काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन।
जसअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको काठमाडौं महानगरले जनाएको छ।चालु अवाको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो।
नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटमा संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन्।
महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
वडाबाट प्राप्त योजनालाई प्राथमिकताप्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजना गरिएको छ ।
महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार र स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ। असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ।