काठमाडौं। नयाँ धितोपत्र दलाल व्यवसायी (ब्रोकर) थपिएपछि विद्यमान ब्रोकर कमिसनमाथि बहस हुन थालेको छ। धितोपत्र बोर्डले ब्रोकरबीच प्रतिस्पर्धाबाटै ब्रोकर कमिसन घट्ने आँकलन गरिरहेको छ।
पुराना ब्रोकर र नयाँ ब्रोकरबीच अहिलेदेखि नै प्रतिस्पर्धा चलेको छ। पुराना ब्रोकरले नयाँ ब्रोकर रोक्न अधिकतम तिकडम रचेका थिए। नयाँ ब्रोकर आउनेबित्तिकै आफूहरू प्रतिस्पर्धामा उत्रिन नसक्ने देखेपछि पुराना ब्रोकर एकजुट भएर रोक्न लागेका थिए।
नयाँ ब्रोकर आउँदा अहिले लगानीकर्तामाथि पुराना ब्रोकरले गरिरहेको शोषण अन्त्य हुने बुझेपछि नयाँ ब्रोकर ल्याउँदा अनेकन् चलखेल गरेको आरोपसमेत नियामकमाथि लगाएका थिए।
उनीहरूको आरोप केवल नयाँ ब्रोकर नआसोस् भन्नका लागि थियो। पैसाको खेल गरेर नयाँ ब्रोकर खोलिएको सन्देश सर्वसाधारणमाथि पुर्याएर बोर्डको नेतृत्वमाथि नैतिक प्रश्न चिन्ह्र उठाउन सकिएको अवस्थामा सरकार र सर्वसाधारणबाट दबाब पर्ने र ब्रोकर लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न सकिन्छ भनेर पुराना लागेका थिए।
तर, ब्रोकर लाइसेन्स वितरण गर्दा एक रुपैयाँको पनि आर्थिक चलखेल नभएको पाइएपछि उनीहरूबीच विचलन आएको थियो। पुराना ब्रोकरले ठूलो आर्थिक चलखेल गरेर ब्रोकर लाइसेन्स बाँडेको हल्ला फिजाएको भोलिपल्टै नयाँ ब्रोकरहरू एकजुट भएर पुराना ब्रोकरले निराधार हल्ला चलाएको र आफूहरूबाट बोर्डका कुनै पनि व्यक्तिले एक रुपैयाँ पनि नलिएको विज्ञप्ति निकालेपछि दुई ब्रोकरका समूहबीच दोहारी चलेको थियो।
तर, लगानीकर्ताले नयाँ ब्रोकर थपिँदा अहिलेको भन्दा अधिकतम सुविधा पाउने, गुणस्तरी सेवा पाउने र शुल्कमा पनि प्रतिस्पर्धा बढ्दा लाभ लगानीकर्तालाई नै हुने अवस्था बन्छ। बोर्डले लगानीकर्ताको बृहत्तर हित गर्न नयाँ ब्रोकर भित्र्याएको हो।
बोर्डले लगानीकर्तालाई हित गर्न कमिसनको माथिल्लो सीमालाई तोक्नुपर्छ। अहिलेसम्म माथिल्लो र तल्लो दुवै सीमा बोर्डले तोकेको छ। यदि कुनै ब्रोकरले आफ्ना लगानीकर्तालाई निःशुल्क सेवा दिन चाहन्छ भने पाउनुपर्छ। माथिल्लो सीमा तोक्ने र तल्लो सीमा खुला राख्ने पक्षमा बोर्ड पनि पुगेको छ।
बोर्डले २०७७ पुस १० गते ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसनलाई ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने बनाएको थियो।
उक्त व्यवस्थाअनुसार हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ।
बोर्डले अहिले माथिल्लो सीमामात्रै तोक्ने विषयमा छलफल चलाएको छ। तल्लो सीमा हालको भन्दा घटाउने र माथिल्लो सीमा फिक्स गर्ने बोर्डको योजना छ।
बैंक तथा वित्तीय संस्थामा बैंकले लिने सेवा शुल्कको माथिल्लो सीमा नेपाल राष्ट्र बैंकले तोकेको छ। राष्ट्र बैंकले बैंकहरूलाई ०.७५ प्रतिशतमात्रै सेवा शुल्क लिन अनुमति दिएको छ। बैंकहरूले ऋणीको अवस्था हेरेर सेवा शुल्क घटाउने वा अधिकतम लिने गर्छन।
त्यस्तै व्यवस्था ब्रोकर कमिसनमा पनि गर्न बोर्डले भित्रभित्रै छलफल गरिरहेको छ। पुँजी बजारका लगानीकर्ताका समूहहरूले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भेटेर ब्रोकर कमिसनको अधिकतम सीमा ०.१५ प्रतिशतमा सीमित गर्न ज्ञापनपत्र बुझाइसकेका छन्। विश्वभरि ब्रोकर कमिसनको माथिल्लो सीमा तोकिएको हुन्छ, नेपालमा न्यूनतमदेखि अधिकतमसमम तोकिएको छ। अब बोर्डले माथिल्लो सीमामात्रै तोक्ने विषयमा रायसुझाव लिइरहेको छ।
माथिल्लो सीमा तोक्दा लगानीकर्तालाई ठूलो राहत हुने बोर्डको बुझाइ छ। ब्रोकरबीच प्रतिस्पर्धा हुँदा सेवाको गुणस्तर पनि बढ्ने, राम्रा लगानीकर्ताले राम्रा ब्रोकर छान्ने अवसर पनि पाउने अवस्था आउँछ।