काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत भन्सार र अन्तःशुल्क दर परिवर्तन गरेसँगै नेपालका अधिकांश विद्युतीय गाडी (इभी) को मूल्य घटबढ भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० देखि १ सय किलोवाट क्षमताका इभीमा रहेको १० प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याएका थिए भने १० प्रतिशत अन्तःशुल्क तोकेका थिए।
त्यस्तै १ सयदेखि २ सय किलोवाट क्षमताका इभीमा रहेको ३० प्रतिशत भन्सार शुल्क घटाएर २० प्रतिशत कायम गरेका थिए भने यसअघि लाग्दै आएको ३० प्रतिशत अन्तःशुल्क घटाएर २० प्रतिशत कायम गरेका थिए। २ सयदेखि ३ सय किलोवाट क्षमताका गाडीको ४५ प्रतिशत भन्सार शुल्क घटाएर ४० प्रतिशत कायम गरेका अर्थमन्त्री महतले ४५ प्रतिशत अन्तःशुल्क भने यथावत राखेका थिए।
बजेटले ५० किलोवाट क्षमतासम्मका इभीको भन्सार शुल्क १० प्रतिशत र ३ सय किलोवाट क्षमताभन्दा माथिका गाडीको भन्सार शुल्क र अन्तःशुल्क ६० प्रतिशत नै यथावत गरे पनि अन्य क्षमताका गाडीको भन्सार दर र अन्तःशुल्कमा भएको परिवर्तनले अधिकांश कम्पनीले गाडीको मूल्य घटबढ गरेका हुन्। तर, बजेटपछि अधिकांश गाडीको मूल्य घटबढ भए पनि केही ब्रान्डका गाडीको मूल्यभने यथावत नै छ।
एयर इभी
नेपाली बजारमा उपलब्ध वुलिङको इभी ‘एयर इभी’ को मूल्य बजेटपछि पनि यथावत छ। एयर इभी ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ। ३० किलोवाट क्षमतासहितको मोटरले ४० एचपी पावर र ४१ पिएस टर्क जेनेरेट गर्छ भने ५० किलोवाट क्षमताको मोटरले ६७ एचपी पावर र ६८ पिएस टर्क जेनेरेट गर्छ। यसले पहिलोपटकको पूरा चार्जमा २ सय किलोमिटर रेन्ज दिने एयर इभी र दोस्रो एकपटकको पूरा चार्जमा ३ सय किलोमिटरसम्म रेन्ज दिन्छ।
एयर इभीमा लिथियम आइरन फोस्फेट ब्याट्री जडित छ, जुन ब्याट्री जम्मा चार घन्टामा पूरा चार्ज हुन्छ। कम्पनीले ब्याट्रीमा आठ वर्षको वारेन्टी दिएको छ। नेपाली बजारमा वुलिङको एयर इभी निलो, हरियो, पहेँलो, गुलाबी र सेतो गरी पाँच रङमा उपलब्ध छन्। यी भेरिएन्टको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
मिनकार
चीनको चारपांग्रे इभी निर्माता हेन्रीको ‘मिनकार’ को मूल्यमा हालसम्म फेरबदल भएको छैन। हेन्री मिनकार पायोनिर वल्र्डवाइडले नेपाल भित्र्याएको हो। मिनकारको लम्बाई ३ हजार ३ सय ८० मिलिमिटर, चौडाइ १ हजार ४ सय ९९ मिलिमिटर र उचाइ १ हजार ६ सय १० मिलिमिटर छ।
नकारमा १६.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक र १८ किलोवाटको पिएमएसएम मोटर जडित छ। जसले अधिकतम ३५ किलोवाट पावर र १ सय २ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको ब्याट्री प्याकमा पाँच वर्ष र मोटरमा तीन वर्षको वारेन्टी दिएको छ।
मिनकारमा भएको ब्याट्री पूरा चार्ज हुन चारदेखि पाँच घन्टा लाग्छ। एकपटकको फुल चार्जमा यसले १ सय ५० देखि १ सय ७५ किलोमिटर माइलेज दिन्छ। गाडीको ग्राउन्ड क्लियरेन्स १ सय ६५ मिलिमिटर भने कूल तौल ८ सय किलो छ। गाडीको टप स्पिड १ सय किलोमिटर प्रतिघन्टा छ। नेपाली बजारमा मिनकार रातो, निलो, सेतो, कालो, ग्रे, ब्राउन र हरियो गरी सात रङमा उपलब्ध छ। कम्पनीले हेन्री मिनकारको बजार मूल्य २३ लाख ५० हजार तोकेको छ।
निसान लिफ
करिब दुई वर्षअघि नेपाली बजार भित्रिएको इभी ‘निसान लिफ’ को पनि मूल्यमा हालसम्म कुनै परिवर्तन आएको छैन। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान लिफ नेपाल भित्र्याएको थियो। यसमा निसान ब्रान्डको फ्ल्यागसिप र सतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फर्मेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राइभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता छ।
यसमा आठ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दुरीको ग्यारेन्टी छ। यसको स्ट्यान्डर्ड मोडेलमा १ सय ४७ हर्सपावरको विद्युतीय मोटर र ४० किलोवाटको ब्याट्री छ। यसले प्रतिघन्टा १ सय ४४ किलोमिटरको दूरी तय गर्छ। एकपटकको फुल चार्जमा यो इभी ३ सय ११ किलोमिटरसम्म कुद्न सक्छ। निसान लिफको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ।
यसरी यीलगायत अन्य केही इभीको मूल्य यथावत रहे पनि अधिकांशको मूल्यमा भने फेरबदल आएको छ। टेस्लाको मोडेल–३ र वाई, हुन्डाईको आयोनिक आदिको मूल्य घट्दा हुन्डाईको कोना, बिवाइडी एटो ३, एमजी जेडएस इभी, नेक्सन इभी म्याक्स आदिको मूल्य भने बढेको छ।