई बिमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी सुरु गरेका थिए।
सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धताअनुसार यो कार्यक्रम काठमाडौं, नेपालगन्ज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरताअनुसार दमकमा गर्न लागिएको जानकारी गराएका थिए।
कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले सञ्चालन गरे। सो समारोहमा समयभन्दा अगावै एमडिआरटीको लक्ष्य पूरा गरिसकेको दमक शाखाअन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरे।
कार्यक्रममा सहभागि अभिकर्ताले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए भने कार्यक्रममा सम्मानित भएका अभिकर्ताले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।
कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राईको सभापतित्वमा सम्पन्न भएको थियो।