काठमाडौं। प्रवेश गरेको १६ वर्षपछि राजेश अग्रवाल नेपाल उद्योग परिसंघ (सिएनआई) अध्यक्ष बनेका छन्। स्थापनाको चार वर्षपछि नेसनल काउन्सिल मेम्बरबाट सिएनआई प्रवेश गरेका अग्रवाल असार ९ बाट दुई वर्षका लागि अध्यक्ष बनेका हुन्।
दुई कार्यकाल नेसनल काउन्सिल मेम्बरकै रूपमा काम गरे। त्यसपछि उपाध्यक्ष भएर रोजगारदाता जिम्मेवारी लिए। दुई कार्यकाल उपाध्यक्ष अग्रवालले सिएनआईका महत्वपूर्ण विभाग उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा कुशलतापूर्वक काम गरे।
नेपालको व्यवसायमा परेको अप्ठेरो चिर्न सक्ने, व्यवसायीका समस्या सरकारसामु प्रस्तुत गर्न सक्ने क्षमता अग्रवालसँग छ। सिएनआईभित्र विभिन्न कमिटीको नेतृत्व लिइसकेका अग्रवाललाई नीतिगत, प्रशासनिक तथा वाह्य समस्याबारे राम्रो जानकारी छ। परिसंघ आफैं पनि उद्योगीहरूको आवाज सशक्त बनाउने बलियो मञ्च हो। यहाँ उद्योगीमात्रै सदस्य छन्।
सिएनआईले आर्थिक गतिविधि चलायमान बनाउन, सरकारी पुँजीगत खर्च बढाउन लबिङ, देशको औद्योगिक अवस्थाबारे चित्रण गर्दै आएको छ।
अध्यक्ष अग्रवाल व्यावसायिक घराना आरएमसी ग्रुपका कार्यकारी निर्देशकसमेत हुन्। औद्योगिक क्षेत्रमा विभिन्न नीतिनियम बनाउँदा सरकारसँग छलफल र सहकार्यका लागि सिएनआईका तर्फबाट अग्रवालले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
फलाम व्यवसायबाट व्यावसायिक यात्रा थालेका अग्रवाल साढे तीन दशकभन्दा बढी अवधिदेखि निरन्तर यसैमा व्यवसायमा खटिरहेका छन्। सन् १९९३ मा ‘राजेश मेटल’ स्थापना गर्नुअघि नै उनी व्यवसायमा आबद्ध भइसकेका थिए। पछि उनकै नेतृत्वमा आरएमसी ग्रुप बनाइयो, जहाँ उनी कार्यकारी निर्देशक छन्।
अहिले आरएमसी ग्रुपअन्तर्गत आरएमसी सिमेन्ट, आरएमसी जस्तापाता, पाल्पा सिमेन्ट छन्। अग्रवाल २०७९ चैत ८ मा परिसंघको गभर्निङ काउन्सिल बैठकबाट सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए। काउन्सिल संयोजकमा इमिरिटस प्रेसिडेन्ट विनोद चौधरी छन्।
परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन्। अग्रवाल सोही प्रावधानअनुसार असार ९ बाट अध्यक्ष बनेका हुन्। सरकारसँग समन्वयकारी भूमिका निभाउन सक्ने खुबी अग्रवालको छ। औद्योगिक क्षेत्र र राजस्वमा समेत राम्रो ज्ञान भएका अग्रवालले नीतिगत तहमा समेत राम्रो ‘इन्पुट’ दिन सक्छन्।