काठमाडौं। बैंकिङ प्रणालीमा तरलता निकै सहज अवस्थामा रहेपछि यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । तरलता सहज हुँदै ब्याजदर पनि घट्न थालेपछि सेयर बजारले क्रमशः माथितिरको यात्रा तय गर्न थालेको छ ।
यसैक्रममा नेप्से सूचकले आइतबार आम लागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ । सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।
त्यसो त असारमा बैंकहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । तर निक्षेप भने बढेको बढ्यै छ । यसैकारण केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा आफूतिर खिचिरहेको छ । गएको बिहीबार १० अर्ब तानेको केन्द्रीय बैंकले आइतबार थप २० अर्ब खिचेको छ । बैंकहरुमा अधिक तरलता अवस्था देखिएपछि उनीहरुले पनि मागे भन्दा बढी रकम दिन प्रस्ताव गरिरहेका छन् ।
यसआधारमा बैंकमा प्रचुरमात्रा तरलता रहेको देखिन्छ । त्यसो त केन्द्रीय बैंकको तथ्यांकले पनि तरलता सहज अवस्थामा रहेको देखाएको छ । पछिल्लो तथ्यांक अनुसार सीडी रेसियो ८४.०२ प्रतिशतमा रहेको छ । यस्तै, अन्तर बैंक ब्याजदर पनि ४ प्रतिशत छ । यो तथ्यांकले प्रणालीमा पर्याप्तमात्रामा लगानीयोग्य रकम रहेको पुष्टि हुन्छ ।
तर, असार अन्तिमतिर तरलतामा केही चाप पर्न सक्ने सम्भावना पनि छ । असार मसान्तमा आयकर तथा अन्य ट्याक्सहरु भुक्तानीका लागि प्रणालीबाट पैसा बाहिरने गर्छ । नेप्सेले करिब २३ महिनाको बियरिस यात्रा पार गरेको छ । चक्रीय प्रणाालीलाई आधार मान्दा पनि बजारले अब रेखा परिवर्तन गर्ने बेला भएको जानकारहरु बताउँछन् ।
हाम्रो बजार जहिले पनि निश्चित समयअवधिको बुल र बियर चक्रमा हिँड्ने गरेको छ । बजारका जानकारहरु असार–साउन महिनालाई सेयर बजारको सिजन पनि भन्ने गर्छन् । यतिबेला सामान्यतयः बजार बढ्ने गरेको हुन्छ । यतिमात्र होइन, पछिल्ला दिनहरुमा हाम्रो अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा राम्रो सुधार भएको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
तर बजार एकोहोरो हिसाबले बढ्ने वा घट्नेमात्र पनि गर्दैन । केही करेक्सन हुँदै समग्र यात्रा माथितिरको हुने हो । आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । अलि लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने, जोखिम बहन क्षमतमा ख्याल गर्न पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ता भन्दा बढी सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।