काठमाडौं। टाटा मोटर्सको बहुप्रतिक्षीत नयाँ कार ‘नेक्सन इभी म्याक्स’ नेपाली बजार प्रवेश गरेको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भित्र्याएको यो गाडी निकै आकर्षक छ। ४६ लाख ४९ हजार रुपैयाँ बजार मूल्य तोकिएको ‘नेक्सन इभी म्याक्स’ नेपाली बजारमा राम्रो उपस्थिति जनाइरहेको र धेरै संख्यामा बिक्री भइरहेको ‘नेक्सन इभी’ को विस्तारित स्वरूप हो।
नेक्सन इभी म्याक्सका विशेषता
नेक्सन इभी म्याक्समा कनेक्टिभिटीका रूपमा स्मार्ट वाच इन्टिग्रेसन, वान क्लिक ट्र्याकर, चार्जिङ स्टेसन लोकेटर, रिमोट डाइग्नोस्टिक, रिमोट कमान्ड, जिओे–फेन्सिङ, इन्ट्रुजन अलर्ट र चार्ज लिमिट सेटिङजस्ता आकर्षक फिचर उपलब्ध छन्।
यसमा सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरियर र अगाडि बस्ने यात्रुका लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एयर प्युरिफायर, वायरलेस स्मार्ट फोन चार्जिङजस्ता सुविधा पाउन सकिन्छ।
नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी तीन मोडलमा उपलब्ध छ। यसमा अर्को एक अभूतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्छ। यसले सडकका अन्य चालकलाई सचेत गराउन मद्दत गर्छ।
यस विद्युतीय एसयुभीमा सुरक्षाका लागि आई–भिबिएसीसहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेकलगायत गुण छन्। यसमा मल्टिमोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विचमार्फत रिजेनेरेटिभ ब्रेकिङ लेभल सहज तरिकाले मिलाउन सहयोग गर्छ।
ड्राइभिङ अवस्थाअनुरूप रिगेनको चार विभिन्न लेभलमध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल शून्यमा रिक्युपरेटिभ ब्रेकिङदेखि लेभल ३ सम्म एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ। उच्च भोल्टेजको उच्चतम जिपट्रोन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटोन ग्रे र प्रिस्टिन ह्वाइट गरी तीन आकर्षक रङमा उपलब्ध छ। त्यसैगरी स्ट्यान्डर्ड रङका रूपमा डुअल टोन बडी पनि उपलब्ध छ।
फास्ट चार्जर र टिकाउ ब्याट्री
नेक्सन इभी म्याक्समा ४०.५ किलोवाट प्रतिघन्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित छ। यसको ब्याट्री क्षमता अन्य ब्याट्रीभन्दा ३३ प्रतिशत बढी छ। यसकारण यो गाडीले बिनाझन्झट एआरएआईद्वारा प्रमाणित ४ सय ५३ किलोमिटर लामो रेन्जको प्रत्याभूति गर्छ।
यसले १ सय किलोवाटबराबर शक्तिका अतिरिक्त पेडल थिच्नेबितिक्कै २ सय ५० एनएमबराबर टर्क पैदा गर्छ। नेक्सन इभी म्याक्समा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ। जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्छ।
नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरका माध्यमबाट केवल ५६ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। नेक्सन इभी म्याक्स जिपट्रोन इभी आर्किटेक्चरमा बनेको छ।